Published On:Saturday, February 21, 2015
Posted by Unknown
चर्चित अविवाहित

धेरै मानिसहरू मलाई अव्यवहारिक भन्छन्, प्रधानमन्त्री सुशील कोइरालाले केही अघि एउटा सार्वजनिक समारोहमै भनिदिए— 'मैले विवाह नगरेकाले मानिसले अव्यवहारिक भनेका हुन्।' कोइराला भन्छन्— 'मैले देश र प्रजातन्त्रसँग विवाह गरेँ।'
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पनि अविवाहित नै छन्। 'चिनेको मानिसले भेट्यो कि बिहे कहिले गर्ने भनिहाल्छन्,' पौडेलले एउटा अन्तर्वार्तामा भनेका छन्— 'यो विवाह नगरेका सबैले जवाफ दिइरहनुपर्ने साझा प्रश्न हो।' उमेरले ४० कटेका पौडेलको विचारमा विवाह नगर्दा श्रीमतीको टेन्सन हुँदैन, 'फुक्का भएर हिँड्न पाइन्छ, पूरै समय राजनीति गर्न पाइन्छ, पौडेलले विवाहको सकारात्मक पक्ष पनि देखेका छन्। उनी भन्छन्— 'सँगैका साथीहरूको घरबार देख्दा रहर लाग्छ, आमा पनि 'बुहारी चाहियो' मात्र भन्नुहुन्छ।'
अघिल्लो वर्षसम्म अभिनेता राजेश हमाललाई सञ्चारकर्मीले विवाह कहिले गर्ने भनेर दिक्क बनाउँथे। अहिले यही जिज्ञासा गायक राजेशपायल राईतर्फ सोझिएको छ। राजेशले हालसम्म विवाह नगर्ने विभिन्न कारण प्रस्तुत गर्दै आएका छन्। पछिल्लो समय त उनले आफू प्रेम र विवाहको विषयमा असफल भएको समेत स्विकारेका छन्। राजेश भन्छन्— 'बुबा-आमा विदेशमा भएकाले मैले विवाह गर्न नपाएको हुँ।'
यी तीन व्यक्तित्व नेपाली समाजका अविवाहितहरूका प्रतिनिधि पात्र हुन्। वास्तवमा आधुनिक समाजमा अधिकांश मानिस ढिला विवाह गर्न थालेका छन्। कानुनले विवाह गर्ने उमेर १८ (महिला) तथा २१ (पुरुष) वर्ष तोके पनि व्यस्तताका कारण नेपालीहरू उक्त उमेरमा विवाह गर्न छाडेका छन्। महिलाहरू २४ नपुगी तथा पुरुषहरू २८ नकाटी विवाह गर्ने चलन हराउँदै गएको छ।
अविवाहित महिला
सुबिन लिम्बू, मिस नेपाल
वर्ष २०१४ की मिस नेपाल सुबिन लिम्बू गत वैशाखदेखि चर्चामा छिन्। ५ फिट ८ इन्च अग्ली सुबिनले भविष्यमा प्रेम विवाह गर्ने बताइसकेकी छिन्। 'कसैसँग प्रेम सम्बन्ध छ कि?' भन्ने एउटा जिज्ञासामा सुबिनको जवाफ छ— 'प्रेम त सबैसँग छ तर तपाईंले भन्नुभएजस्तो प्रेमचाहिं छैन।' विवाहका बारेमा सुबिनको तर्क छ— 'अहिलेको समयमा आएर मागी विवाह गर्ने सम्भावना कमै छ। म प्रेम विवाह नै गर्छु, तर कहिले र कोसँग भन्ने कुराचाहिं अहिले नै बताउन सक्दिन।'
वर्षा शिवाकोटी, नायिका
चलचित्र 'नाइँ नभन्नु ल-२' मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्ने नायिका वर्षा शिवाकोटी पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त छिन् । अविवाहित वर्षा आफूलाई अहिलेसम्म विवाह भनेको के हो भन्ने कुराको जानकारी समेत नभएको बताउँछिन्। वर्षासमक्ष प्रेम प्रस्ताव राख्नेहरूको सूची लामै छ। त्यस्ता प्रस्तावलाई आफूले वास्तै नगरेको बताउँदै वर्षा भन्छिन्— 'प्रेम प्रस्ताव त आउँछन्, जान्छन्।' वर्षाका अनुसार उनलाई अहिले नै प्रेममा अल्भिmन मन छैन न त उनी अहिले प्रेममा परेर समय नै खर्च गर्न चाहन्छिन्।
