Published On:Tuesday, February 24, 2015
Posted by Unknown

के मेरो अनुहार फेरि पहिलेजस्तै हुन्छ?: संगीता


राजधानीको वसन्तपुरमा आइतबार ट्युसन कक्षामै तेजाब हमलाबाट घाइते संगीता पुलामी मगर र उनकी आमा चमेली सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको बर्न वार्डमा। तस्बिर : नागरिक 
१३ फागुन, काठमाण्डौ- मलाई यो हालतमा पुर्‍याउने आक्रमणकारीलाई नछाड्नू सर, छिटो समातेर कारबाही गर्नुस्।'
 
ट्युसन पढ्न गएका बेला तेजाब हमलामा परेर गम्भीर घाइते भएकी संगीता पुलामी मगरले मंगलबार अनुसन्धान क्रममा भेट्न आएका महानगरीय प्रहरी वृत्त, जनसेवाका डिएसपी वेद विष्टसँग आग्रह गरिन्।
 
आजको नागरिक दैनिकमा रूवि रौनियारले अगाडि लेखेकी छन्- यसो भनिरहँदा उनका ओठ थर्थराइरहेका थिए, आवाज लर्बराइरहेको थियो। अनुहारभरि बेरिएको सेतो पट्टीबीच थोरै देखिएको मुख बिस्तारै हल्लिएको मात्र देखिन्थ्यो। अलिकति माथि थोरै उघ्रिएका आँखा आँसुले डम्म ढाकिएका थिए। तेजाबले डढेर कालो बनेका उनका गहिरा आँखा नानीसम्मै कहालिएका र हतास देखिन्थे।
 
सेतो पट्टीबीच उघि्रएका संगीताका तिनै दुई अंग आँखा र मुखले डिएसपी विष्टसँग अनुनय गरिरहेका थिए, ‘ती आक्रमणकारीलाई कुनै हालतमा नछाड्नू, हाम्रो अनुहार डढाउनेलाई छिटो समात्नुस् सर!' 
...
काठमाडौं मेडिकल कलेज, सिनामंगल।
 
बेड नम्बर ४७४।
 
आउँदो चैतमा एसएलसी दिनुपर्ने संगीता दुई दिनदेखि अस्पतालको बेडमा छन्। एसएलसी तयारीका लागि एक साताअघि मात्र वसन्तपुरको पुण्यबहाल टोलस्थित ए–प्लस ट्युसन सेन्टर भर्ना भएकी थिइन् उनी।
 
रामेछापबाट काठमाडौं आएको उनको परिवार सामान्य हैसियतको हो। बुबा प्रेम मगर क्याटरिङमा काम गर्छन् भने आमा चमेली वसन्तपुरमै तरकारी बेच्छिन्। आफ्नो पढाइलेखाइमा आमाबाबुले साचेको आशासँग परिचित छिन् संगीता। त्यही भएर पनि अप्रत्यासित आइपरेको संकटले नराम्ररी बिथोलिएकी छन्। घरी बर्बराउँछिन्। तेजाबको जलनले होला, ‘एऒ्ढया, आत्था' भन्दै बेपत्ता चलमलाउँछिन्। झन्डै ४८ घन्टादेखि दिनरात छोरीको सेवामा खटिएकी आमाको न्यानो स्पर्श निधारमा पर्छ। घाउको व्यथा त उही हो, मनको व्यथा अलि कम हुन्छ सायद, उनी हल्का सम्हालिन्छिन्।
 
मंगलबार बिहान मात्रै नर्सहरूले बाथरुममा लगी नुहाइधुवाइ गराएर उनको घाउ सफा गरिदिएका रहेछन्। नुहाउँदा र घाउ सफा गर्दाको केही बेर अनुहारमा बाँधिएको पट्टी उघारिएको थियो। नर्सहरूले बेटाडिन र अरू ओखती लगाएर घाउ सफा पारे। संगीताले त्यही पलमा आक्रमणपछि पहिलोपटक आफ्नो अनुहार ऐनामा देख्न पाइन्। तेजाबले भसक्कै डढाएको अनुहारले उनको मन चसक्क भयो। अत्तालिएर फरक्क फर्किइन्। र, रुन थालिन्।
 
