Published On:Sunday, February 22, 2015
Posted by Unknown
प्रधानमन्त्रीले भने- शान्तिका निम्ति वार्तामा आउन हात जोडेर आग्रह गर्छु
१० फागुन, धादिङ- आइतबार बिहान धादिङको बैरेनीमा गणेशमान जन्मशताब्दीका अवसरमा नेपाली कांग्रेस धादिङ्गद्वारा आयोजित गणेशमान बलिदान पदयात्रा कार्यक्रमलाई संबोधन गर्दै कोइरालाले भने,‘ करबद्ध हात जोडेर म अनुरोध गर्दछु, शान्तिको निमित्त सबैको प्रयास होस्।’
सो अवसरमा प्रधानमन्त्री कोइरालाले तरुण युवाहरुको काँधमा जिम्मेवारी आएको भन्दै आन्दोलन र तोडफोडबाट मुलुकलाई बचाउन आग्रह गरे। उनले भने,‘ शान्ति दिनुहोस हामी विकास दिन्छौ। त्यसमा अन्तर पर्ने छैन।’
प्रधानमन्त्री कोइरालाले मुलुकमा शान्ति, स्थिरता, अमनचयन, रोजगारी, लोकतान्त्रिक शासन पद्धति, लोकतान्त्रिक संविधान र विकास चाहिएको पनि बताए।
उनले मुलुकमा विकासको लहर आएको बताउँदै भने,‘नेपाल विकासको युगमा प्रवेश गरेकेा छ। मुलुकमा विकासको लहर आएको छ। लगानीकर्ता लाम लागेका छन।’
प्रधानमन्त्री कोइरालाले मुलुकका अपार प्राकृतिक सम्पदाको सदुपयोग गर्न नसकिएकोले मुलुकको विकास नभएको प्रष्ट पारे। उनले विगतमा लोकतान्त्रिक शासन पद्धति नभएको र दिगो शान्ति र राजनीतिक स्थायित्व पनि नभएकोले विकास हुन नसकेको प्रष्ट्याउँदै संघीयता,गणतन्त्र र समावेशिता सहितको लोकतान्त्रिक शासन पद्धति हासिल भैसकेकोले जलस्रोत,कृषि,पर्यटन, फाष्ट ट्रयाक,एअरपोर्ट र कलकारखाना जस्ता क्षेत्रमा लगानी आउन थालेको बताए। उनले मुलुकका शान्ति र स्थायित्व कायम भए अब नेपालमा नै रोजगारीको सिर्जना हुने र विदेशिएका ३० देखि ३५ लाख नेपालीलाई पनि स्वदेशमा नै रोजगारी दिन सकिने बताए।
कार्यक्रममा प्रधानमन्त्री कोइरालाले संघीय गणतन्त्रात्म लोकतान्त्रिक संविधान आउनेमा कुनै सन्देह नरहेको बताउदै भने, ‘माघ ८मा संविधान ल्याउने सबैको प्रतिबद्धता थियो। किन आउन सकेन सबैलाई थाहा भैसक्यो।’ उनले कार्यकर्ताहरुलाई विश्वास दिलाउदै भने, ‘संविधान आउँछ आउँछ। लोकतान्त्रिक संविधान नै आउँछ। यस पटक हामी गरेरै देखाउछौ।’ उनले नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरुको बलिदानको चर्चा गर्दै भने, ‘जिन्दगी नै हाम्रो यसैमा गएको छ। हामी कहिल्यै परास्त भएका छैनौ। कुनै पनि नेपालीको शिर नुगाउने काम हामीबाट हुने छैन।’
सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह प्रजातन्त्र, जनता र मुलुकका प्रति गर्नुभएको बलिदान सबै नेपालीको लागि प्रेरणादायी हुन सकोस भनेर नेपाली कांग्रेसले जन्म शताब्दीका अवसरमा गणेशमान बलिदान पदयात्रा आयोजना गरेको बताए। उनले वी.पी. जन्मशताब्दीका अवसरमा आयोजित वी.पी. विचार अत्यन्तै सफल भएको पनि बताए।
कार्यक्रममा अर्थमन्त्री डा. रामशरण महतले गणेशमान सिंहलाई त्याग,तपस्या,बलिदानको प्रतिमूर्तिका रुपमा प्रस्तुत गर्दै भने,“चाँदीको थालमा प्रधानमन्त्रीको पद अर्पण गर्दा पनि अस्वीकार गर्ने व्यक्ति कति त्यागी होला?” उहाँले गणेशमान सिंहले लोकतान्त्रिक शासन पद्धतिका साथै आर्थिक क्रान्तिको पनि विगुल फुक्नु भएको बताए।