वर्षा राउत, मोडल/नायिका
वर्ष २०७० मा प्रदर्शन भएका थुप्रै गीतमा अभिनय गरेर व्यस्त भएकी मोडल हुन्— वर्षा राउत। २१ वर्षीया वर्षाले अभिनय गरेका दर्जनौं म्युजिक भिडियो प्रसारणका क्रममा छन्। वर्षालाई फेसबुक तथा मोबाइलको एसएमएसबाट प्रेमप्रस्ताव राख्नेहरू प्रशस्तै छन्। उनलाई भने यतिबेला अभिनयमा स्थापित हुनु छ। ५ फिट ६ इन्च अग्ली यी अविवाहित मोडललाई ब्राजिलका फुटबलर नेयमारसँग डेटिङ जाने ठूलो रहर छ। राउत भन्छिन्— 'नेयमार इज माइ हिरो।'
निश्मा घिमिरे, नायिका
मोडलिङमार्फत चलचित्र क्षेत्रमा आएकी निश्मा घिमिरे कुशल नृत्यांगना हुन्। यी अविवाहित नायिका ५ फिट ३ इन्च अग्ली छिन्। विगत पाँच वर्षदेखि मनोरञ्जन क्षेत्रमा रमाइरहेकी निश्माले केही दर्जन म्युजिक भिडियोमा अभिनय गरेपछि चलचित्र 'रिदम' मार्फत नायिकाका रूपमा डेब्यु गरेकी हुन्। उनको दोस्रो चलचित्र 'लभ यू बाबा' प्रदर्शन भैसकेको छ भने तेस्रो चलचित्र 'जन्मभूमि' प्रदर्शनको क्रममा छ। उमेर पुगेकी केटीसमक्ष प्रेम प्रस्ताव आउनु ठूलो कुरा नहुने बताउने निश्मा मन मिल्ने केटा फेला परे केही वर्षपछि विवाह गर्ने बताउँछिन्।
रिश्ता बस्नेत, नायिका
नायिका रिश्ता बस्नेत सक्रिय मेकअप आर्टिष्ट तथा कलाकार बिपना बस्नेतकी छोरी हुन्। अविवाहित रिश्ताले सुनिल रावलको चलचित्र 'होस्टल' बाट नायिकाका रूपमा डेब्यु गरेकी हुन्। होस्टलपछि रिश्ताले 'यो कथा तिम्रो मेरो' तथा 'एउटा साथी' मा अभिनय गरिसकेकी छिन्। प्रदर्शनको तयारीमा रहेको चलचित्र 'अधकट्टी' उनको आगामी चलचित्र हो। आजको मितिमा 'सिँगल' रिश्तालाई कसैले प्रेम प्रस्ताव राख्यो भने उनको प्रतिक्रिया कस्तो होला? रिश्ता भन्छिन्— 'पहिले प्रस्ताव गर्ने मानिसको व्यक्तित्व हेर्छु, ठीकै लाग्यो भने प्रेमी होइन, साथीचाहिँ बनाउँछु।'
माला लिम्बू , नायिका
सिँगापुरमा जन्मिएकी माला लिम्बू यतिबेला नेपाल चलचित्र क्षेत्रमा आफ्नो पहिलो पाइला राख्दैछिन्। चलचित्र 'वान वे' मार्फत डेब्यु गरेकी यी नायिका कुशल नृत्यांगनासमेत हुन्। वास्तविक जीवनमा भने कसैको पनि प्रेमिका नबनेको बताउने अविवाहित मालाले 'वन वे' मा अभिनेता सिद्धार्थ गुरुङसँग चुम्बनका दृश्यमा समेत सहज अभिनय गरेकी छिन्। 'चुम्बन माया साट्ने एउटा बहाना मात्र हो' भन्ने मालाका अनुसार उनको फिगरलाई सेक्सी भनेर प्रशंसा गर्नेहरू प्रशस्त छन्।
अशिष्मा नकर्मी, नायिका
चलचित्र तथा म्युजिक भिडियोमा व्यस्त अशिष्मा नकर्मी सुन्दर तथा शालिन नायिकाका रूपमा चिनिन्छिन्। हाल सिँगल स्टाटसमा रहेकी यी नायिकासमक्ष प्रेम तथा विवाहको प्रस्ताव राख्नेहरू प्रशस्त छन्। त्यसो त उनलाई स्कुल तथा कलेजमा पढ्दा नै प्रेम प्रस्तावहरू आउन थालेका थिए। अशिष्माका अनुसार उनलाई चार कक्षामै एक जना केटा साथीले प्रेमपत्र दिएका थिए। अशिष्माले अहिले कसैको प्रेमप्रस्ताव स्विकारेकी छैनन्, अर्थात् उनले आफ्नो मन जित्ने पुरुष फेला पार्न सकेकी छैनन्। भविष्यमा भने प्रेम विवाह नै गर्ने उनको योजना छ।
