Published On:Friday, May 22, 2015
Posted by my storry

पहाड भत्किएर सुख्खा पहिरो

बाबियाचौर (म्याग्दी), ८ जेठ । 
गत वैशाख १२ गतेको भूकम्प र पटक–पटकको पराकम्पनका कारण चर्किएको पहाड भत्किएर म्याग्दीको भगवती गाविस–२ बैसरीमा शुक्रबार बिहान सुख्खा पहिरो गएको छ । कालीगण्डकी नदी पारी रहेको राम्चे गाविस–९ मा पर्ने काफलडाँडाको भिरबाट खसेको पहिरोले नदीवारि रहेको बैसरीका पाँचवटा घर भत्काएको छ । बिहान ४ः३० बजे खसेको पहिरोका कारण बैसरी र राम्चे–९ का २५ घरपरिवार प्रभावित बनेको घटनास्थल पुग्नुभएका प्रहरी नायब उपरीक्षक हीरा गिरीले बताउनुभयो । 
बैसरीका प्रेमबहादुर पुनको दुईवटा घर भत्किएको छ । खड्गबहादुर पाइजा, सोमबहादुर गुरुङ, राजन केसी र लालबहादुर खोरजाको घरमा पहिरोले क्षति गरेर बस्न नसकिने बनाएपछि विस्थापित भएका छन् । सुख्खा पहिरोको धुलोले बैसरी गाउँको ५०० मिटर वरपर धुलाम्मे बनेको छ । स्थानीयका अनुसार भूकम्पका कारण चर्किएको पहाडबाट बिहीबार दिउँसोदेखि पहिरो खस्न थालेको थियो ।
पहिरो खस्न थालेपछि स्थानीयले बिहीबार साँझै घर छाडेकाले मानवीय क्षति हुन पाएन । चर्किएको पहाड अझै रहेकाले थप पहिरो खस्ने जोखिम रहेको बैसरीका बासिन्दा कृष्ण पाइजाले बताउनुभयो । बैसरी गाउँभन्दा ५०० मिटरभन्दा माथिको अक्करे भिरको चट्टानी पहाड भत्किएर पहिरो खसेको हो । 
पहिरोले मुहान र पाइपलाइन पुरेकाले बैसरीमा खानेपानी आपूर्ति पनि बन्द भएको छ । बेनी जोमसोम सडकअन्तर्गत पर्ने बैसरीको पुरै बस्ती पहिरोको जोखिममा परेपछि स्थानीय विस्थापित हुने अवस्थामा पुगेका छन् ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, प्रहरी नायब उपरीक्षक हीरा गिरी, भू–संरक्षण अधिकृत दिवाकर पौडेलसहितको टोली पहिरो खसेको ठाउँ काफलडाँडा भिरको स्थलगत अनुगमनमा जानुभएको छ । रासस 

0 comments for "पहाड भत्किएर सुख्खा पहिरो"

Leave a reply

    Popular Posts

    Blog Archive