Published On:Sunday, October 19, 2014
Posted by dadad

मन्त्रीले सदनमा भने, ‘हुदहुदका कारण २० जनाको मृत्यु’

http://www.nepalikonews.com/wp-content/uploads/2014/10/dipak-amatya.jpgकाठमाडौँ, २ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही दिनअघि देशको हिमाली भेगमा आएको वर्षात् र हिमपहिरोमा परी २० जनाको मृत्यु भएको जनाएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा विपत्तिबारे जानकारी दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले हुदहुद आँधीका कारण देशको हिमाली भेगमा १४ जना विदेशी र छजना स्वदेशी पर्यटकको मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार हालसम्म २१६ विदेशी र १६८ स्वदेशी गरी ३८४ जना पर्यटकको उद्धार गरिएको छ ।

असोज २९ गते घटनाबारे जानकारी पाउनासाथ गृह मन्त्रालय, ट्रेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान)को सहयोगमा हेलिकप्टरको समेत प्रयोग गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरी उद्धार कार्य तथा उपचार जारी राखिएको उनले बताए ।

मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा नागरिक उड्डयन कार्यालयका निर्देशक नरेन्द्रबहादुर थापा, नेपाली सेनाका सेनानी सञ्जीव सिलवाल, नेपाल प्रहरीका उपरीक्षक अजय भट्टराई, हिमालय उद्धार सङ्घका प्रतिनिधि वसन्त हमाल र टानका प्रतिनिधि विद्या हीराचन रहेको आपत्कालीन नियन्त्रण केन्द्र स्थापना गरिएको जानकारी पनि उनले दिए ।

यस घटनाबाट भविष्यमा पदयात्रा र पर्वतारोहण क्षेत्र सुरक्षित पार्नुपर्ने महसुस भएको मन्त्रालयले जनाएको छ ।

पदयात्रीको अनिवार्य तथ्याङ्क राख्ने, सूचना प्रणालीलाई अझै व्यवस्थित गर्ने, मौसमी सूचना प्रणाली प्रभावकारी बनाउने, पदयात्रा बिमा अनिवार्य गर्ने, पदयात्रा मार्गमा आश्रयस्थल निर्माण गर्ने, खोज तथा उद्धारका लागि स्रोत तथा साधनको व्यवस्था गर्ने, पर्यटक प्रहरीलाई चुस्त बनाउनेलगायतका कार्यमा मन्त्रालयले पहल सुरु गरिसकेको मन्त्री अमात्यले जानकारी दिए ।

यसअघि समितिमा धारणा राख्दै सभासद्हरुले प्रकोपपछिको उद्धार कार्यमा सरकारले लापरबाही गरेको, मौसमको पूर्व जानकारी पर्यटकलाई दिन तत्परता नदेखाएको, पर्यटकको सुरक्षामा ध्यान दिन नसकेको, उद्धारका लागि चाहिने संरचना निर्माणमा पूर्व तयारी नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

0 comments for "मन्त्रीले सदनमा भने, ‘हुदहुदका कारण २० जनाको मृत्यु’"

Leave a reply

    Popular Posts

    Blog Archive