Published On:Friday, January 16, 2015
Posted by Unknown
मिल्नेजति विषयमा सहमति गर्न एमाओवादीको प्रस्ताव

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार दिउँसो संविधानसभा भवनमा प्रमुख दलका शीर्ष नेताको बैठकमा हतारमा प्रक्रियामा गएर सहमतिको ढोका बन्द गर्नुभन्दा सहमति गर्न सकिने विषयमा छलफल गर्न आग्रह गरेका थिए । 'जति विषयमा सहमति गर्न सकिन्छ, ती विषयमा सहमति गरेर जाऔं,' दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'सहमति हुन नसकेका विषयमा जनतालाई जानकारी दिऔं र जनतासँग माफी पनि मागौं । त्यसो गर्दा सहमतिमा पुग्न सकिन्छ ।'
एमाओवादीसहितका विपक्षी दलले कांग्रेस, एमालेको बहुमतीय प्रक्रियाबाट संविधान निर्माण गर्ने प्रक्रिया रोक्न संविधानसभा र सडकमा दबाब सिर्जना गरिरहेका बेला दाहालबाट यस्तो प्रस्ताव आएको हो । यो प्रस्तावबारे प्रधानमन्त्री सुशील कोइरालाले छलफल गर्न सकिने आश्वासन दिएका छन् । कांग्रेस र एमालेले संविधानसभामा प्रक्रिया सुरु भए पनि सहमतिका लागि आफूहरू खुला रहेको बताइरहेकै बेला एमाओवादीले अझै समझदारी प्रयास गर्न जोड दिएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।