Published On:Monday, October 27, 2014
Posted by Tekman Shakya
वैदेशिक रोजगारीमा जाने ३१.५३ प्रतिशतले बढे
गत आर्थिक वर्षको सोही महिनामा जम्मा २७ हजार २९ जना कामदारमात्र काम गर्न विदेश गएका थिए। आन्तरिक बजारमा रोजगारीका पर्याप्त अवसर सिर्जना हुन नसकेकाले युवा बिदेसिन बाध्य भएका हुन्। चालू आर्थिक वर्षको तीन महिनामा मात्रै एक लाख २९ हजार चार सय १० जना नेपाली काम गर्न विदेशी भूमिमा पुगिसकेका छन्।
विगत महिनाहरूमा जस्तै यसपटक सबैभन्दा धेरै नेपाली कामदारको रोजाइमा मलेसिया नै परेको छ। असोजमा मलेसियामा मात्रै १३ हजार नौ सय ७६ जना नेपाली काम गर्न गएका छन्। मलेसियामा इन्डोर (कम्पनीभित्र) काम पाइने भएकाले यो मुलुक धेरैको रोजाइ बनेको हो। तुलनात्मक रूपमा काम गर्न सजिलोसमेत भएकाले त्यहाँ जाने कामदार बढेका हुन्।
चालू आर्थिक वर्षको तीन महिनामा एक लाख २९ हजार चार सय १० जना नेपाली काम गर्न बिदेसिएका छन्।
मलेसिया जाने कामदारले न्यूनतम २८ हजार रुपैयाँ कमाउन सक्छन्। नौ सय रिंगिटभन्दा कम तलबमा काममा लगाउन नपाउने भएकाले कामदारको आकर्षण त्यसतर्फ बढेको हो। खाडी मुलुकको तुलनामा मलेसियामा खुला समाज भएकाले नेपाली कामदारले तुलनात्मकरूपमा सजिलो महसुस गर्ने गरेका छन्। हाल मलेसियामा सात लाखभन्दा बढी नेपालीले काम गरिरहेका छन्।
मलेसियापछि कामदारको दोस्रो आकर्षण कतारतर्फ देखिएको छ। यो मुलुकमा असोजमा आठ हजार दुई सय ७९ जना गएका छन्। कतारमा सन् २०२२ मा विश्वकप फुटबल प्रतियोगिता आयोजना हुने भएकाले पूर्वाधार निर्माणका लागि धेरै कामदारको माग छ। नेपाली कामदारको पनि सोही प्रयोजनका लागि माग बढेको हो। यसैगरी कामदारको रोजाइको तेस्रो नम्बरमा साउदी अरब परेको छ। साउदीमा यो महिना पाँच हजार आठ सय ५३ जना कामदार पुगेका छन्। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।