नम्रता सापकोटा, नायिका
थुप्रै म्युजिक भिडियो तथा केही चलचित्रमा अभिनय गरिसकेकी नम्रता सापकोटा प्रेम सम्बन्धमा रहिसकेकी छिन्। प्रेम सम्बन्ध टुटेपछि नम्रताले दिएको अभिव्यक्ति समेत चर्चामा आएको थियो। एउटा अनलाइन पत्रिकाका अनुसार उनले ब्रेकअप पछि 'कुनै पनि सम्बन्ध दिगो हुँदैन र विचार मिल्दैन भने नजिक हुनुको अर्थ छैन' भनेकी थिइन्। यतिबेला सिँगल नम्रताले विवाहका बारेमा भने अहिले नै केही नसोचेको बताएकी छिन्।
शीतल-सुवानी, गायिका
गायिका कुन्ति मोक्तानका दुई गायिका छोरी हुन्— शीतल र सुवानी मोक्तान। दुवै गायिका गायनमा मात्र अब्बल छैनन्, सौन्दर्यका दृष्टिकोणले समेत आकर्षक छन्। यी दुवै अविवाहित गायिकाहरू प्रेमका गीत गाउन सिपालु छन्। दुवैले आफ्नो प्रेम जीवनका बारेमा कुनै पनि कुरा सार्वजनिक गरेका छैनन्।
आस्था पोखरेल, मोडल
किङ्फिसरको क्यालेन्डरमा फोटोसेसन गराएर चर्चामा आएकी नेपाली मोडल हुन्— आस्था पोखरेल। क्यालेन्डरमा छनौट हुनुअघि उनले भारतको एउटा टेलिभिजन च्यानलले आयोजना गरेको रियालिटी शो 'सुपर मोडल-२' मा प्रथम स्थान हासिल गरेकी थिइन्। ५ फिट साढे ८ इन्च अग्ली अविवाहित आस्थाले आफ्नो प्रेम जीवनका सम्बन्धमा कुनै पनि कुरा सार्वजनिक गरेकी छैनन्। २२ वर्षीया आस्थाले विवाहका बारेमा त सोचेकी समेत छैनन्। सुपर मोडल-२ को उपाधिपछि चर्चामा आएकी आस्था यतिबेला भारतकै 'टाइम्स मोस्ट डिजाइरेवल वुमन-२०१४' मा सहभागी भएर थप चर्चा बटुलिरहेकी छिन्।
अविवाहित पुरुष
लाहुरे, गायक/अभिनेता
पोखराका आशिष रानालाई उनका प्रशंसकहरू 'लाहुरे' नामले चिन्छन्। र्यापरका रूपमा लोकप्रिय यी गायकका पुरुषभन्दा महिला प्रशंसक बढी छन्। २४ वर्षीय अविवाहित लाहुरे लजालु स्वभावका छन्। ६ फिट अग्लो कदका यी गायक आकर्षक व्यक्तित्वका धनी छन्। प्रेम र विवाहका बारेमा कुराकानी गर्न लजाउने लाहुरेले यी दुवै कुरा योजना बनाएर नहुने बताएका छन्।
आयुष्मान घिमिरे, गायक
मिस्टर नेपालको उपाधी जितेर चर्चामा आएका आयुष्मान घिमिरे पेशाले चिकित्सक पनि हुन् । चिकित्सक पेशामा आवद्ध भए पनि अविवाहित घिमिरे ग्ल्यामर क्षेत्रमा पनि सक्रिय छन् । निर्मल शर्माको निर्देशनमा तयार भएको चलचित्र 'चकलेट' मार्फत अभिनेताको रुपमा डेब्यू गरिसकेका आयुष्मान झट्ट हेर्दा हेण्डसम त देखिन्छन्, व्यक्तिगत रुपमा समेत व्यवहारिक छन् । । सेलिब्रेटी मोडलको रुपमा समेत स्थापित आयुष्मानले आगामी दिनमा चलचित्रको अभिनयलाई निरन्तरता दिने बताइसकेका छन् । आयुष्मान भविष्यमा प्रेम विवाह नै गर्ने बताउँछन् ।
संयम पुरी, अभिनेता
