Published On:Friday, May 1, 2015
Posted by Tekman Shakya

पीडितले राहत बाटोबाटै खोस्न थाले

असुरक्षाले सचिव गाउँ पुग्न पाएनन् 

चरिकोट (दोलखा), १८ वैशाख । सदरमुकामबाट बीस त्रिपाल लिएर गएका झुले गाविस सचिव सुनिल बस्नेत पीडितबाट बाटामै खोसेका छन् । वडा नं ८ का भूकम्पपीडितले त्रिपाल खोसेर लगेपछि गाविस सचिव बस्नेत आज सदरमुकाम चरिकोट फर्कनुभएको छ । “थोरै राहत लिएर गाउँमा जानु खतरापूर्ण छ” सचिव बस्नेतले भन्नुभयो । 

पीडितको सङ्ख्यालाई ध्यानमा राखेर राहत सामग्री लिएर जानुपर्ने अवस्था देखिएको उहाँले बताउनुभयो । यस्तै पीडितलाई त्रिपाल बाँड्न लापिलाङ गाविस पुग्नुभएका सचिव सुग्यान भण्डारी राहत उपलब्ध नगराइकनै चरिकोट फर्कनुभएको छ । वडा–९का लागि ३० त्रिपाल लिएर जानुभएका उहाँलाई पीडितले राहत नलिने भन्दै फर्काइदिएका छन् । “एउटा वडाका वासिन्दाले तीन वटा मात्रै त्रिपाल पाउने स्थिति छ, कसलाई दिने कसलाई नदिने ?” सचिव भण्डारीले भन्नुभयो । 

बोच गाविस सचिव रामु पौडेल पनि राहत बाँड्न नसकेर सदरमुकाम फर्किनुभएको छ । “पीडितलाई पुग्ने गरी राहत नलैजाँदासम्म गाउँ पस्ने स्थिति छैन”, उहाँले भन्नुभयो । पुग्दो राहत सामग्री लिएर गाउँ जान थालेका सचिव असुरक्षित बनेका छन् । यसैगरी दुर्गम गाविस गौरीशङ्करका सचिव शिव खड्का त्रिपाल नलिइकनै पीडितलाई रकम हस्तान्तरण गर्न हेलिकप्टरमा गाउँसम्म त पुग्नुभयो तर पीडितले त्रिपाल नलिई आएको भन्दै रकम लिन अस्वीकार गरे । 

राहतस्वरुप उपलब्ध गराउने भनिएको रकम असुरक्षाका कारण बाँड्न नसकेको सचिव खड्काले बताउनुभयो । “असुरक्षा कारण रकम बाँड्न सकिएको छैन”, उहाँले भन्नुभयो । राहत सामग्री सँगसँगै सुरक्षाकर्मीसमेत पठाउन सचिव खड्काले स्थानीय प्रशासनसित माग गर्नुभएको छ । 

जिल्लाभरिका भूकम्पपीडितका लागि तीन सय क्विन्टल चामल र एक हजार पाँच सय थान त्रिपाल उपलब्ध भएको प्रजिअ प्रेमलाल लामिछानेले बताउनुभयो । “अपुग भएकाले खाद्यान्न र त्रिपाल पीडितलाई बाँड्न सकिरहेका छैनौँ”, उहाँले भन्नुभयो । रासस

0 comments for "पीडितले राहत बाटोबाटै खोस्न थाले"

Leave a reply

    Popular Posts

    Blog Archive