Published On:Tuesday, March 10, 2015
Posted by Unknown
साझा बसकी रेबिका
अर्जुन श्रेष्ठको फेसबुकबाट
साझा बसको ‘स्टेयरिङ्ग’ समाए पछि रेबिका थापाले नानाथरी प्रतिक्रिया सुन्दै आएकी छन् । ‘ए साझा बस हाक्ने केटी पो’ यो भनाई चाहिँ उनले पटक पटक सुनेकी छन् । अगाडिको ढोका खुल्ला भएको बेला केही यात्रु अघिबाटै पनि साझा बस चढ्छन् । नजिकै स्टेयरिङमा रेबिका थापालाई देख्नासाथ खासखुस गर्छन । धेरै चाहिँ ‘ट्वाल्ल’ परेरै हेर्छन् । ‘बा ! केटी मान्छेले यति ठूलो गाडी कसरी चलाउन सकेको होला ?’ मन थाम्न नसक्नेहरू उनले सुन्नेगरी भन्छन्, ‘महिलाले ठूलो गाडी चलाएको पहिलो पटक देखेँ । तपाईको एउटा फोटो खिच्छु है ?’ लगनखेल–गोगंबु रुटको साझा बसमा यात्रा गर्ने धेरैले मोबाइलबाट उनको तस्बिर खिचेका छन् ।
रेबिका शालिन मात्रै होइन, सुन्दर पनि छन् । ओर्लने धेरै यात्रु उनलाई बधाई र धन्यवाद दिन भुल्दैनन् । ‘राम्रोसंग ल्याउनु भयो धन्यवाद ।’ यस्तो भनाई सुन्दा उनलाई खुशी लाग्छ । साझा बसमा जो पनि चड्दछ....। त्यसैले साझा बसकी यी चालकलाई यात्रामा निरुत्साहित गर्नेको पनि कमी छैन् ।
रेबिकाले केहि समय अगाडिको एउटा घटना सुनाइन् । ‘टिचिङ अस्पत्ताल अगाडी साझा रोक्ने ठाउँमा यात्रु चढ्न हात दिँदै थिए । हाम्रो स्टपमा एउटा सेन्ट्रो कार रोकिएको थियो । साझा ठूलो भएकोले रोक्न र घुमाउन धेरै ठाउँ चाहिन्छ । गाडी हटाउनको लागि हर्न बजाएँ । केहि समयपछि सेन्ट्रो कारका मालिक आए । अनि मुख छाड्दै भने ‘आईमाईको बुद्धि त हो ।’ मेरो मन सारै दुख्यो । मलाई लैनचौर आउँदासम्म त्यो शब्दले घोचिरह्यो । सोचेँ उ पनि त कुनै आईमाईकै खुन हो । पढे लेखेको जस्तो छ । फेरि आफैँ चित्त बुझाए, टाई सुट लगाएर गाडी चढेर के गर्नु ? एक चिम्टी बुद्धि छैन । लागेँ आफनो बाटो ।
ठूला सवारी साधनको चालक अनुमती पत्र लिदाँ पनि रेबिकालाई महसुस हुनेगरी सोधपुछ गरियो । लाइसेन्स लिने ठाउँमा एक जना इन्सपेक्टरले सोधे ‘कारको लाइसेन्स थप्न आउनु भएको हो ?’ रेबिकाले भनिन् ‘होइन, हेवीको थप्ने ।’ केहि समयपछि फेरी आएर उनले सोधे ‘हेवी कै हो त !’ ट्रायल दिनु अघि स्पोर्टस् जुत्ता लगाउँदै गर्दा छेउमा उभिएका अर्का प्रहरीले उनलाई गिज्याए ‘दुई जोर जुत्ता बोकेर त आउनु भो, पास हुने, हो-होइन ?’ उनले एकै पटकमा ट्रायल पास गरिन् । रेबिकाका बिचारमा ‘समाजमा सक्ने महिलालाई पनि नसक्ने बनाउन मान्छे धेरै सिपालु हुन्छन् ।’ उनी अहिले महिनामा १५ देखि १८ दिन साझा चलाउँछिन् । फूर्सत मिल्दा कहिले काँही एउटा विदेशी संस्थाको कार हाँक्छिन् ।
