Published On:Wednesday, May 27, 2015
Posted by dadad
भगवान् गौतमबुद्धको मावलीस्थल पङ्डितपुरमा चौथोचरणको उत्खनन जारी
परासी, १३ जेठ । भगवान् गौतमबुद्धको मावलीस्थल नवलपरासीको बन्जरियास्थित पङ्डितपुरमा पुरातत्व विभागले अहिले चौथो चरणको उत्खनन कार्य जारी राखेको छ ।
ऐतिहासिक कोलिय राज्यको राजधानी प्रमाणीकरणका लागि पुरातत्व विभागले अहिले चौथो चरणको उत्खनन कार्य जारी राखेको हो ।
नवलपरासीको बन्जरिया–९ स्थित पङ्डितपुर नै कोलिय राज्यको राजधानी देवदह रहेको पछिल्ला उत्खननबाट प्राप्त प्रमाणले देखाइ सकेको छ ।
उत्खननबाट अहिलेसम्म विभिन्न कालखण्डका विभिन्न प्रकारका प्रमाण पाइएका भएपनि विभागले विभिन्न समयका उत्खननबाट ऐतिहासिक अभिलेखको खोजी गरिरहेको उत्खनन कार्यक्रमका सल्लाहकार एवम् वरिष्ठ पुरातत्वविद् तारानन्द मिश्राले बताउनुभयो ।
गत वैशाख २४ गतेदेखि पुरातत्वविद् मिश्राको नेतृत्वमा पुरातत्व विभागका पाँच जनाको टोलीले नवलपरासीको पङ्डितपुरका विभिन्न पाँचस्थानमा उत्खनन एवम् अध्ययन गरिरहेको छ ।
यसपटक पनि उत्खननबाट विभिन्न कालखण्डमा बनेका विभिन्न प्रकारका प्रमाण फेला परिरहेका पुरातत्व विभागका पुरातत्व अधिकृत भास्कर ज्ञवालीले सञ्चारकर्मीलाई बताउनुभयो ।
विसं २०५९ मा स्थानीयवासी नारदप्रसाद यादवले पङ्डितपुरमा खेतमा काम गर्ने क्रममा केही प्राचीनकालका वस्तु प्राप्त गरेपछि यो स्थान कुनै महत्वपूर्ण ऐतिहासिक स्थान हुनसक्ने अनुमान गरिएको छ ।
जिल्ला विकास समितिले प्रारम्भिक अध्ययनका लागि अनुरोध गरेपछि यो स्थान प्रागैतिहासिक महत्वको स्थान भएको थाहा लागेपछि यसका बारेमा विभिन्न प्रकारका उत्खनन एवम् अध्ययन सुरु गरिएको हो । रासस