Published On:Friday, February 13, 2015
Posted by Tekman Shakya
जङ्गली महोत्सवमा राउटेको टोली प्रदर्शनीमा
१ फागुन पोखरा । स्थानीय शान्ति वनवाटिकामा जङ्गली महोत्सव सुरु भएको छ । जङ्गल, जनावर र मानवको सामीप्यता बढाउने उद्देश्यले आयोजित महोत्सव फागुन ७ गतेसम्म चल्नेछ ।
जङ्गली गतिविधिलाई समेटेर परिचय नेपालले आयोजना गरेको उक्त महोत्सवको एक राउटे जातिका मानिसले बिरुवा रोपेर महोत्सवको उद्घाटन गरेका थिए ।
महोत्सवमा सहभागी दर्शकलाई जङ्गली अनुभव जानकारी गराउने लक्ष्य राखिएको सो महोत्सवमा राउटे जातिको जीवनशैली देखाउनका लागि आयोजकले अछाम जिल्लाबाट राउटेको एक टोलीलाई पोखरामा ल्याएको छ ।
जङ्गलमा बस्दै आएका राउटे जातिको रहनसहन, जीवनशैली र उनीहरूकै शैलीमा बनेका घर पनि दर्शकका लागि थप आकर्षण बन्नेछन् । शान्ति वनवाटिकाको जङ्गलभित्र दर्शकले प्रत्यक्ष रूपमा अस्ट्रिच, मुसा, खरायो, भेडा, चाँैरी, बाँदर र १८ प्रजातिका चरा देख्न पाउनेछन् ।
त्यस्तै जङ्गली जनावर, जङ्गलमा बस्दै आएका जनजातिको सांस्कृतिक प्रस्तुति, गीतसङ्गीत र जङ्गलमै बसेर खानपिन गर्ने वातावरण पनि बनाइएको परिचय नेपालका अध्यक्ष शोभित बस्यालले जानकारी दिए । रासस