Published On:Thursday, February 12, 2015
Posted by Durga Acharya

यात्रु ठग्दै यातायात व्यवसायी

काठमाण्डौं १, फागुन

यातायात व्यवसायीको दादागिरिका कारण सरकारले घटाएको सार्वजनिक सवारीको भाडा घट्न सकेको छैन् । पेट्रोलियम पदार्थमा आएको गिरावटसँगै सरकारले यातायात व्यवसायीकै सहमतिमा बुधबारबाट लागु हुने गरी भाडा घटाउने निर्णय गरेको थियो । यातायात व्यवस्था विभागमा २५ गते आइतबार महानिर्देशक मधुसुधन बुर्लाकोटीको संयोजकत्वमा व्यवसायीसमेत रहेको भाडा निर्धारण समितिले नयाँ भाडादर निर्धारण गरेको थियो । तर, भाडा घटाउन सहमति जनाएका तिनै व्यवसायीले पुरानै दरमा भाडा लिँदै आइरहेका छन् । यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा घटाउने विषयमा सरकारले आधिकारिक पत्र नपठाएको बहानाबाजीमा घटेको भाडादर कार्यान्वयनमा ल्याउन दिइरहेको छैन । तर, विभागले भने महासंघलाई पत्र पठाइसकेको छ । विभागका महानिर्देशक मधुसुधन बुर्लाकोटीले घटेको भाडादर कार्यान्वयनमा ल्याउन महासंघ कार्यालयमा विभागले पत्र पठाइसकेको बताए । तर महासंघका महासिचव सरोज सिटौला भाडा घटेका विषयमा सरकारका तर्फबाट अहिलेसम्म आधिकारिक पत्र नआएको दाबी गर्छन् ।
यातायात भाडा बढ्ने निर्णय गरेको पाँच मिनेट पनि नबित्दै देशभर एकैपटक भाडा बढाउने व्यवसायीले भाडा घटेर कार्यान्वयनमा ल्याउनु भनेको तीन दिन बितिसक्दा पनि घटाएका छैनन् । पेट्रोलियम पदार्थमा नयाँ मूल्य लागु भएपछि सरकारले झन्डै दुई वर्षपछि गत पुस ९ गते पनि सवारी भाडा घटाएको थियो । विभागले व्यवसायीसँग भएकै सहमतिका आधारमा घटेको नयाँ भाडादरको सूची मंगलबार नै सार्वजनिक गरेको थियो । तर, महासंघले पत्रपत्रिकामा आएको सूचीलाई नमान्ने भन्दै पत्रको बहानाबाजीमा यात्रुसँग बढी भाडा असुलिरहेका छन् ।
सरकारले पछिल्लो चार महिना अवधिमा पेट्रोलियम पदार्थको मूल्य लगातार ७ पटक घटाइसकेको छ । यो अवधिमा प्रतिलिटर एक सय पाँच रुपैयाँ रहेको डिजेलको भाउ घटेर ८६।५० र पेट्रोलको भाउ एक सय ३५ बाट घटेर एक सय ९ मा झरेको छ । २०६९ फागुन २५ गते सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा पेट्रोल प्रतिलिटर १२३ तथा डिजेल प्रतिलिटर ९९ रुपैयाँ थियो ।

0 comments for "यात्रु ठग्दै यातायात व्यवसायी"

Leave a reply

    Popular Posts

    Blog Archive