पुराना चलचित्रकर्मी नारायण पुरीका छोरा संयम पुरी अभिनेताका रूपमा स्थापित छन्। चलचित्र 'शायद' बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका संयमले त्यसयता आधा दर्जन चलचित्रमा अभिनय गरिसकेका छन्। पछिल्लो पटक चलचित्र 'आभास' मार्फत डेब्यु गर्ने नायिका आश्मा डिसीसँगको प्रेम सम्बन्धका कारण उनीहरूको जोडी चर्चामा आइरहन्छ। संयम र आश्माले विवाहका बारेमा कुनै योजना बनाइसकेका छैनन्।
निश्चल बस्नेत, निर्देशक
चलचित्र 'लुट' को निर्देशनपछि उदाएका निर्देशक हुन्— निश्चल बस्नेत। 'लूट' को व्यवसायिक सफलतासँगै निश्चल आफूलाई स्थापित निर्देशक बनाउन सफल भएका भएका थिए। 'टलकजंग भर्सेस टुल्के' का यी निर्देशक अविवाहित नै छन्। उनले आफ्नो प्रेम सम्बन्धका बारेमा कसैलाई केही बताएका छैनन्। निश्चलले युवती प्रशंसक त प्रशस्त कमाएका छन् तर विवाह नै गर्ने युवती भने फेला पार्न सकेका छैनन्।
सुदर्शन थापा, अभिनेता/निर्देशक
आधा दर्जनभन्दा बढी चलचित्रका निर्देशक हुन्— सुदर्शन थापा। उनले नायकको भूमिका निर्वाह गरेको चलचित्र 'अझै पनि' प्रदर्शनको क्रममा छ। त्यसो त सुदर्शनको नाम नायिका पूजा शर्मासँग जोडिएको छ। उनीहरूले सार्वजनिक रूपमै आफूहरूबीच प्रेमसम्बन्ध रहेको स्पष्ट पारिसकेका छन् तर विवाहका बारेमा उनीहरूले अहिलेसम्म कुनै पनि निर्णय गरिसकेका छैनन्।
पुष्प खड्का, नायक
दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेर युवतीहरूको मनमा बस्न सफल अभिनेता हुन्- पुष्प खड्का। युवतीहरूमाझ चकलेटी मोडलको छवि बनाएका पुष्पले अधिकांश गीतमा रोमान्टिक भूमिका निर्वाह गरेका छन्। थुप्रै नायिकासँग अनस्त्रिmन रोमान्स गरिसकेका पुष्पले चलचित्र 'अझै पनि' मार्फत अभिनेताका रूपमा डेब्यु गरेका छन्। प्रेम र विवाहका बारेमा अहिले नै केही बोल्न नसक्ने अभिव्यक्ति दिने पुष्प करियरमा स्थापित भएपछि मात्र यस विषयमा निर्णय गर्ने बताउँछन्।
निराजन प्रधान, मोडल
म्युजिक भिडियोकै कारण चर्चामा आएका मोडल हुन्— निराजन प्रधान। आकर्षक व्यक्तित्वका धनी यी मोडल हालसम्म अविवाहित छन्। लामो समयदेखि म्युजिक भिडियोमा सक्रिय निराजन पछिल्लो समयसम्म यही विधामा सक्रिय छन्। निर्देशकहरूमाझ राम्रो अभिनय गर्ने मोडलका रूपमा स्थापित निराजन सुन्दर अनुहारका कारण युवतीहरूमाझ चर्चित छन्।
अमित पोखरेल, अभिनेता/मोडल
फेसन शो तथा म्युजिक भिडियो हुँदै चलचित्रसम्म आइपुगेका कलाकार अमित पोखरेल हालसम्म अविवाहित छन्। प्रेमका बारेमा उनको आफ्नै दर्शन छ। पोखरेल भन्छन्— 'प्रेम गरेर गरिने कुरा होइन, प्रेम आफैं हुन्छ।' विवाहका बारेमा समेत उनले कुनै योजना बनाएका छैनन्।
अनिल गुरुङ, फुटबलर
हुन त अनिल गुरुङ नेपालका उत्कृष्ट फुटबल खेलाडी हुन् तर आकर्षक व्यक्तित्वका कारण उनी कुनै मोडल अथवा अभिनेताभन्दा कम देखिंदैनन्। आकर्षक फुटबल खेलेर धेरै पटक म्यान अफ द म्याचको उपाधि जितिसकेका यी अविवहित फुटबलर प्रेम र रोमान्सबाट टाढै बस्न रुचाउँछन्।
