Published On:Friday, February 20, 2015
Posted by Unknown

उनले यौनसम्पर्क राख्न नमानेको अवस्थामा मैले के गर्दा उचित होला?


म २१ वर्षर्को भएँ। मेरी केटी साथीको उमेर १९ वर्षको छ। म उनीसँग यौनसम्पर्क राख्न चाहन्छु तर उनले मलाई त्यसको अनुमति दिएकी छैनन्। यौनसम्पर्कबाहेक हामीले अन्य सबै यौनजन्य क्रियाकलाप गरिसकेका छौं। उनले यौनसम्पर्क राख्न नमानेको अवस्थामा मैले के गर्दा उचित होला?

९७०५



यौनसम्पर्कको चाहना

किशोरावस्था वा युवा अवस्थामा स्वाभाविक रूपमै विपरीत लिङ्गीप्रति आकषिर्त भइन्छ। यसै क्रममा मन पराइन्छ अनि प्रेम वा भनौं मायाका भावनाहरू आउँछन् र यौनसम्पर्क पनि राख्न पुगिन्छ। यस्ता भावनाको उचित व्यवस्थापन सामान्य सामाजिक जीवनयापनका लागि आवश्यकसमेत हुन्छ।

केटीसाथी भनेर उल्लेख गर्नुभए पनि तपाईंहरूबीचको सम्बन्ध के-कस्तो छ भन्ने कुरा स्पष्ट छैन। क्षणिक आकर्षण र वास्तविक प्रेमबीच फरक छुट्टयाउनु आवश्यक हुन्छ। क्षणिक आकर्षणलाई नै प्रेम मान्दा खाडलमा परिने सम्भावना हुन्छ। युवावस्थामा आकर्षण वा मोह नै वास्तविक प्रेम हो जस्तो लाग्न सक्छ। उमेर बढ्दै जाँदा उक्त क्षणिक प्रेम आकर्षणमा मात्र सीमित हुने सम्भावना हुन्छ। प्रेम तथा आकर्षणबीच भिन्नता छुट्टयाउन सक्नुपर्छ। प्रेम बिस्तारै हुने प्रक्रिया हो र यो दुवै व्यक्तिमा साथसाथै विकसित हुन्छ। यसमा सम्पूर्ण व्यक्तित्व नै संलग्न हुन्छ। प्रेममा अर्को व्यक्तिको भावना तथा शरीर दुवैको कदर गरिन्छ र अर्को व्यक्तिलाई खुसी राख्ने प्रयत्न गरिन्छ। यस्तो प्रेममा यौनसम्पर्क राख्ने कुरा सर्वोपरि हुँदैन।

उनले किन यौनसम्पर्क राख्न नमानेकी होलिन्?

विवाहपूर्व यौनसम्पर्क राख्नुको आ-आफ्नै प्रभाव हुन सक्छ। आधुनिक समाजमा विवाहको उमेर पछिल्तिर धकेलिएको छ, तर यौनचाहना किशोरावस्थादेखि नै तीव्र हुने कुरा यथार्थ हो। किशोरावस्थामा वा युवावस्थामा हुने असीम यौन चाहना शान्त पार्न कतिपयले विवाहपूर्व नै भए पनि यौनसम्पर्क गर्छन््। यस्तो अवस्थामा त्यसबाट पर्न सक्ने प्रभावका सम्बन्धमा जानकारी राख्नु आवश्यक हुन्छ। सामाजिक रूपमा अमान्य भएकाले सामाजिक बहिस्कार तथा हेंलाको सामना गर्नुपर्ने पनि हुन सक्छ।

यस किसिमको यौनसम्पर्क प्राय: हतारमा गरिने भएकाले गर्भनिरोधका उपायहरू अपनाइँदैन। त्यसैले गर्भ रहने सम्भावना हुन्छ। यदि गर्भ रहे बेइज्जती हुने, वैवाहिक सम्बन्धमा बाँधिन बाध्य हुनुपर्ने, परिपक्व नै नभै अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने आदि हुनसक्छ भने गम्भीर आर्थिक तथा सामाजिक असुरक्षाजस्ता समस्याको पनि सामना गर्नुपर्ने हुनसक्छ। यस्तो समस्याका कारण गर्भ तुहाउन गरिने प्रयासले थप समस्या सिर्जना गर्नसक्छ। त्यसैले विचार नपुर्‍याई गरिने यौनसम्पर्कबाट बच्नु आवश्यक छ। जति सानो उमेरमा यौनसम्पर्क सुरु गर्‍यो त्यति नै धेरै यौनसाथी हुने सम्भावना हुन्छ, जसले जोखिम बढाउँछ भन्ने कुरा त हामीलाई थाहै छ।

