Published On:Sunday, February 1, 2015
Posted by Unknown
मंगल ग्रहमा गएर बच्चा जन्माउन तयार भएकी युवतीको कथा
झ्वाट्ट सुन्दा यो कुनै साइन्स फिक्सन फिल्मको कथाजस्तो लाग्नसक्छ तर एक युवती मंगल ग्रहमा बच्चा जन्माउने ब्रम्हाण्डकै पहिलो मानिस बन्नेछिन् ।
बेलायतको कोभेन्ट्रीस्थित टाइल हिलकी बासिन्दा म्यागी लियु मंगल ग्रहमा स्थायी बसोबास गर्न जाने ४० जना मध्येमा पर्न सकेमा उनले अर्को नयाँ इतिहास पनि लेखाउनेछिन् मंगल ग्रहमा बच्चा जन्माएर ।
मंगल ग्रहमा मानिसको वस्ती बसाल्ने महत्वाकांक्षी परियोजना मार्स वनमा ६ सय जना आवेदकको सर्टलिस्टमा पर्न सफल भएकी म्यागी अन्तिम छनोटमा पर्ने नपर्ने कुरा आउँदो महिना छिनोफानो हुनेछ । मंगलग्रहमा जान चाहने विश्वभरका २ लाख आवेदकमध्येबाट उनी अन्तिम ६ सय जनामा पर्न सफल भएकी हुन् । अन्तिम ४० मा छानिएमा उनले मंगल ग्रहमा जानका लागि यहीँ वर्षबाटै तालिम सुरु गर्नेछिन् ।
आमाहरुलाई सबै सुविधाले सम्पन्न पृथ्वीमा समेत बच्चा जन्माउन र हुर्काउन गाह्रो परिरहेको अवस्थामा उनले भने अनिश्चित परिस्थिति र माइनस ६२ डिग्री सेल्सियस चिसो तापक्रम, निसास्सिने, भोकमरी हुने र जलवियोजनको खतरा हुने मंगल ग्रहमा बच्चा जन्माएर हुर्काउने योजना बनाएकी छिन् ।
आफु मंगल ग्रहमा मानिसको वस्ती वस्तार गर्ने योजनामा प्रतिबद्ध रहेको उनको भनाइ छ । ‘मंगल ग्रहमा मानव समुदाय विस्तारका लागि बच्चा पाउनु आवश्यक हुन्छ र म तर्फबाट त्यो अवश्य हुनेछ’, उनले भनेकी छिन् ।

बर्मिंघम विश्वविद्यालयमा अन्तरीक्ष भौतिक विज्ञान पढिरहेकी म्यागी आफु मंगल ग्रहमा जान पाउने भाग्यमानी मानिसमा छानिनेमा निकै उत्साहित छिन् र छानिएपछि दश वर्षसम्म दिइने तालिम लिन अझै बढि उत्सुक छिन् ।
मार्स वन परियोजनाले मंगल ग्रहमा पठाइने ४० जना मानिस छानेर यो वर्षबाटै तालिम सुरु गर्नेछ । सन् २०२४ देखि मंगल ग्रहमा मानिस पठाउन सुरु गर्ने योजना रहेको छ । हरेक दुइ वर्षमा ४ जनाको समूहलाई मंगल ग्रहमा पठाइनेछ ।
मंगल ग्रहमा पुगेपछि त्यो नै आफ्नो घर हुने हुनाले मानिसहरुले त्यहाँ गएपछि चिकित्सा, कृषि, विद्युत तथा खानेपानी लगायतका प्रविधि सिक्न सुरु गर्ने विश्वास उनको छ । खानेकुरा आफै सिर्जना गर्नु र अक्सिजन समेत सिर्जना गर्नु सबैभन्दा चुनौतिपूर्ण काम हो भन्ने उनलाई लागेको छ ।
मंगल ग्रहमा सूर्यको विकिरण अत्यधिक रहेको हुँदा त्यसले ग्रहको सतहमा असर गर्ने र जमिन मुनि ५ मिटर तल भूमिगत रुपमा बसोबास हुनसक्ने उनको अनुमान छ ।
कहिल्यै नफर्किने मंगल यात्रामा निस्केपछि जिवनको कुनै टुंगो नहुने र घरपरिवार तथा साथीभाइबाट सधैका लागि टाढिने भएपनि त्यो अनिश्चित यात्राप्रतिको उनको रुची घटेको छैन ।
तत्कालका लागि पृथ्वीमा भएका मानिसहरुसँग संचार सम्पर्क गर्नु सबैभन्दा चुनौतिपूर्ण कुरा रहेको भएपनि ३ देखि २२ मिनेटसम्ममा विद्युतिय सन्देश पठाउन सकिने प्रविधि विकाश गर्न सकिने विश्वास उनको छ ।
६ अर्ब डलर खर्चेर मंगल ग्रहको एकतर्फी यात्राका लागि तयार भएकी म्यागीको आशा भविष्यमा पृथ्वीमा फर्किन सकिने छ । मंगल ग्रहबाट पृथ्वीमा फर्किन सक्ने प्रविधि कुनै दिन विकाश हुनसक्ने र पृथ्वी र मंगलबीच मानिसहरुको आवतजावत हुनसक्ने कल्पना उनको छ ।