Published On:Wednesday, May 27, 2015
Posted by dadad
एउटा सहृदयीले भोटेनाम्लावासीलाई दिएको खुसी
(रमेश लम्साल)
भोटेनाम्लाङ (सिन्धुपाल्चोक), १३ जेठ । भूइँचालोले थातथलो गुम्यो, वर्षभरि खानका लागि जम्मा पारेको खाद्यान्न पनि माटोमा मिल्यो । भएका पशु चौपाया पनि मरे । बस्ने घर छैन, खानलाई अन्न छैन ।
केही सहयोगी मनले दिएको त्रिपालको भरमा अस्थायी टहरा बनाएर बसिरहनुभएकी सिन्धुपाल्चोक भोटेनाम्लाङ–८ जमदारटोलकी हर्ककुमारी गुरुङलाई आजको दिनमा पनि सहयोगी मन भेटिएला भन्ने लागेको थिएन ।
वर्षाभरि पानीमा रुझ्दै दिनहरु काट्नुपर्ला भन्ने चिन्ताले सताएको थियो । तर संसारमा सहयोगी र ठूला हृदय भएका मान्छे पनि रहेछन् भन्ने लाग्यो । एक महिना पहिले गएको ‘गोरखा भूकम्प’ले गुरुङको मात्रै होइन, मुलुकभर नै प्रभाव पा¥यो । नजिकै रहेको बरुवामा त २०० को ज्यान नै लियो । उमेरको उत्तराद्र्धमा प्रकृतिले दिएको विपत्ति अत्याशलाग्दो छ । निक्कै तल बगिरहेको मेलम्ची नदी जस्तै हर्ककुमारीको आँखाबाट निरन्तर आँसु बगिरहेको थियो ।
ललितपुर लेले स्थायी घर भएका भई अस्ट्रियामा बस्दै आउनुभएका औषधि विज्ञानमा विद्यावारिधि गर्नुभएका अमृत पौडेलले उहाँको आँसु पुछ्ने सानो प्रयास गर्नुभयो जस्तापाता वितरण गरेर । वर्षा कसरी काट्ने भन्ने चिन्ताले सताएको बुढ्यौली शरीरलाई ओत लाग्ने जस्तापाता पाए पनि उहाँले भन्नुभयो–“संसारमा भगवान् रहेछन् । मान्छे त देखेको हो आज भगवान् नै देख्न पाइयो ।”
पौडेलको स्वपहलमा अस्ट्रियाका विभिन्न सहरमा सङ्कलन गरिएको रकमबाट सिन्धुपाल्चोक भोटेनाम्लाङ–८ को गुरुङ बस्तीलाई छाना छाउने जस्तापाता वितरण गर्नुभयो । भूइँचालोले खोसेको थातथलो र उजाड जिन्दगीको पयो सिउने मेसोमा भेटिनुभएका रुक्मिणी गुरुङ सहृदयी मान्छेहरुले दिएको राहत सामग्रीबाट सहज जीवनमा फर्कने प्रयास गरिरहनुभएको छ ।
कसरी ओत लाग्ने भन्ने पीडामा रहनुभएकी उहाँलाई पौडेलले प्रदान गर्नुभएको आठ पाता जस्ताले वर्षा धानिएला भन्ने विश्वास पलाएको छ । उहाँ भन्नुहुन्छ–“सरकारले जस्तापाता खरिदका लागि दिने भनेको रकम कहिले आउने हो र कहिले पाइने हो भन्ने ठेगान नभएको बेला व्यक्तिगत रुपमा प्राप्त भएको सहयोगले खुसी दियो ।”
भोटेनाम्लाङमा भूइँचालोले अधिकांश घर भत्काएका छन् । २२ को ज्यानसमेत लियो । सयाँै पशु चौपायाको निधन भयो । भूइँचालोले दिएको पीडाबाट बौरिने प्रयासमा रहेका सो गाविसका अधिकांश जनता भग्नावशेषबाट पुराना सामग्री हटाएर अस्थायी थातथलो बनाउने प्रयासमा रहेका छन् ।
सरकारी राहतको प्रतीक्षामा रहेका उनीहरु खाद्यान्नको अभाव र मरेका पशु चौपायाको उचित सतर्कता नहुँदा थप समस्यामा परेका छन् । व्यक्तिगत रुपमा राहत आयो, त्रिपाल, खाद्यान्न पनि आयो, केही त्रिपाल पनि आयो तर पछिल्ला दिनमा लगातार आएको हुरी बताससहितको पानीले त्रिपाल उडाएपछि रात कसरी कटाउने भन्ने चिन्तामा रहेका छन् । जस्तापाताको विकल्पमा कुनै पनि त्रिपाल नहुँदोरहेछ उनीहरु यस्तै गुनासो गरिरहेका छन् ।
मनसुन त सुरु भई नै हाल्यो, जस्ता कहाँबाट ल्याउने होला भन्ने चिन्ताले सताएको बेला पौडेलले प्रदान गर्नुभएको जस्तापाताले जिन्दगीको छुटेको पयो मिलाउने तयारीमा रहेका छन् । स्थानीय जमदार टोलकी ईश्वरी गुरुङ भन्नुहुन्छ–“एउटा नेपालीलाई परेको दुःखमा साथ र सहयोग गर्ने अर्को नेपाली पनि पाइँदोरहेछ । वर्षाकालभरि राम्रो छानो छाएर बस्छु ।”
विष्णुमाया गुरुङ भूइँचालो गएको दिन बारीमा मकै गोड्न व्यस्त हुनुहुन्थ्यो । हेर्दाहेर्दै लामो समयदेखि बस्दै आएको घर भत्कियो, दुईवटा बाख्रा र खसी मरे । भएका सबै सकिए पनि जिन्दगीमा निरासाको बादल मडारिन नदिएको उहाँ बताउनुहुन्छ । “धैर्य राख्नुपर्छ धेरै सहयोगी मन र हात छन् । जस्तापाता पाइयो, किला काँटी पनि पाइयो, भत्केको घरबाट बाँकी रहेकाजस्ता निकालेर वर्षाकालभरिका लागि अस्थायी आवास स्थल बनाउँछु”–गुरुङ भन्नुहुन्छ ।
चन्द्रमाया गुरुङलाई श्रीमान् प्रताप गुरुङले कान्छी श्रीमती ल्याएर घर छाडेको पीडाभन्दा भूकम्पले दिएको पीडा ठूलो र बढी लागिरहेको छ । “म बारीमा मकै गोड्न व्यस्त थिएँ, घरमा छोराछोरी मात्र थिए । केही समय पहिले किनेर ल्याएको भँैसी पनि थियो । नुन तेल खानका लागि सानो पसल पनि चलाएको थिएँ । भैँसी दाम्लो चँुडालेर भागेछ, छोराछोरी पनि कालको मुखबाट फर्किए । घर भत्केर के भो, दुःखमा साथ दिने सहृदयी पाइयो”–चन्द्रमाया भन्नुहुन्छ ।
अस्ट्रियामा बस्दै आउनुभएका पौडेलले भोटेनाम्लाङ–८ का ५३ घरलाई छानो छाउनका लागि जस्तापाता वितरण गर्नुभयो । “एउटा नेपालीलाई परेको पीडामा मल्हम लगाउन मैले सानो प्रयास गरेको हुँ । मसँग धन भएर होइन, मन भएर सहयोग गरेको हुँ । मैले प्रदान गरेको सहयोग सदुपयोग होस् भन्ने चाहन्छु ।”