स्नेहका हात बढाउन आइपुगिन् उही आमा जसले नर्सहरूको सहयोगमा सम्झाइबुझाइ संगीतालाई बेडमा फिर्ता ल्याइन्। नर्सहरूले हतारहतार उनको अनुहार फेरि उही सेतो पट्टीले थुनिदिए, खाली आँखा र मुख मात्र हल्का देखिने गरी।
 
बेडमा फर्किएर घुप्लुक्क ओछ्यानमा पल्टिइन्। भित्ताको एउटा कुनामा ट्वाल्ट्वाल्ती हेरिरहिन्। साउनेझरीझैं आँसु बर्सिरहे। मुख भने ट्याप्पै। यसबीच घरीघरी उनी हात उठाएर अनुहारसम्म पुर्यारउँथिन्। सेतो पट्टी बाहिरैबाट घाउ सुम्सुम्याउँथिइन्। र, फेरि भित्ताको उही कुनामा एकोहोरो टोलाइरहन्थिन्।
 
‘के मेरो अनुहार फेरि पहिलेजस्तै हुन सक्छ?' अलि बेरपछि निकै साहस बटुलेर थर्थराएको लवजमा बोलिन् संगीता।
 
त्यतिबेलासम्म जनसेवाका डिएसपी विष्ट अनुसन्धान क्रममा त्यहाँ पुगिसकेका थिए। प्रहरीलाई सामुन्ने देखेपछि त झन् उनको धैर्यको बाँध टुट्यो। घरी भक्कानिँदै, घरी गला अवरुद्ध पार्दै डिएसपीसँग भनिन्, ‘मेरो कोही दुश्मन छैन सर! किन ममाथि एसिड प्रहार गरियो, म आफैंलाई थाहा छैन।'
 
केही बेर आफ्ना कुरा सुनाएपछि उनले सोधिन्, ‘त्यो आक्रमणकारी पक्राउ पर्यो्?'
 
डिएसपी विष्टले ‘छैन' भनेपछि उनले आत्तिएको स्वरमा प्रश्न गरिन्, ‘अझै पक्राउ परेको छैन? त्यसलाई कुनै हालतमा नछाड्नू सर। छिटोभन्दा छिटो समातेर कडा सजाय दिनुस्, ता कि कुनै चेलीमाथि फेरि यस्तो हमला गर्ने साहस कसैलाई नहोस्।'
...
संगीताले मंगलबार दिनभरि नै तीनटा प्रश्न तारन्तार सोधिरहिन्। प्रहरीसँग पनि, नर्सहरूसँग पनि। 
 
के मेरो अनुहार फेरि पहिलेजस्तै हुन्छ?
 
मलाई हमला गर्ने आक्रमणकारी पक्राउ पर्योन?
 
र, के म एसएलसी दिन सकूँला?
 
यी तीनटै प्रश्नको जवाफ अहिलेसम्म छैन। आक्रमणकारी अझै प्रहरी फन्दाबाट टाढै छ। अनुहार फिर्ने र यसपालि नै एसएलसी दिन सक्ने कि नसक्ने प्रश्न उनको उपचारसँग जोडिएको छ, जसका लागि डाक्टरहरू निरन्तर लागिरहेका छन्।
 
संगीताको घाउ बिस्तारै भरिँदै गए पनि अवस्था चिन्ताजनकै रहेको उपचारमा संलग्न डा. शम्भु नाथ बताउँछन्।
 
‘तेजाबले जलेकाले राम्ररी निको हुन समय लाग्छ,' उनले नागरिकसँग भने, ‘उनका आँखा, मुख, घाँटी र छातीमा बढी तेजाब परेको छ, अनुहारमै परेकाले पनि जटिलता अलि बढी छ।' घाउ निको भए पनि अनुहार पहिलेजस्तै बनाउन मुस्किल पर्ने उनले बताए।
 
