Published On:Friday, October 24, 2014
Posted by Tekman Shakya
आज भाइटीका, साइत ११ बजेर ३५ मिनेटमा
तिहारको अन्तिम दिन आज भाइटिका । हिन्दु परम्पराअनुसार दिदी बहिनीहरुले दाजु भाइको दिर्घायु, सुख तथा समृद्घिको कामना गर्दै भाइटिका लगाउँदै छन् । आज टिकाको साइत ११ बजेर ३५ मिनेटमा उपयुक्त रहेको नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्रध्यापक रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
उहाँले साईत खोज्नेहरुको लागि एउटा समय तोकिए पनि दिनभर टीका लगाउन कुनै बाधाब्यबधान नरहेको स्पष्ट गर्नुभयो । दिदी बहिनीहरुले आज आफ्ना दाजुभाइलाई धार्मिक विधि अनुसार मण्डप बनाई अष्टचिरञ्जिवीका साथै यमराज र यमुनाको पूजा गरी त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई नओइलाउने मखमली, सयपत्री र दूबोको माला लगाइदिएर दिर्घायुको कामना गर्दछन् ।
पौराणिक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई विशेष सम्मानपुर्वक पूजा गरेर टीका लगाई दीर्घायुको कामना गरेको हुँदा त्यसैको सम्झनामा आज दिदीबहिनीले भाइटिका लगाउने परम्परा चलिआएको हो ।
आज लगाइदिने टीकामा विषेश गरी ७ वा ५ रंग प्रयोग गर्नुका साथै दाजुभाइलाई सगुन, मिठाई, फलफूल, ओखर, कटुस, मसला तथा सेलरोटी दिने चलन छ ।
दिदीबहिनीहरुले टीका लगाइदिए पछि दाजुभाईहरुले पनि आफ्नो गच्छे अनुसार उपहार तथा दक्षिणा दिएर उनीहरुको अटल सौभाग्य, सुख, समृद्घि र चिरायुको कामना गर्दछन् । दिदीवहिनी नहुने दाजुभाईहरुले आज काठमाडौको रानिपोखरीको विचमा रहेको यमलेश्वर महादेव मन्दिरमा दर्शन गरी टिका लगाउँछन ।प्रत्येक वर्ष यो मन्दिर आज भाईटीकाका दिनमा मात्र सर्वसाधारणका लागी खुला गरिन्छ ।
आज टीका लगाएर खानपान सकेपछि घरघरमा गई श्रीसम्पतिको कामना गर्दै देउसी खेल्ने चलन पनि छ ।
भाईटीकाको अबसरमा राष्ट्रपति रामबरण यादबले शुभकामना सन्देश निकाली सबै नेपालीहरुमा सहिष्णुता र भाईचारको भाबना अभिबृद्धि गर्न सफल हुने विश्वास गर्नुभएको छ । उहाँले निर्धारित समयमै संबिधान जारी भई देश आर्थिक सम्बृद्धिको बाटोमा लम्कन सकोस भन्ने कामना पनि गर्नुभयो ।