Published On:Monday, March 16, 2015
Posted by Unknown
सरकारले नै मिलाइदिनेछ डेटिङ र रोमान्सको चाँजोपाँजो

देशमा मानिसहरुले धेरै भन्दा धेरै सन्तान जन्माउन् भन्नका लागि सरकारले युवा युवतीलाई डेटिङको चाँजोपाँजो मिलाइदिने भएको छ ।
देशको जनसंख्या वृद्धिदर निकै कम भएसँगै बुढाबुढीहरुले मात्र ‘डाँडाकाँडा ढाक्न’ थालेपछि जापान सरकारले जन्मदर बढाउनका लागि जोडी मिलाइदिने कार्यक्रमहरुमा प्रोत्साहन दिने नीति बनाउन लागेको हो ।
सरकारले तयार पारेको एक नीतिको मस्यौदामा युवायुवतीका लागि डेटिङ तथा अन्य खाले जोडी मिलाउने कार्यक्रमहरुको आयोजनामा सरकारले नै सघाउने कुरा उल्लेख गरिएको छ । यो मस्यौदा नीतिलाई मन्त्री परिषदले यहीँ महिना पारित गर्ने जापान टाइम्सले जनाएको छ ।
सरकारले युवा युवतीलाई केवल रोमान्स गर्नका लागि मात्र उक्साउने होइन । बढि भन्दा बढि बच्चा जन्माउनका लागि विभिन्न खाले प्रोत्साहनका प्याकेज पनि उपलब्ध गराउनेछ ।
त्यस्ता कार्यक्रमहरुमा निशुल्क बालबालिका स्याहार केन्द्रहरुको स्थापना तथा प्रजनन उपचार गर्न चाहनेहरुका लागि देशभर परामर्श केन्द्रहरुको स्थापना लगायतका छन् । साथै बच्चा जन्मिएपछि बच्चाका बाउहरु नै हुर्काउने तथा स्याहार गर्ने काममा खटियून् भनेर बाउ बन्ने पुरुषहरुलाई सुत्केरी स्याहार विदा लिने प्रचलनमा समेत वृद्धि गर्ने लक्ष्य सरकारको रहेको छ ।
पछिल्लो समयमा जापानको जनसंख्या वृद्धिदर निरन्तर रुपमा ओह्रालो लागेकोमा ससन् २०१४ मा यो इतिहासकै सबैभन्दा न्यून विन्दुमा झरेको थियो ।
सन् २०१३ मा भन्दा सन् २०१४ मा जापानमा ९ हजार कम बच्चा जन्मिएका थिए । सन् २०१४ मा जापानमा केवल १० लाख १ हजार नयाँ बच्चा जन्मिएका थिए ।
जापानी महिलाहरुको प्रजनन दर अहिले १.४३ छ । जापानमा बच्चा हुर्काउने काम खर्चिलो बन्नु, महिलाहरु श्रम बजारमा आबद्ध हुनु तथा एकल महिला पुरुषको संख्या बढ्नुले जन्मदर घट्दै गएको छ ।@onlinekhabar