Published On:Sunday, February 15, 2015
Posted by Tekman Shakya

स्वीस बैंकको रकममा खातावालले अनुमति लिएको छैनः राष्ट्र बैंक


३ फागुन, काठमाडौं । सरकारले स्वीस बैंकमा नाम नखुलेका आठजना नेपालीका १२ वटा खातामा साढे पाँच अर्ब रुपैयाँ रहेको साढे पाँच अर्ब रुपैयाँ कालोधन भए नभएको निक्र्योल गर्न अनुसन्धान सुरु गरेको छ ।
खोजी पत्रकारिता गर्ने अन्तर्राष्ट्रिय संस्था ‘द इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिजम्’ ले हालै सार्वजनिक गरेको विवरणमा नेपालीले पनि गोप्य रूपमा उक्त रकम जम्मा गरेको खुलासा भएपछि सरकारले अनुसन्धान थालेको हो ।

व्यवस्थापिका–संसद्अन्तर्गतको अर्थ समितिको आजको बैठकमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र परराष्ट्र मन्त्रालयका साथै सम्बद्ध अन्य सरकारी निकायबाट एचएसबिसी बैंकको जेनेभास्थित शाखामा रहेका नेपाली खातावालाको विवरण सङ्कलन प्रारम्भ गरिएको स्पष्ट गरेको हो ।

“जेनेभा संयुक्त राष्ट्रसङ्घका साथै अन्य अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनको केन्द्र हो, त्यहाँ १२ जना नेपाली र तीमध्ये चारजनाका श्रीमान् श्रीमतीसमेत १६ जना कार्यरत रहेकाले एचएसबिसीको शाखामा रहेको रु साढे पाँच अर्ब स्वीस अर्थतन्त्रका निम्ति सामान्य विषय हो”, विदेशमा रहेको कालोधनमा अनुसन्धान गर्न गठन भएको विभागका महानिर्देशक केबलप्रसाद भण्डारीेले बताए ।

युनाइटेड बैंक अफ स्विट्जरल्यान्ड, क्रेडिट स्वीस बैंकलगायत ३ सय १२ वटा बैंक तथा तिनका ३३४८ शाखा र १२ वटा निजी क्षेत्रका बैंक रहेको स्विट्जरल्यान्डमा वैधानिक ढङ्गले व्यक्तिगत, बचत र लगानी गरी तीनथरिका खाता साङ्केतिक रूपमा ‘कोड’ लिएर सञ्चालन गर्न सकिने प्रावधान भएकाले गैरकानुनी काम नेपालीबाट हुन नदिन सरकारीस्तरमा नै कूटनीतिक प्रयास थालिएको उनले बताए ।

सन् २०१७ सम्ममा पारस्परिक कानुनी सहायतासम्बन्धी द्विपक्षीय सन्धि÷सहमतिको अभावमा सम्बन्धित देशबाट अनियमित रूपमा राखिएको निक्षेप स्वदेश फिर्ता गर्न कठिनाइ हुने भएकाले कानुन र परराष्ट्र मन्त्रालयसँगको समन्वयमा तहकिकात थालिएकाले त्यसमा सघाउन संसद् तथा संसदीय समितिले शीघ्र कानुन बनाउनुपर्ने आवश्यकता रहेको उनले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले विदेशी मुद्रा कारोबार, नियमन, विदेशी मुद्रा विनिमय ऐन, विदेशमा लगानी निषेधलगायत चारवटा कानुनले निर्दिष्ट गरेबमोजिम नाम उल्लेख नभएका भनिएका एचएसबिसीका ग्राहकले केन्द्रीय बैंकसँग त्यहाँ खाता सञ्चालनको अनुमति नलिएको बताए ।

नेपालका दुईवटा वाणिज्य बैंकमा व्यवसायी अजेयराज सुमार्गीको नाममा ब्रिटिस भर्जिन आइल्यान्डबाट भित्रिएको रु तीन अर्ब ५० करोडको प्रयोजन खुलाउन नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंक एवम् व्यक्तिलाई निर्देशन दिएको जानकारी दिए ।

0 comments for "स्वीस बैंकको रकममा खातावालले अनुमति लिएको छैनः राष्ट्र बैंक"

Leave a reply

    Popular Posts

    Blog Archive