जैविक विकासवादको कुरा हेर्ने हो भने पनि यौनसम्पर्कपछि हुने गर्भ, सन्तानको जन्म वा अन्य कुराको महत्त्व बढी हुने हुनाले सामान्य रूपमा महिलाले सजिलै यौनसम्पर्क राख्न मान्दैनन्। कतिपय कारणले पुरुषको तुलनामा महिलाले यौनसम्पर्कपछि बढी मूल्य चुकाउनुपर्ने भएकाले पनि जैविक रूपमा यो विषयमा महिलाहरू पर्याप्त सोच विचार गर्छन् र सजिलै यौनसम्पर्क राख्न मान्दैनन्।

के गर्नुपर्ला?

यौनआनन्द लिने तर यौनसम्पर्क राख्ने दबाबलाई न्यूनीकरण गर्ने वातावरण दुवै पक्ष मिलेर गर्नु उत्तम हुन्छ। यस्ता निर्णय वा भनौं अठोटलाई पालना गर्न नसक्दा थप समस्यामा परिन्छ। पहिलो यौनसम्पर्क कुनै पनि व्यक्तिका लागि विशेष घटना मानिन्छ। त्यसका लागि दुवै पक्ष शारीरिक, मानसिक अनि भावनात्मक रूपमा तयार भएपछि मात्र यौनसम्पर्कमा संलग्न हुनु राम्राे हुन्छ। यो कुरामा जबरजस्ती गर्नुले सम्बन्धलाई नै धरापमा पार्ने सम्भावना हुन्छ।

पहिलो यौनसम्पर्क जीवनको विशेष घटना भएकाले पनि त्यसलाई विशेष महत्त्व दिनुपर्छ र तपाईंहरू दुवै जना तयार नभएको स्थितिमा हतार गर्नु हुँदैन। तपाईंहरूले यौन आनन्दका लागि वैकल्पिक उपाय अपनाउन थालिसक्नुभएकाले त्यसैलाई निरन्तरता दिँदा योनि-लिङ्ग मैथुन नगरीकनै यौनसुख लिन सकिन्छ।

तपाईंहरूको सम्बन्धले कुनै कारण निरन्तरता पाउन नसकेको स्थितिमा तपाईंमा हुने ग्लानि, हीनताबोध अनि असहजता पनि कम हुन्छ। यौनसम्पर्क गहिरो प्रणय सम्बन्धको प्रतीक भएकाले अहिलेको सम्बन्धले निरन्तरता पाउन नसकेको स्थितिमा त्यसबाट बाहिर निस्कन अझ गाह्रो हुन्छ। अहिलेको सम्बन्धलाई बिर्सेर अर्को सम्बन्ध स्थापित गर्न पनि असजिलो हुन्छ। केही दूरी राखेको स्थितिमा त्यस्ता असजिलाहरू देखिने छैनन्। पुरुषले तुलनात्मक रूपमा सजिलै यौनसम्पर्क राख्न साँचो प्रेम सम्बन्धको हवाला दिँदै अनेक कुरा गर्ने र यौनसम्पर्क राखिसकेपछि त्यसलाई त्यसैअनुरुप महत्व नदिने, निरन्तरता नदिने वा महिलाको चरित्र बलियो नभएको आरोपसमेत लगाएका कतिपय उदाहरण भएकाले पनि यौनसम्पर्कको मामिलामा महिलाले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ।

यहाँ तपाईंकी केटी साथीले तपाईंसँगको सम्बन्ध गहिरो नै भए पनि आफूलाई एक सिमा भित्र राख्न चाहेको देखिन्छ जुन आफंैमा बुद्धिमतापूर्ण निर्णय हो। उहाँलाई साँचो प्रेम गर्नुहुन्छ भने तपाईंले उहाँको भावनाको सम्मान गर्नुपर्छ र उहाँ तयार नभएसम्म
अनावश्यक दबाब दिनु उपयुक्त हुँदैन। साप्ताहिकबाट साभार

0 comments for "उनले यौनसम्पर्क राख्न नमानेको अवस्थामा मैले के गर्दा उचित होला?"

Leave a reply

    Popular Posts

    Blog Archive