Published On:Tuesday, March 10, 2015
Posted by Unknown

चुलो निभाउन बिर्सिंदा बस्तीभरि आगो, ११ घर जले


२७ फागुन, रौतहट-  रौतहटका छुट्टाछुट्टै तीन स्थानमा आगलागी हुँदा ११ वटा घर तथा सवारीसाधन जलेका छन्। गंगापिपरा, फतुवा महेशपुर गाविस र गरुडा नगरपालिकामा मंगलबार एकै दिन आगलागी भएको हो। आगलागीपछि करिब एक दर्जन परिवार घरबारविहीन भएका छन्। दुवै घटनामा चुलोबाट सल्किएको आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ।

गंगापिपरा–९, दलित बस्तीका ६ घर जलेर नष्ट भएका छन्। स्थानीय महिन्दर पासवानको घरबाट फैलिएको आगो छिमेकीका घर तथा गोठमा सल्किएको हो। स्थानीयका अनुसार महिन्दरका परिवार चुलो राम्ररी ननिभाई खेतमा गएका बेला उक्त आगलागी भएको थियो। अँगेनाको ज्वालाले चुलोनजिकै रहेका साना ग्यास सिलिन्डर पड्किएपछि आगोले विकराल रुप लिएको थिए। धनमाल जले पनि दिउँसो लागेको आगो सबैले थाहा पाएकाले मानवीय क्षति भने हुन नपाएको इलाका प्रहरी कार्यालय गंगापिपराले जनाएको छ। महिन्दरसहित जोगिन्दर पासवान, रक्टु पासवान, सुरेन्द्र पासवान, जगदेव हजारीलगायतका घर तथा गोठ जलेका छन्।
लगातार हावा लागेकाले आगो चाँडो फैलिएको प्रहरी निरीक्षक शम्भु भण्डारीले बताए। 'कति क्षति भयो भन्ने एकिन विवरण आइसकेको छैन, जलेका मालसामान, लत्ताकपडा, अन्नपात, नगदको विवरण संकलन हुँदै छ,' उनले भने।
मध्याह्न साढे ११ बजे सुरु भएको आगलागी स्थानीय र सुरक्षाकर्मीको प्रयासमा एक घन्टापछि नियन्त्रणमा लिइएको थियो। गौर नगरपालिकाबाट वारुणयन्त्र ल्याइएको थियो। घटनालगत्तै पुगेर आगो नियन्त्रणमा लिएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए। आगो फैलन नदिन चार घर भत्काइएका छन्। नथुनी चौधरी, विजय चैधरी र लखन हजारीको घर भत्काइएको हो।
आगलागीबाट दुई दिनअघि भाइ रामलखनको विवाहमा किनेका सामान र विदेश जान ऋण काढेर ल्याएको डेढ लाख रुपैयाँ नष्ट भएको महिन्दरले गुनासो गरे। 'सबै जना खेतमा काम गर्न गएका थियौं, आगो लागेको खबर पाएर दौडेर आयौं तर जीवनभरको कमाइ आँखैअगाडि जलिरहेको टुलुटुलु हेर्नुपर्योम,' उनले भने।
आगलागीपछि ६ घरका ४० सदस्यको बिचल्ली भएको स्थानीय राजेश चौधरीले बताए। 'उनीहरूलाई खान तथा बस्नै समस्या हुने देखिएको छ। सम्पत्तिका नाममा जिउमा लगाएका कपडाबाहेक केही बाँकी छैन,' उनले भने, 'यस्तो बेला जिल्ला दैवी प्रकोप उद्धार समितिलगायत संघसंस्थाले विशेष किसिमले सहयोग गर्नुपर्छ।'
मलेसियाबाट एक साताअघि मात्र फर्किएका सुरेन्द्र पासवान पनि घरमा रहेको ३५ हजार रुपैयाँ खरानी भएको बताउँछन्। 'विदेशमा दुःख गरेर ल्याएको पैसा पनि रहेन, अब कसरी परिवार पाल्ने?,' उनी भन्छन्। घरसम्पत्ति खरानी भएपछि के खाने र कहाँ बस्ने भन्ने समस्या थपिएको दुखेसो रक्टुले पोखे। 'यसै पनि अरुका खेतमा नंग्रा खियाएर गुजारा गर्दै आएका थियौं। जसोतसो पेट त भरौंला, रात कहाँ काट्ने होला,' उनले भने।
त्यसै गरी फतुवा–महेशपुर–३ गोठटोलमा पाँच घर जलेका छन्। मंगलबार साँझ पौने पाँच बजे स्थानीय रामेश्वर महतोको घरमा लागेको आगोले टिप्दा छिमेकीका चार घर पनि पूर्ण रूपमा जलेका हुन्।
स्थानीयका अनुसार रामेश्वरसँगै फगुनी महतो, विनोद महतो, बिगु महतो र मानीचन महतोको घर जलेका छन्। आगलागीमा करिब दस लाख रुपैयाँबराबर क्षति भएको अनुमान गरिएको सशस्त्र प्रहरी उपरीक्षक विदुर खड्काले बताए।
आगलागीको खबर पाउनासाथ सशस्त्र बेसक्याम्प फतुवा महेशपुरको टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीय मिलेर एक घन्टामा आगो नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

0 comments for "चुलो निभाउन बिर्सिंदा बस्तीभरि आगो, ११ घर जले"

Leave a reply

    Popular Posts

    Blog Archive