Published On:Thursday, January 1, 2015
Posted by Unknown
महिला चढ्ने छुट्टै बस सञ्चालन हुने
१८ पुस, काठमाडौं । सार्वजनिक बसमा पुरुषसँगै यात्रा गर्दा महिलामाथि दुव्र्यवहार भएको समाचार सार्वजनिक भइरहेका बेला उनीहरुका लागि अब छुट्टै बस सेवा सञ्चालन हुने भएको छ । यही पुस २० गतेदेखि बागमती यातायात व्यवसायी संघले महिलाका लागिमात्र बस सञ्चालन गर्ने भएको हो ।

संघले काठमाडौंको कलंकीदेखि भक्तपुरको बालकोट चल्ने आफ्ना गाडी मध्ये चारवटा महिलाका लागि मात्रै चलाउने निर्णय गरेको अन्नपूर्ण पोस्टमा खबर छ । अहिले १४ किलोमिटर लामो यो रुटमा संघका १७ सिटका ४० वटा बस चल्छन् ।
संघका अध्यक्ष भरत नेपालका अनुसार महिलाका लागिमात्र चलाइने बसका चालक हाललाई पुरुष भए पनि सहचालक केही महिला रहनेछन् । उपत्यकामा चल्ने सार्वजनिक यातायातका साधनमा पछिल्लो समयमा आएर महिलाका लागि केही सिट छुट्याइए पनि त्यो प्रभावकारी र पयाप्त छैन् । कोचाकोच बसमा पुरुषसँगै यात्रा गर्नुपर्दा महिलाले दुव्र्यवहार र कठिनाइ भोगनु परेको छ ।
यिनै समस्याबाट महिलालाई राहत दिलाउन उनीहरुका लागि मात्र बस चलाउन लागिएको नेपालले प्रष्ट पारे । राज्यले मात्र नभई व्यवसायीले पनि दायित्वबोध गर्दै राम्रा कामको सुरुआत गर्नुपर्छ भन्ने मान्यताका साथ संघले महिलाका लागिमात्र बस सेवा सञ्चालन गर्न लागेको उनले बताए । आफूजस्तै अन्य बस व्यवसायीले पनि महिलाका लागि छुट्टै बस सञ्चालन गरिदिए समस्या समाधान हुने उनले बताए ।
अनलाइन खबरबाट