Published On:Friday, May 1, 2015
Posted by dadad
स्थलगत अनुगमनमा जे देखियो(फोटो फिचर)
पानी पर्न लागिरहेको थियो । झोलामा छाता, ल्यापटप, खानेपानी एक बोत्तल अनि केही ड्राईफुड लिएर म ललितपुरको बुंगमतीतिर लागेँ । काठमाडौं उपत्यकाकै जिल्ला भएर पनि बुंगमतीका स्थानीयले राहत नपाएको दुःखत समाचारपछि मेरो पाईला त्यतातिर अग्रसर भयो । रातो मच्छेन्द्रनाथको चर्चाले पनि बुंगमती प्रख्यात छ । मच्छिेन्द्रनाथको मन्दिर पनि सबै ध्वस्त अवस्थामा रहेछ । त्यहाँको बस्तुस्थिती बुझ्नका लागि हामी त्यहाँ गएका हौँ ।कोही भाँडा माझ्दै थिए, कोही खुल्ला आकाशमुनी बसिरहेका थिए । कत्तै आकाश छेक्ने पाल छैन, भएकाहरुले आफैँ प्रयोग गरेका रहेछन् । निक्कै कठिन अवस्थामा त्यहाँका स्थानीयहरुलाई हामीले देख्यौँ । म नजिकै एकजना हजुरआमा हुनुहुन्थ्यो, उहाँले आक्रोशित हुँदै भन्नुभयो,–‘तपाई पत्रकार हो ? हामी त निक्कै समस्यामा छौँ । सरकारले पनि केही गरेन । बोल्न सक्नेहरुले पाए, हामी त बोल्न पनि सक्दैनौँ पाल पनि पाएनौँ ।’
१० जनालाई १ किलो चामल वितरण ।
नेवारी भाषामा कुरा गर्दै एकजना बुढा हजुरबुबा म भएसँगै उभिनुभयो र भन्नुभयो,–‘हामीलाई सरकारले १ किलो चामल दिएको छ १० जनाका लागि भनेर । यो १ किलो चामल १० जनालाई कसरी पुर्याउने ? के गरेको यो सरकारले ? हामीलाई हेपेको ?’ ध्वस्त भएको मच्छेन्द्रनाथ मन्दिरभन्दा अलिक माथि आईपुग्यौँ, त्यहाँको एकजना साहुले १६ जनाको समूहलाई १ वटा थोत्रो भनेपनि पाल उपलब्ध गराएको रहेछ । त्यहि पालमुनि उनीहरु रात र दिनहरु बिताईरहेका रहेछन् । उनीहरुले पनि १० जनालाई १ किलो चामल बाहेक हरु केही पनि नपाएको भन्दै थिए ।
उद्धार टोली अझै पुगेनन् ।
मच्छेन्द्रनाथ पुग्दा त्यहाँका भत्किएका घरहरु स्थानीय आफैँले तलाईरहेका थिए । मन्दिरमा भने अहिलेसम्म उद्धार हुन सकेको रहेनछ । त्यो भित्र पुरिएर २ विदेशी नागरिक बसेको स्थानीयको आशंका छ । तर ६ दिन वितिसक्दा पनि कोहि आएको छैन उद्धारका लागि । उपत्याकाबासी भएर पनि हामी पछाडी परेको र उद्धारका लागि समेत एक हप्ता वितिसक्दा टोली आउन नसक्नु निक्कै दुःखद् कुरा भएको स्थानीयको गुनासो छ ।
