Published On:Thursday, May 28, 2015
Posted by dadad

टेक्सासमा बस्ने नेपालीहरुको भूकम्प पीडितहरुका लागि ४ करोड रुपैयाँ सहयोग



१४ जेष्ठ, काठमाडौं । १२ वैशाखको विनाशकारी भूकम्प र त्यसपछिका साना ठूला पराकम्पनहरुले ठूलो जनधनको क्षति पुर्यायो । विनाशकारी भूकम्पले अति प्रभावित जिल्लाका पीडितहरुका लागि सहयोगी र मनकारी हातहरु अघि सरिरहेको छ ।

अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने नेपालीहरुले नेपालका भूकम्प पीडिहरुका लागि करिब ४ करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका छन् । टेक्सासको डलास सहरमा रहेका नेपालीहरुको संगठन नेपाली समाज मार्फत सो रकम बराबरको राहत वितरण गरिएको हो ।

संकटग्रस्त सबैजसो जिल्लामा पुगेर नेपाली समाजका प्रतिनिधिहरुले पीडितहरुलाई खाद्यन्न, त्रिपाल, स्लिपिङ ब्याग, औषधि, म्याट्रेस आदि वितरण गरेका छन् । नेपालमा भूकम्प जाँदा अमेरिकामा रात थियो । भोलिपल्ट बिहानदेखि नेपालीहरुले नै बनाएको मन्दिरमा स्वतस्फूर्तरुपमा नेपालीहरु जम्मा भए ।


नेपालीबाहेक अन्य समुदायका मानिसहरुले पनि सहयोग गरेको समाजका सदस्य कृष्ण लामिछानेले बताए ।
भूकम्प गएल गत्तै सक्रिय भएका टेक्सासबासी नेपालीहरुले समाजको आह्वानमा नगद अनुदान, औषधी तथा अन्य राहत सामाग्री सहयोग गरे ।

राजधानी काठमाडौ सहित अन्य जिल्लाहरु भूकम्पका कारण क्षत–विक्षत हँुदै गर्दा काठमाडौबाट ठूलो संख्यामा मानिसहरु सुरक्षित बसोबासको खोजीमा काठमाडौ बाहिरिंदै गर्दा अमेरिकालाई आफ्नो कर्मभूमि बनाएका नेपालीहरुको एउटा समूह भने आफ्नो सुरक्षाको प्रवाह नगरी नेपाल आएको समाजका उपसभापति बाल जोशीले बताए ।

पहिलो समुहमा १७ जना र दोस्रो समुहमा ५ जना रहेको उक्त समूहमा चिकित्सक, नर्स, इन्जिनियर, नेपाली मुलका अमेरिकी सेना तथा अन्य स्वयंसेवकहरु छन् ।

नेपाल आउनका लागि लाग्ने हवाई खर्च देखि अन्य सम्पूर्ण खर्च सबै स्वयंसेवकहरुले आफैं व्यहोरेका छन् । राहतका लागि उठाइएको कुनैपनि रकम स्वयंसेवकको लागि खर्च नगरिएको उपसभपति जोशीले जानकारी दिए ।

राहतको कार्यक्रम पछि पुननिर्माणमा पनि नेपाली समाजले सहयोग गर्ने योजना बनाएको छ । यसका लागि अमेरिका फर्केपछि छलफल हुने बताईएको छ ।

डलास सहरमा करिब ३० हजार नेपालीहरु बसोबास गर्छन् । उनीहरुले आफ्नै खर्चमा मन्दिर निर्माण गरेका छन् । नेपालीहरुको एकता र विपद्मा सहयोग गर्ने तत्परताका कारण डलासका नेपालीहरुमाथि अन्य समुदायको विश्वास पनि बलियो रहेको नेपाली समाजले जनाएको छ ।

0 comments for "टेक्सासमा बस्ने नेपालीहरुको भूकम्प पीडितहरुका लागि ४ करोड रुपैयाँ सहयोग"

Leave a reply

    Popular Posts

    Blog Archive