रेबिकाले सडक परिक्षा पास गरेर साझा बसको स्टेयरिङ समातेको दुइवर्ष भयो । साझा बसको कार्यालयमा फारम बोकेर पुगेकी रेबिकासँग व्यवस्थापनले प्रतिवद्धता खोज्यो । ‘तपाई चलाउन सक्छु भन्नुस्, हामी नाई भन्दैनौं ।’ त्यसपछि कलंकीदेखि माइती घरसम्मको सडकमा उनको परिक्षा लिइयो । परिक्षा लिनेहरू उनले चलाएको साझा र नीजि कारमा बसेर नियालिरहेका थिए । उकालोमा यात्रु चढाउँदा गाडी बगाउँछ कि बगाउँदैन भनेर उनीहरू ध्यान दिइरहेका थिए । रेविका भन्छिन् ‘पुरुषलाई एकै पटकमा विश्वास गरिन्छ । ऊसँग हेवीको लाइसेन्स भएपुग्छ । गाडी चलाउन सकोस् वा कतै लगेर जोतोस् ।’ ‘मलाई थाहा छैन्, हेवीको लाइसेन्स भएका पुरुषलाई सञ्चालक समितिका सदस्यहरू आफै बसेर परिक्षा लिन्छन् वा लिदैनन् । तर मेरो परिक्षा लिइयो, मैले त्यो पनि पास गरेँ ।’
हँसिलो स्वभावकी रेबिकाको बुझाईमा केही खराब व्यक्तिका कारण चालक पेसा बदनाम हुँदै गएको छ । उनी भन्छिन्, ‘इज्जत अरुले दिने होइन, आफै कमाउनु पर्छ ।’ ‘स्कुल पढाउने शिक्षकको भन्दा हाम्रो तलब धेरै हुन्छ । तर, शिक्षकको सम्मान हुनु र चालकको अपमान हुनुको पछाडी यो काममा प्रयोग हुने तुच्छ व्यवहार, अपमानजनक शब्द र असभ्य भाषा हो ।’ चालक पेसालाई मर्यादित बनाउन चालक र परिचालकले यात्रुलाई गर्ने व्यवहारमा धेरै सुधार ल्याउनु पर्छ भन्ने रेबिकाको बुझाई छ । उनी भन्छिन्, ‘झगडा गर्नुहुन्न, तपाइँ भन्नुपर्छ । उनीहरूकै कारण मेरो पेशा चलेको छ भनेर बुझ्नु पर्छ ।’
यात्रु सबैको चेतना एउटै हुँदैन । गाडीमा छुट्याएको आरक्षण सिटबारे पटक–पटक सम्झाउनुपर्छ । आफूभन्दा अशक्त, बृद्धा र गर्भवती महिला उभिएका हुन्छन् । तर, भद्र देखिने पुरुष सिटमा आरामले बसेर गफ दिइरहेका हुन्छन् ‘नेताले देश विगारे ।’ रेबिकाका विचारमा, ‘ती म्यानर नभएका मान्छे हुन् ।’ ‘परिचालकले ‘त्यो आरक्षित सिट हो’ भन्न नपाउँदै यात्रुको नमिठो जवाफ आउँछ, ‘कोही आए उठ्दिन्छु, हुँदैन ?’ रेबिका भन्छिन्, ‘त्यो बेला म यात्रुलाई सम्झाउँछु ।’ नवलपरासी खैरेनीकी ३५ वर्षीया यी चालकले यहाँसम्म आउँदा पाइला पाइलामा संघर्ष गर्नुपरेको छ । उनको सफलताको पछाडी एउटा डर लाग्दो कथा छ । रेबिका त्यो सुनाउन चाहन्नन् । भन्छिन् ‘निको भएको घाउ कोट्याउनु हुँदैन ।’ उनले अरु दिदी बहिनीलाई सुझाव दिदै भनिन् ‘जीवनमा असफलतामात्रै होइन, सफलता पनि मिल्छ । मात्र आफूले हिम्मत गर्नुपर्छ ।’ ट्राफिक प्रहरीका अनुसार महिलाले चलाउने सवारी साधन एकदमै कम दुर्घटनामा पर्ने गर्छन् । सडक दुर्घटना कम गर्न चालकले अन्यत्र ध्यान नलैजाने, तनावमा गाडी नहाँक्ने, जथाभावी पार्किङ नगर्ने र यात्रुले गन्तव्यमा पुग्न हतार गर्न नहुने रेबिकाको सुझाव छ । दुर्घटना भएको सुन्दा डर लाग्दैन ? उनले भनिन् ‘त्यो बेला सोच्छु, बे्रक मेरो खुट्टामै छ ।’
अरुले लेखेकाे स्टाेरी चाेरेर अर्काकै नाममा छाप्न लाज लाग्दै
अरुले लेखेकाे स्टाेरी चाेरेर अर्काकै नाममा छाप्न लाज लाग्दै
This comment has been removed by the author.