Published On:Monday, February 16, 2015
Posted by Tekman Shakya
शिवलिङ्ग, नागा बाबा र भक्तिसङ्गीतको आकर्षण
५ फागुन, काठमाडौं । शिवरात्रिका अवसरमा पाशुपत क्षेत्र वनकालीमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले निर्माण गरेको करिब १० मिटर अग्लो शिवलिङ्ग भक्तजनको आकर्षण बनेको छ ।
कपडा र बाँसबाट निर्मित शिवलिङ्गबाट पानी पनि खसालिएको छ । त्यसलाई परिक्रमा गर्ने व्यवस्था मिलाइएको छ । सँगै शिव र पार्वतीरूपी साना बालबालिका कैलाशपर्वतमा स्थिर रूपमा ध्यान गरेर बसेका छन् ।
“शिवलिङ्ग नै यस वर्षको शिवरात्रिको विशेषता हो, अझ करिब ३५० नागाबाबा र अर्धसर्वाङ्ग महिला साधु अर्काे आकर्षण हो, उच्चस्तरका करिब दश स्वामीहरू पनि आउनुभएको छ”पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले बताए ।
वनकालीमै कोष र पशुपति सङ्गीत प्रतिष्ठानको आयोजनामा तीनदिने भक्तिसङ्गीतले पाशुपत क्षेत्र नै घन्किरहेको छ । कहीँ साधुसन्तलाई भण्डारा लगाइँदै छ भने कतै स्वास्थ्य शिविर चल्दैछ ।
रायमाझी कुलदेवता केन्द्रीय समितिले सोमबारदेखि सुरु भएको विशेषज्ञसहितको स्वास्थ्य शिविरमा करिब दुई हजारले सेवा लिइसकेको समितिका प्रकाश रायमाझीले जानकारी दिए ।
बाह्र ज्योतिर्लिङ्मध्येका महाज्योतिर्लिङ्ग पशुृपतिनाथ मानिसलाई पशुभाव र पाश(बन्धन)बाट मुक्त गराउने कल्याण र त्यागका प्रतिमूर्ति हुन् । “पशुपतिनाथ केदारनाथको शिर नै हुन् ”डा टण्डनले भने । रासस