वाह ! यति सानो बोटमा यतिका लटरम्म फल !
काठमाडौं, कात्तिक १ - तपाईंले सुन्तला, कागती, भोगटे, अम्बा लगायत फलका बोट त पक्कै देख्नुभएको छ ।
गाउँठाउँमा अग्ला र झ्याम्म परेका बोटमा लटरम्म फल फल्छन् । देख्दैमा खाउँ खाउँ लाग्दा स्वादे फल टिप्न कि रुख चढ्नुपर्छ कि त लौरोले हिर्काएर झार्नुपर्छ ।
तर ललितपुरको जावलाखेलमा भैरहेको फूल मेलामा जानुभयो भने तपाईं दंग पर्नुहुन्छ कि यस्ता फल टिप्न रुखमा चढ्ने होइन, उल्टै निहुरिनुपर्छ । एकहात अग्ला स–साना बिरुवामा पनि लटरम्म सुन्तला, कागती, भोगटे, अम्बा, मुन्तला लगायतका फल फलेको देख्न पाइन्छ ।
यस्ता बिरुवा कलमी गरेर तयार पारिएको हो । रुख सानै भएपनि लटरम्म फल फल्छ । व्यवसायीहरुका अनुसार जग्गाजमिन नहुने शहरका बासिन्दाका लागि यस्ता जातका बिरुवा बढि उपयुक्त हुन्छ । सानो गमलामै पनि धेरै वर्षसम्म फल फलाउन सकिने व्यवसायीहरुले बताए । तर बेलाबेला पानी र मल भने पुर्याउनुपर्छ । यस्ता बोटको मूल्य हजारदेखि १० हजार रुपैयाँसम्म पर्ने व्यवसायीहरु बताउँछन् ।