Published On:Friday, February 27, 2015
Posted by Unknown

ठमेलमा अब चौबिसै घन्टा बिजुली


१५ फागुन  काठमाडौँ, -  राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा अब चौबिसै घन्टा विद्युत् आपूर्ति हुने भएको छ। ठमेल पर्यटन विकास परिषद्ले पर्यटकको भिडभाड रहने ठमेल क्षेत्रका मुख्य सडक र चोकमा सौर्यबत्ती जडान गरेपछि ठमेल रातमा पनि झलमल्ल हुने भएको हो।

परिषद्ले पहिलो चरणमा ठमेलको मुख्य प्रवेशद्वार त्रिदेवीमार्गस्थित सञ्चयकोष भवनअगाडि १५ र अस्कल क्याम्पसको पछाडिको क्षेत्रमा तीनवटा गरी जम्मा १८ सौर्यबत्ती जडान गरेको छ। सडकका दुवै किनारमा खम्बामा जडान गरिएको बत्तीको आकर्षणले सडकको शोभालाई बढाएको छ।
विद्युत् प्राधिकरण र एसियाली विकास बैंकको सहयोगमा पहिलो चरणमा ६० वाटका १८ बत्ती जडान गरिएको परिषद्का अध्यक्ष रामशरण थपलियाले जनाए।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को सहयोगमा ठमलेका अन्य क्षेत्रमा केही दिनभित्रै थप बत्ती जडान गरिने उनले बताए।
ठमेलको सात घुम्तीलगायत क्षेत्रमा ४० वाटका बत्ती ३५ मिटरको दुरीमा राखिनेछ। उक्त क्षेत्रको सडक साँघुरो भएकाले खम्बा राख्न समस्या भएपछि घरका छतमाथि सोलार बत्ती जडान गरिने परिषद्ले जनाएको छ।
परिषद्का अनुसार ठमेलको मुख्य क्षेत्र र भित्री सडकमा २०० भन्दा बढी सौर्यबत्ती जडान गरिनेछ। टानको १५ लाख रुपैयाँ, नेपाल पर्यटन बोर्डको १५ लाख र विभिन्न १६ बैंक र पाँच फाइनान्सको ४० सौर्यबत्ती, विद्युत् प्राधिकरणको ६० वटा बत्ती तथा अन्य व्यावसायिक संस्थाको ३० सौर्यबत्ती गरी जम्मा दुई करोड दुई लाख ६० हजारको लागतमा बत्ती जडान गरिनेछ।
नवीकरणीय ऊर्जा प्रालिमार्फत परिषद्ले ठमेल क्षेत्रमा सौर्यबत्ती जडान गरेको हो। परिषद्ले ठमेल क्षेत्रमा सौर्यबत्तीसँगै सिसी क्यामेरा पनि जडान गर्ने जनाएको छ। ठमेलका मुख्य चोकमा यसअघि आठवटा सिसी क्यामेरा राखिएको थियो। तिनलाई छोटो दुरीमा राखेर अब अझ प्रभावकारी बनाउन अत्याधुनिक क्यामेरा राखिने परिषद्ले जनाएको छ। पर्यटन प्रवर्द्धन र ठमेलको सौन्दर्यतालाई मध्यनजर गरी परिषद्ले सडक विभागलगायत विभिन्न निकायको सहयोगमा ठमेल क्षेत्रको सडक कालोपत्रे र चिल्लो गरेको थियो। रासस

0 comments for "ठमेलमा अब चौबिसै घन्टा बिजुली"

Leave a reply

    Popular Posts

    Blog Archive