Published On:Friday, February 20, 2015
Posted by Unknown

विश्वका कान्छा निर्देशकले भने- मेरो चित्त दुखेको छ

९ फागुन, काठमाण्डौ- विश्वकै सबैभन्दा कान्छा कथानक फिल्म निर्देशक ८ वर्षीय सौगात विष्टले आफ्नो चित्त दु:खेको प्रतिक्रिया दिएका छन्।

गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌को प्रमाणपत्र हस्तान्तरणका लागि शुक्रबार आयोजित कार्यक्रममा उनले आफूले मिहिनेत गरेर बनाएको फिल्म हेर्न कोही नआएको गुनासो गरे। उनले निर्देशन गरेको फिल्म ‘लव यु बाबा’ गत मंसिरमा रिलिज भएको थियो।
कार्यक्रममा आफ्नो भनाइको सुरुमै उनले भने - म जहिले पनि अरू कार्यक्रममा जाँदा आज धेरै बोल्दिनँ भन्थे । तर, आज म धेरै बोल्न जाँदैछु। प्लिज, हजुरहरू नरिसाइदिनु होला।
त्यसपछि उनले आफूलाई चित्त दुख्नुको कारण खुलाए। ‘खुसी र दु:खको कुरा भन्न जाँदैछु। आज खुसीबाहेक दु:खको कुरा गर्ने दिन त होइन । तर पनि, आज म आफूलाई मनमा लागेको कुरा भन्न जाँदैछु। म पहिला दु:खको कुरा भन्न जाँदैछु,’ भूमिका बाँधिसकेर उनले भने, ‘दु:खको कुरा के हो भने मैले फिल्म डाइरेक्सन गरे तर दर्शकहरु त्यसलाई हेर्न आउनु भएन। किनकी, उहाँहरुलाई लाग्यो कि मैले फिल्म निर्देशन गर्न सक्दिनँ, नाम लेखाउन सक्दिनँ। त्यसैले उहाँहरुले ममाथि विश्वास गर्नुभएन र हाम्रो फिल्म चलेन। मलाई दु:ख लागेको छ।’
करिब पाँच मिनेट बोलेका सौगातले त्यसपछि ‘आज दु:खको कुरा सुनाउने दिन होइन’ भन्दै आफूलाई भाग्यमानी बताए । भने- फिल्म नचले पनि मैले मिहिनेत गरेको फल आज पाएँ। मैले गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌मा नाम लेखाएको छु। यसमा म आफूलाई भाग्यमानी ठान्छु। यसमा म मात्र खुसी छैन। हरेक नेपालीहरु यसमा खुसी हुनुहुन्छ होला किनकी मैले गिनिज बुकमा नाम लेखे।’
फिल्म नचले पनि गिनिज बुकमा नाम लेखाएको खुसियालीमा आफ्नो फिल्म फेरि हेरिदिन अनुरोध गरे। ‘मैले गिनिज बुक अफ वर्ल्ड रेकर्डस्‌मा नाम लेखाएको खुसीयाली हजुरहरूले फेरि एकपटक फिल्म हेर्नुपर्छ कि पर्दैन?’ उनले भने, ‘यदी हो भने म अकंल-आन्टीहरूलाई के भन्न चाहन्छु भने फेरि एकपटक यो फिल्म चलाउनुपर्छ।’
उनले सिनेमा बनाउँदा र गिनिज बुकमा नाम लेखाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए। कार्यक्रममा फिल्मकी मुख्य कलाकारसमेत रहेकी सौगातकी दिदी संगम विष्टले कीर्तिमान राखेको फिल्मलाई फेरि एकपटक चलाउन सहयोगका लागि अपिल गरिन्।
कार्यक्रममा सौगातको कुरालाई रुचिपूर्वक सुनिरहेका सञ्चारमन्त्री मिनेन्द्र रिजालले सौगातको उपलब्धिमा नेपालले नै गर्व गर्नुपर्ने बताए। उनले भने, ‘सौगातजीले देशको नाम राख्नु भयो । यसमा सौगातजी मात्रै नभएर सिंगो नेपालले नै गर्व गर्नुपर्छ।’
सौगातको सफलताका लागि अभिभावकको समेत महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनले हरेक आमाबाबुले आफ्ना सन्तानलाई सौगातको जस्तै वातावरणमा हुर्काउनु पर्ने धारणा राखे । मन्त्री रिजालले सौगातलाई गिनिज बुकबाट प्राप्त कान्छो सिनेमाको निर्देशकको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

0 comments for "विश्वका कान्छा निर्देशकले भने- मेरो चित्त दुखेको छ "

Leave a reply

    Popular Posts

    Blog Archive