बालकृष्ण ढुंगेलविरुद्ध आर्को ज्यान मुद्दा
११ फागुन काठमाण्डौ- हत्याको कसुरमा सर्वस्वसहित जन्मकैदको सजाय पाएका एमाओवादी पूर्व सभासद बालकृष्ण ढुंगेलविरुद्ध अर्काे ज्यान मुद्दा पनि दायर हुने सम्भावना बढेर गएको छ । ढुंगेलविरुद्ध रामेछापका गणेशकुमार श्रेष्ठको हत्या भएको जाहेरीमाथि कारबाही अगाडी नबढाउनुको लिखित कारण पेश गर्न अदालतले प्रहरीलाई आदेश गरेपछि उनमाथि अर्काे मुद्दा थपिने संभावना बढेको हो । कान्तिपुर दैनिकमा समाचार छ ।
उज्जैनकुमार श्रेष्ठको हत्या गरेको भनी अदालतले दोषी करार गरेका ढुंगेलले उनीविरुद्ध किटानी जाहेरी गर्न खोज्दा उज्जैनका दाजु गणेशको पनि गोली हानी हत्या गरेको भन्दै १२ वर्षअघि नै श्रेष्ठ परिबारले प्रहरीमा जाहेरी दिएका थिए ।
तर यतिका वर्ष बितिसक्दा पनि जाहेरीमा कुनै कारबाही अगाडि नबढेको भन्दै श्रेष्ठका आफन्तले फागुन ६ गते पुनरावेदन अदालत जनकुपुरमा रिट दायर गरेका थिए ।
उक्त रिटमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधिश सत्यराज गुरुङको एकल इजलासले जिल्ला प्रहरी कार्यालय रामेछापका नाममा आदेश जारी गरेको हो । आदेशमा बाटाका म्यादले १५ दिनभित्र पीडितको जाहेरी दर्ता नगर्नाको कारण लिखित रुपमा बुझाउन भनिएको छ ।
ढुंगेलले २०५५ साल असार १० गते ओखलढुंगा उज्जनकुमारको हत्या गरेका थिए । त्यस विरुद्ध उनका दाजु गणेशले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरी दिएको आक्रोशमा श्रेष्ठलाई २०५९ साल मंसिर ६ गते माओवादीले गोली हानी हत्या गरेका थिए ।
हत्याका बखत श्रेष्ठ खेतमा छोरीसहित काम गरिहेका थिए । उनलाई छोरीकै अघिल्तिर गोली ठोकी निर्मम हत्या गरिएको परिबारजनले बताएका छन् ।