Published On:Saturday, May 23, 2015
Posted by Tekman Shakya
कालीगण्डकी थुनियो, पर्वत उच्च जोखिममा
बााबियाचौर(म्याग्दी), १० जेठ । भगवती र राम्चे गाविसको सिमानामा पर्ने बैसरीमा कालीगण्डकी नदी थुनिएको छ ।
आज बिहान १ बजे राम्चे गाविस–९ मा पर्ने काफलडाँडाको भिरको पहाडबाट खसेको पहिराले कालीगण्डकी थुनेको हो । करिब एक हजार ५०० मि माथिबाट पहाड भत्किएर खसेको पहिराले कालीगण्डकीलाई थुनेपछि तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् ।
नदी थुनिएर ठूलो तलाउ बनेको र पानीको प्रवाह पूरै रोकिएको घटनास्थलमा पुग्नुभएका प्रहरी निरीक्षक विमलकुमार उपाध्यायले बताउनुभयो ।
अँध्यारो भएकाले पानीको सतह कति बढेको छ भन्ने अनुमान गर्न सकिने अवस्था छैन । पहिरो नियमित खसिरहेको छ । बैसरीमाथिका बस्तीमा डुबान र तलको तटीय क्षेत्रमा बाढीको खतरा रहेकाले सुरक्षा निकायले सतर्कता अपनाउन तथा सुरक्षाको उपाय अपनाउन सूचना जारी गरेका छन् ।
बैसरीमाथिका वेगखोला, तिप्ल्याङ, महभिर, भिरकाटे, पोखरेबगर, भुरुङ तातोपानी, दानालगायत ठाउँमा डुबानको खतरा रहेको छ ।
यसैगरी गलेश्वर, म्याग्दी बेनी, पर्वत बगर, पर्वत बेनीलगायत बागलुङ, पर्वत, स्याङ्जालगायत कालीगण्डकीको तटीय क्षेत्रमा पर्ने बस्ती जोखिममा रहेका छन् । सो स्थानमा शुक्रबारदेखि पहिरो खस्न थालेपछि बैसरी र राम्चे औलका २६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिइसकेको छ । बेनी र आसपासका बासिन्दा रातिदेखि नै सुरक्षित स्थानतर्फ लागेका छन् । हालसम्म मानवीय क्षति भने भएको छैन ।
नेपाली सेना र प्रहरीले पनि नदी किनारका घरका बासिन्दालाई सुरक्षित ठाउँमा जान अनुरोध गरेका छन् । गत वैशाख १२ गतेको भूकम्प र त्यसयताका पराकम्पनका कारण चर्किएको पहाड भत्किएर पहिरो खसेको हो ।
कालीगण्डकीबाट पर्वत उच्च जोखिममा

त्यस्तै म्याग्दीको पुर्तिघाटबजार र कालीगण्डकीको बाँधस्थल स्याङ्जाको मिर्मी पनि उच्च जोखिममा छन् । जिल्ला प्रहरी कार्यालय पर्वतले माइकिङ गर्दै नदी किनाराबाट ५०० मिटर माथि जान आग्रह स्थानीय बासिन्दालाई आग्रह गरिरहेको छ ।
ती स्थलका बासिन्दा तटीय क्षेत्रबाट घर छाडेर सुरक्षित स्थानतर्फ लागिसकेको पर्वतका प्रजिअ ऋषिराम तिवारीले जानकारी दिनुभयो । रासस