Published On:Wednesday, February 18, 2015
Posted by Tekman Shakya
‘गणेशमान बलिदान अभियान’ आजदेखि सुरु
७ फागुन, काठमाडौं । नेपाली काँग्रेसका सर्वमान्य नेता स्वर्गीय गणेशमान सिंहको जन्मशताब्दीका अवसरमा ‘गणेशमान बलिदान अभियान’ आयोजना हुने भएको छ ।
नेका केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजना हुने सो अभियान आज फागुन ७ गतेदेखि सुरु भई चैत २६ गते टुङ्गिनेछ ।
सिंहले नेपाली राजनीतिमा देखाउनुभएको त्याग, साहस र निर्भिकतालाई अझ जनतासामु भिज्नेगरी स्थापित गराउन सो अभियान सञ्चालन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
सिंह जहानीया राणा शासनविरुद्ध लाग्दा भद्रगोल जेल पर्नुभएको थियो । जेलको कडा निगरानी र सुरक्षाको घेरालाई तोड्दै भारत प्रस्थान गर्ने क्रममा उहाँ हिड्नुभएका जिल्लाहरूलाई पछ्याउँदै सो अभियान सञ्चालन गर्न लागिएको प्रतिष्ठानका प्रमुख एवम् उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
“ऐतिहासिक जनआन्दोलन २०४६ का सर्वाेच्च कमाण्डर सिंहले देख्नुभएको आर्थिक क्रान्तिको सपनालाई साकार पार्न अभियानले बल पुग्नेछ”, पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
अभियान पहिलो चरणमा फागुन ७ गते काठमाडाँैको शान्ति बाटिकाबाट सुरु भई फागुन २३ गते भैरहवामा समापन हुनेछ । पहिलो चरणको कार्यक्रमपश्चात दोस्रो चरणको कार्यक्रम तय हुने प्रतिष्ठानले जनाएको छ ।
यात्राका क्रममा जनसभा, साहित्यिक कार्यक्रम, विकास निर्माणमा बहस, जनताका पीरकर्मा सुनुवाई, पार्टीका नीति तथा कार्यक्रमलगायतका बारेमा आमसमुदायलाई सुसूचित गराइनेछ ।
अभियानको बाटोमा शान्तिबाटिका, भद्रगोल जेल, नेका केन्द्रीय कार्यालय, टेकु, सितापाइला, भीमढुङ्गा, छत्रेदेउराली, जीवनपुर, चाउथे, डाडाँगाउँ, दुईपिपल, कोल्पुटार, गल्छी, बैरेनी, घाटवेसी, गजुरी, मलेखु, वेनिघाट, सिउरिनीटार, फुजेल, वतासे, लक्ष्मीबजार, गोरखावजार, कुन्छा, सोतिपसल, सिसाघाट, देउराली, सातमुहाने, लेखनाथ नगरपालिका, दुलेगौडा, पोखरा, छोरेपाटन, मट्टिखान, पुतलीबजार, स्याङ्जाबजार, बयरघारी, वालिङ, गल्याङ, राम्दी, दुर्लुमडाँडा, तानसेन, मस्याम, तल्लोसिद्धिबाबा, बुटवल आदि रहेका छन् ।
“ती क्षेत्रमा स्थानीय जनता नै अभियानमा सहभागी हुनेछन् । एक गाउँले अर्काे गाउँलाई हस्तान्तरण गर्दै अभियान अगाडि बढ्नेछ”, उपसभापति पौडेलले बने ।
यसअघि, विपी विचारयात्रा, सवै जिल्लामा प्रशिक्षण सम्पन्न गरिसकेको प्रतिष्ठानले नेपाली जनतामा निहीत सार्वभौमसत्तालाई अझ बलियो र कसिलो बनाउन जनतालाई सचेत पारिने जनाएको छ ।
“हामीले विपीलाई विचारसित जोड्दै विचारयात्रा र गणेशमान सिंहलाई बलिदानसित जोड्दै बलिदानयात्रा सुरु गर्न लागेका हाँै,”उपसभापति पौडेलले भने ।
“गणेशमान सिंहबाट त्याग, साहस र बलिदान सिकौँ, नैतिक मूल्य र मान्यताको राजनीति गराँै” भन्ने नारा प्रतिष्ठानले चयन समेत गरेको छ । प्रतिष्ठानले विदेशीएका युवालाई स्वदेशमा नै फर्काई उनीहरूलाई स्वतन्त्र र स्वभिमानका साथ बस्ने बनाउन चाहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका निर्देशक जगदीशचन्द्र पोखरेलले प्रत्येक नेपाली परिवारलाई न्यूनतम आवश्यकताको परिपूर्ति होस् भन्ने गणेशमान सिंहको चाहनालाई पुरा गर्नु आवश्यक रहेको बताए । रासस