Published On:Sunday, May 31, 2015
Posted by dadad

टहरा बनाउने ठाउँ नै छैन

 
१८ जेठ, काठमाण्डौ । भूकम्पका कारण बन्द भएका राजधानीका अधिकांश विद्यालय आइतबार सञ्चालनमा आए पनि भूकम्पका कारण क्षतिग्रस्त केही सामुदायिक विद्यालयले भने अझै अस्थायी टहरा बनाउने स्थान खोज्न सकेका छैनन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।

टहरा बनाउने स्थानसमेत खोज्न नसक्दा ती स्कुलको पढाइ अनिश्चित बनेको छ। मुलुककै पुरानो र ऐतिहासिक रानीपोखरीको भानु माध्यमिक (दरबार स्कुल) र संस्कृत माविमा अझै पनि पर्याप्त अस्थायी टहरा बनेका छैनन्।

दुई स्कुलका छुट्टाछुट्टै व्यवस्थापन समिति भए पनि एकै भवनबाट पढाइ सञ्चालन हुने भएकाले सबै विद्यार्थीलाई अस्थायी टहरा पुगेका छैनन्। दुवै स्कुल भवन भूकम्पका कारण क्षतिग्रस्त छन्। स्कुलअगाडि पर्याप्त चौर नभएकाले टहरा बनाउन समस्या भएको स्कुलले जनाएको छ।
भानु माविका प्राचार्य हेमचन्द्र महतोले भने, 'विद्यालय सञ्चालनका लागि पाँचवटा अस्थायी टहरा चाहिन्छ। आइतबारसम्ममा दुईवटा मात्र बनाएका छौं।' संस्कृत माविका सहायक प्रधानाध्यापक शिव अधिकारीले भने, 'अस्थायी टहरा निर्माणका लागि स्थान नपुगेको विषयमा जिल्ला शिक्षा कार्यालयमा जानकारी गराउँदा माथिल्लो निकायमा छलफल भइरहेको भन्ने जबाफमात्र आउँछ। अन्य स्कुलमा पढाइ सुरु हुन लागिसक्यो। हामी भने टहराको समस्यामा रुमल्लिरहेका छौं।'

टहरा बनाउन ठाउँ नभएका राजधानीकै अरुणोदय निमावि, यट्खाको श्रीकन्या मावि र वसन्तपुरको नवआदर्श माविलाई तत्कालका लागि मरुहिटीमा रहेको शान्तिनिकुञ्ज स्कुलमा सारिएको छ।

0 comments for "टहरा बनाउने ठाउँ नै छैन"

Leave a reply

    Popular Posts

    Blog Archive