तीन श्रीमती, २० गर्लफेन्ड
१२ फागुन, काठमाडौं । बिहे र प्रेमको नाटक गरेर वषौंदेखि ठगी धन्दा चलाउँदै आएका युवक पक्राउ परेका छन् ।
व्यक्तिपिच्छे फरक(फरक परिचय दिई ठगी गर्दै आएका झापा धरमपुर २ का वीरबल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा उनका तीन श्रीमती र २० भन्दा बढी गर्लफेन्ड भएको खुलेको प्रहरीले जनाएको छ । ती मध्ये १३ जनाले ‘प्रेमको नाटक गरी बलात्कार र ठगी गरेको’ भन्दै तामाङ विरुद्ध प्रहरीमा उजुरी दिएको नयाँ पत्रिकामा खबर छ ।
केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार उनीविरुद्ध ७२ लाख रुपैयाँ गठीको उजुरी परेको छ । दुईजनाले जबर्जस्ती करणीको जाहेरीसमेत दिएका छन् ।
आफूलाई धनाढ्य व्यक्तिको रुपमा प्रस्तुत गरेर उनी युवतीहरुसँग नजिकिने गर्दथे । भाडाको कार चढ्ने तामाङले विभिन्न बहानामा गर्लफेन्डहरुको पैसा थुत्ने र लाखौ हात पारेपछि छाडिदिने गर्दै आएका थिए ।