Published On:Sunday, May 31, 2015
Posted by dadad

स्वयम्सेवाको उच्च मूल्याङ्कन हुनेछ–अध्यक्ष ओली

काठमाडौँ, १७ जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितलाई सघाउन गरिएको स्वयम्सेवाको राज्य, समाज, आमजनता र पार्टीबाट उच्च मूल्याङ्कन हुने बताउनुभएको छ ।

‘नेपाली योजना ः अन्तर्राष्ट्रिय साथ, राज्यको नेतृत्व, हरेक नेपालीको हात’ भन्ने मूल नाराका साथ (एमाले)द्वारा सुरु गरिएको राष्ट्रिय स्वयम्सेवक परिचालन अभियान दोस्रो हप्तामा प्रवेश सन्दर्भमा आज विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले अभियानमार्फत् पीडितलाई सङ्कटको घडीमा ‘तपाईंहरु एक्लै हुनुहुन्न’ भन्ने सन्देश प्रवाह गर्न खोजिएको उल्लेख गर्नुभएको छ ।

“अभियानबाट भग्नावशेषबाट पनि नयाँ निर्माण गर्न सक्छौँ भन्ने आत्मविश्वास जगाउन चाहन्छौँ । सङ्कटको घडीमा एक–अर्कालाई सहयोग गर्ने नेपाली चरित्रलाई सुदृढ गर्न र आफ्नै खुट्टामा उभिएर, आफ्नै साधन–स्रोत र श्रमबाट राष्ट्रको पुनःनिर्माण सम्भव छ भन्ने राष्ट्रिय भाव निर्माण गर्न चाहन्छौँ ।”

भूकम्पपीडितलाई सघाउन गाउँ–गाउँमा खटिएका दश हजार स्वयम्सेवकद्वारा पहिलो हप्तामै एक हजारभन्दा बढी अस्थायी आवास बनाइएको एमालेले जनाएको छ ।

अध्यक्ष ओलीले वर्षायाम सुरु हुनु अगावै प्रत्येक भूकम्पपीडित नागरिक सुरक्षित अस्थायी आवासभित्र पुग्न सक्नुहोस् र हरेक नानीहरुले विद्यालय जाने वातावरण पाउन सकुन् भन्ने हिसाबले थप सक्रियता, कुशलता र सजगताका साथ काममा लाग्न स्वयंसेवकलाई आह्वान गर्नुभयो ।

0 comments for "स्वयम्सेवाको उच्च मूल्याङ्कन हुनेछ–अध्यक्ष ओली"

Leave a reply

    Popular Posts

    Blog Archive