Published On:Wednesday, May 27, 2015
Posted by dadad

मोरङ काँग्रेस धादिङको बाहुनटार सुनारबस्तीमा टहरा निर्माणमा पसिना बगाउँदै

(सूर्यचन्द्र बस्नेत) 
बेनीघाट (धादिङ), १३ जेठ । सधैँ झैँ तल बूढीगण्डकी बगिरहेको थियो । नदीपारिको गोर्खा माझीटार तथा बारि बाहुनटार गाउँ बस्तीमा मानिस खेतीपाती, तरकारी र वस्तु हेर्ने काममा व्यस्त थिए । 

वैशाख १२ को मध्याह्नतिरको त्यो समय घर्कदै थियो अचानक आएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पले लालबहादुर सुनारको ढुङ्गा, माटोले बनेको घर भत्काइदियो । 

तल बूढीगण्डकी माथिभिर नजिकको बस्तीमा उभिएको उनको घर भूकम्पले ढलायो । “वर्षा आइसकेको छ कहाँ बस्ने भन्ने चिन्ता थियो, मोरङदेखि आएका मनकारी मानिसको सहयोगले वर्षामा ओत लाग्ने ठाउँ पाइने भो,” लालबहादुरले भन्नुभयो । 

मङ्गलबार उहाँ भत्केको घरका फोहर हटाएर खाँबो गाड्न जमिन खन्दै हुुनुहन्थ्यो । सुनारलाई सघाउँदै हुनुहुन्थ्यो नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल । पार्टीको जनश्रमदान अभियानअन्तर्गत मोरङबाट आएका काँग्रेसका ५१ कार्यकर्तासँग सहभागी भएर लालबहादुर सुनारलाई खाल्डो खन्नमा सघाउँदै हुनुहुन्थ्यो । 

“स्थानीय स्रोत साधनको परिचालन गरेर सङ्कटमा परेका जनताको घरटहरा बनाउनुपर्छ, माटोमा हात चोबलेर नवनिर्माणको नवीन युग थाल्नुपर्छ सुकिलामुकिला संस्कृतिको अन्त गरी समाजवादी संस्कृतिको विकास गर्नुपछ,” उपसभापति पौडेल भन्दै हुनुहुन्थ्यो । 

बेनीघाट गाविसको यो बाहुनटार गाउँका ६७ मध्ये आधा दर्जन घर मात्र भूकम्पबाट बचेका छन् । अरु सबै चर्के भत्केर बस्न नहुने भए । गाउँको नाम बाहुनटार भए पनि यहाँ अधिकांश सुनार जातिको बसोवास रहेको छ । 

खाद्यान्नका अलावा तरकारीखेती यो बस्तीमा निकै हुन्छ । तथापि, भूकम्पले बेच्न नपाउँदा बारीमा तरकारी त्यसै फाल्नु परेको स्थानीयवासी ठाकुर सुनारले गुनासो गर्नुभयो । ‘‘भूकम्पले घर मात्रै लगेन, आम्दानीको अवसर पनि खोसिदियो’’ उहाँले भन्नुभयो । 

नेपाली काँग्रेस पार्टीले जन श्रमदान अभियानअन्तर्गत भूकम्पपीडित जनतालाई सघाउन आह्वान गरको थियो । आह्वानअनुरुप मोरङबाट आएका नेपाली काँग्रेस, नेवि सङ्घ, तरुण दल, महिला सङ्घसहितका पार्टीका भ्रातृ एवम् शुभेच्छुक संस्थाका नेता कार्यकर्ता यहाँका ६० बढी टहरा बनाउन तीन दिनदेखि व्यस्त छन् । 

सो टोलीमा नेता कार्यकर्ताको अलावा प्राविधिक, चिकित्सक र सिकर्मीसहितका सहयोगी छन् । पाल बनाएर सामूहिक भोजन र बसोबासको बन्दोवस्त उनीहरु आफँैले गरेका छन् । पार्टीले खासगरी तराईबाट पहाडका बढी भूकम्पप्रभावित जिल्लामा आफ्नो स्रोत साधन र व्यवस्थापनमा पुगेर श्रमदान गर्न आह्वान गरेअनुरुप श्रमदान गर्ने टोली ती जिल्लामा पुगेको जनाएको छ । 

