Published On:Friday, March 13, 2015
Posted by Tekman Shakya
प्रहरी नायब महानिरीक्षकले माइक्रोबस रोकेपछि !
२९ फागुन, काठमाडौँ । आज बिहान ८ बजे रत्नपार्क आइरहेको बा २ ख नंको माइक्रोबसलाई हात्तीगौँडामा प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले रोक्नका लागि हात देखाए । प्रहरीका उच्च हाकिमले नै गाडी रोकाएपछि गाडी चालक आफ्नो केही गल्ती भएको हो कि भनी चिन्तित देखिए ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख चन्द आफ्ना सहयोगी सहित सरासर गाडीभित्र चढे र दोस्रो लहरमा बसे । गाडी चालक अक्क न बक्क भए, प्रमुख चन्दले गाडी चलाउन आग्रह गरेपछि गाडी हुइँकियो ।
गाडीमा प्रमुख चन्दले महिला सिटमा नियमित रुपमा बस्न पाएको वा नपाएको बारे महिलाहरूसँग सोधपुछ गरे । त्यस्तै गाडी चालकसँग उनीहरूका अप्ठेराबारे पनि जिज्ञासा राखे ।
आरक्षण सिटमा बस्न आग्रह गर्दा यात्रु झगडा गर्न खोज्ने, ओर्लिएर हिँड्न खोज्ने, खुद्रा पैसा नहुँदा पैसा फिर्ता गर्न समस्या हुने लगायत समस्या रहेको गुनासो गाडी चालकले चन्द समक्ष राखेका थिए ।
आफू सवार माइक्रोबस पुरानो बसपार्क आइसकेपछि चन्दले गाडी भाडा दिन खोज्दा गाडी चालकले सहचालकलाई भाडा नलिन भने । चन्दले भाडा लिनु र दिनु कर्तव्य भएको बताउँदै उनी आफ्ना सहयोगी र आफ्नो गरी १८ का दरले ३६ भाडा तिरी गाडीबाट ओर्लिएर भृकुटीमण्डपबाट रामशाहपथसम्म हिँड्दै गए ।
काठमाडौँ उपत्यका स्थित ट्राफिक प्रहरी एकाइमा कार्यरत सबै तहका ट्राफिक प्रहरी कर्मचारीले कार्यालय आउँदा र कार्यालयबाट घर वा डेरा फर्किँदा हरेक शुक्रबार अनिवार्य रूपमा सार्वजनिक सवारी साधनको प्रयोग गर्ने निर्णय अनुरुप आज चन्दले सार्वजनिक सवारीसाधन चढी आफ्नो घर हात्तीगौँडाबाट रामशाहपथ स्थित कार्यालयमा आएका हुन् ।
ट्राफिक प्रमुख चन्द सार्वजनिक सवारीमा सर्वसाधारणको आकर्षण बढाउने उद्देश्यसहित अभियान सुरु गरिएको र यसलाई निरन्तरता दिइने बताए ।
उनी भन्छन्– “साझा यातायातमा ६० जना यात्रु अटाउँछन् तर तीन वटा कारमा १५ जना मात्रै यात्रु अटाउँछन्, धेरै निजी सवारीसाधनलाई उपत्यकाको सडकले धान्न सक्ने अवस्था छैन, त्यसैले सबैलाई सार्वजनिक सवारीमा आकर्षण बढाउन सक्नुपर्छ ।”
ट्राफिक कार्यालयका अधिकृतले सार्वजनिक यातायातका सवारी प्रयोग गर्दा अनुगमन र जाँचको दायरा फराकिलो भई त्यहाँका विकृति र समस्याबारे थाहा पाउने अवसर प्राप्त हुने र त्यसलाई निराकरणका लागि योजना बनाउन सहयोग पुग्ने उनको भनाई छ । रासस