डाक्टरको यो निर्क्योल संगीताको कानसम्म पुगिसकेको छैन, तर मंगलबार ऐनामा आफ्नो मुख देखेपछि उनले करिब–करिब ठम्याइसकेकी छन्, राम्ररी निको भएर यही चैतको एसएलसीमा सरिक हुन अब निकै गाह्रो छ।
 
संगीताको सबभन्दा ठूलो चिन्ता यही हो।
 
आफ्नो पढाइ–लेखाइका लागि आमाबाबुको कष्ट देखे–भोगेकी संगीताका लागि एसएलसी दिन नपाउँला कि भन्ने चिन्ताले तेजाबभन्दा गहिरो पीडा दिइरहेको छ। सपना भत्कँदाको पीडा विपनामा लागेको घाउभन्दा निकै गहिरो हुन्छ, सायद!
 
‘एसएलसी आउन एक महिना मात्र बाँकी छ, राम्रो अंक ल्याउँला भनेर ट्युसन पढ्न गएकी थिएँ, यस्तो भयो,' शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा पढ्ने संगीताले भनिन्, ‘आमाबुबाको सपना खेर जाला कि भन्ने पो चिन्ता छ!'
 
‘अरू विषयमा राम्रै थिएँ, म्याथ र साइन्स अलि गाह्रो लाग्थ्यो, त्यसमा पनि राम्रो नम्बर ल्याएर एसएलसी पास हुन पाए राम्रो कलेजमा प्लसटु पढुँला भन्ने आस थियो, खै अब के होला! अहिले यो हालतमा त एसएलसी दिन पनि सक्छु कि सक्दिनँ थाहा छैन,' उनले शब्दैपिच्छे अड्कीअड्की निकै बेर लगाएर भनिन्।
 
आइतबार बिहान ट्युसन सेन्टरको कक्षाकोठामा उनी आफ्ना साथीहरू सीमा बस्नेत र हेमु मुखर्जीसँग गणितकै अभ्यास गरिरहेकी थिइन्, जतिबेला हुरीझैं छिरेको त्यो अपरिचित आक्रमणकारीले तेजाब छ्यापे।
 
राम्ररी मुख नदेखिने गरी सुन्तला रंगको ‘हुड' लगाएका ती युवकले हर्लिक्सको बोतलमा तेजाब ल्याएका थिए। आक्रमणलगत्तै उनी कुलेलम ठोकिहाले। कक्षाकोठामा ढोकानजिकै बसेकीले हेमु जोगिइन्। संगीता र सीमा भने बच्न सकेनन्। तेजाबको जलन सहन नसकेर उनीहरू ‘ममी–ममी' भन्दै ट्युसन सेन्टरबाट बाहिर निस्किए। संगीता ट्युसन सेन्टरको पल्लो गल्लीमा रहेको डेरातिर दौडिइन्। एकाबिहानै ट्युसन सेन्टरमा पढ्ने छात्राहरूको चित्कार सुनेर स्थानीय भेला भए। घटना सुनेपछि नजिकैको महानगरीय प्रहरी वृत्त, जनसेवालाई खबर गरे। 
रुँदै घर आएकी छोरीको पोलेको अनुहार र शरीर देखेर आमा चमेलीले अत्तालिँदै तेजाबको जलन घटाउन घाउमा पानी हालिदिइन्। र, तुरुन्तै अस्पताल दौडाइन्।
 
घटनाको दुई दिन बितिसक्दा पनि प्रहरीले आक्रमणकारी पक्राउ गर्न नसकेकामा चिन्तित छिन् चमेली। उनको एउटै माग छ, आफ्नी छोरीको जीवन बर्बाद पार्नेलाई प्रहरीले चाँडोभन्दा चाँडो पक्राउ गरी कडा सजाय देओस्।

0 comments for "के मेरो अनुहार फेरि पहिलेजस्तै हुन्छ?: संगीता"

Leave a reply

    Popular Posts

    Blog Archive