“आउनासाथ काममा जुटिहाल्यौँ, आधा दर्जन बनाइसक्यौँ ६० टहरा बनाउने लक्ष्य छ,” मोरङ तरुण दलका सचिव सञ्जय घिमिरले भन्नुभयो । केन्द्रीय सदस्य गुरु घिमिरेले विपद् कम परेको ठाउँबाट बढी सङ्कट भोगेका जनताको घरदैलोमा पुगेर घर निर्माणजस्तो काममा सहयोग गर्न पाउँदा आत्मगौरव र आत्मसन्तोष लागेको बताउनुभयो । 

“नसोचेको विपत्तिले जनता अकल्पनीय धनजनको क्षति भोग्नुप¥यो, यस्तो श्रमदानको अभियानले विपद्मा सहयोग गर्ने संस्कृतिको पनि सुरुवात भएको छ,” नेता घिमिरेले भन्नुभयो । महिला सङ्घकी केन्द्रीय अध्यक्ष डा डीला सङ्ग्रौलाले पनि जनताले भोगेको समस्यामा होस्टेमा हैँसे गर्न श्रमदानको महत्व रहेको बताउनुभयो । शिविर सात दिनसम्म चल्ने जनाइएको छ । 

चर्को घामको प्रवाह नगरी मोरङ काँग्रेसका नेता कार्यकर्ता कोही चर्केका जोखिमूर्ण घर भत्काउन तल्लिन थिए भने कोही पाल टाँग्न । कोही काठका खाँबा गाड्न, बास र टिन मिलाएर अस्थायी घर बनाउन । अघिल्लो साँझ आएको हावाहुरीले निर्माण कार्यमा र बसोबासलाई केही अप्ठ्यारो पारेको थियो । 

“पार्टीको आह्वानअनुरुप पीडित जनताको घाउमा मल्हम लगाउन सहयोगमा जुटेका छौँ, शीर्ष नेताको उपस्थितिले काम गर्ने हौसला मिलेको छ,” मोरङ काँग्रेसका कृष्ण कार्कीले भन्नुभयो । 

तनहँुँबाट आएनुभएका नेवि सङ्घका नेता आनन्द त्रिपाठीले जनता यति धेरै दुःखमा पर्दा जनताको हक अधिकार र सुविधाको लागि लड्ने पार्टीहरु हात बाँधेर बस्न नहुने बताउनुभयो । “ त्यही भएर अरु काम छोडेर भए पनि पार्टीको श्रमदान अभियानमा सहभागी भएको छु,” त्रिपाठीले भन्नुभयो । 

उपसभापति पौडेलले बाहुनटारमा पार्टीका नेता कार्यकर्ताले घामपानी दिनरात नभनी काम गरिरहेकामा उनीहरुको प्रशंसा गर्नुभयो । “यसले काँग्रेस किसानको पार्टी हो र जनताको साथी हो भन्ने प्रमाणित भएको छ, अझै ग्रामीण बस्तीका पीडित जनताको सहयोगमा जुट्नु छ,” उपसभापति पौडेलले भन्नुभयो । 

सो अवसरमा स्थानीय जनता र पार्टीका नेता कार्यकर्ताले जनताले घोषणा गरेको नगद एवम् राहतका सामग्री सहज ढङ्गले पाउन नसकेको गुनासो गरेका थिए । “सरकारले दिने भनेको जस्तापाता पाउन नसक्दा अस्थायी टहरा निर्माणमा अप्ठ्यारो भयो, अरु राहतका सामग्री पनि सहज ढङ्गले पाउनुप¥यो,” नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारीले भन्नुभयो । रासस 

0 comments for "मोरङ काँग्रेस धादिङको बाहुनटार सुनारबस्तीमा टहरा निर्माणमा पसिना बगाउँदै"

Leave a reply

    Popular Posts

    Blog Archive