यी पनि अविवाहित
राजेशपायल राई (गायक), राजबल्लभ कोइराला (नायक), बिमलेश अधिकारी (मोडल), कोमल वली (गायिका), ऋचा शर्मा (नायिका), दीपाश्री निरौला (हास्यअभिनेत्री), केकी अधिकारी (नायिका), नन्दिता केसी (नायिका), जेनिसा मोक्तान (नायिका), निरुता सिंह (नायिका), निशा अधिकारी (नायिका), सुमन सिंह (नायक), आयुष रिजाल (नायक), सौगात मल्ल (नायक), कर्मा (नायक), नम्रता श्रेष्ठ (नायिका), बेनिशा हमाल (नायिका), रीमा विश्वकर्मा (नायिका), हषिर्का श्रेष्ठ (नायिका), सुष्मा कार्की (नायिका), नीता ढुंगाना (नायिका), सुनिता दुलाल (गायिका), सुमिना घिमिरे (नायिका), राज घिमिरे (नायक), अविनाश घिसिङ (गायक), युवराज चौलागाईं (गायक), किरण खनाल (भिजे), विल्सन विक्रम राई (हास्य अभिनेता), आस्था बी (गायिका), समुना केसी (नायिका), अनु शाह (नायिका), कला सुब्बा (आरजे, दिया मास्के (नायिका), गरिमा पन्त (नायिका), सहाना बज्राचार्य (मोडल), बिनिता बराल (नायिका), अकेशा विष्ट (नायिका), अनिता आचार्य (नायिका), कोसिस क्षेत्री (गायक), गौरव पहारी (नायक), पारस खड्का (खेलाडी), पृथु बासकोटा (खेलाडी), सुरज गिरी (भिजे), संयम पुरी (नायक), रेमनदास श्रेष्ठ (आरजे), अनमोल केसी (नायक), बादल प्रसाई (गायक), असुशेन लामा (गायक), हेमन्त राना (गायक), कमल खत्री (गायक), हेमन्त राना (गायक), फूपु तेन्जिङ शेर्पा (नायक) तथा सलोन बस्नेत (नायक)।
विवाह नगरेका केही चर्चित नेता
सुशील कोइराला प्रधानमन्त्री तथा कांग्रेस सभापति), नारायणकाजी श्रेष्ठ (उपाध्यक्ष, एमाओवादी), गिरिराजमणि पोखरेल (सचिव, एमाओवादी) पम्फा भुसाल (प्रवक्ता, नेकपा-माओवादी) शेरधन राई (पोलिटब्युरो सदस्य, एमाले) विन्दा पाण्डे (पोलिटब्युरो सदस्य, एमाले), जयन्ती राई (केन्द्रीय सदस्य, एमाले), गरिमा शाह (केन्द्रीय सदस्य, एमाले), ममता गिरी (केन्द्रीय सदस्य, एमाले), फर्मुल्लाह मन्सुर (केन्द्रीय सदस्य, नेपाली कांग्रेस), प्रदीप पौडेल (केन्द्रीय सदस्य, नेपाली कांग्रेस), रामहरि खतिवडा (केन्द्रीय सदस्य, नेपाली कांग्रेस) सीता गुरुङ (केन्द्रीय सदस्य, नेपाली कांग्रेस) कल्याण गुरुङ (आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस), केशव सिंह (आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस), महेन्द्र शर्मा (आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस), रामहरी ढुंगेल (कांग्रेस नेता) सरिता प्रसाद (सभासद, नेपाली कांग्रेस) जितेन्द्र यादव (सभासद, नेपाली कांग्रेस), सन्तोष मेहता (प्रवक्ता, सद्भावना पार्टी), रोशन कार्की (राप्रपा), नानीमैयाँ आचार्य (केन्द्रीय सदस्य, राप्रपा), मीना स्वर्णकार (केन्द्रीय सदस्य, राप्रपा) ।
स्रोत : नयाँ पत्रिका दैनिक, साभार साप्ताहिकबाट