Published On:Thursday, June 4, 2015
Posted by dadad

काँग्रेस पदाधिकारी बैठकमा छ प्रदेशको खाकामाथि छलफल

२१ जेठ, काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस पदाधिकारीको आजको बैठकमा छ प्रदेशको सङ्घीयताको खाकामाथि छलफल भएको छ । 

बैठकमा संविधानका मुख्य विवादित विषय सङ्घीयताका सम्बन्धमा छ प्रदेश नै उपयुक्त हुने र प्रदेश नामाङ्कनको जिम्मा प्रदेशसभालाई दिनुपर्ने तथा सीमाङ्कनका लागि छुट्टै आयोग बनाइ टुङग््याउनुपर्ने विषयमा छलफल भएको छ । 

संविधानका विवादित विषयमा छिट्टै सहमति गरी संविधान निर्माणलाई प्राथमिकतामा राख्नुपर्नेमा छलफल भएको काँग्रेस प्रवक्ता दीलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । विवादित विषयमा सहमति भएपछिमात्र राष्ट्रिय सहमतिको सरकारमा जानुपर्नेमा छलफल केन्द्रित रहेको उहाँले बताउनुभयो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दलबीच संविधान निर्माण, विपद् व्यवस्थापन र राष्ट्रिय सहमतिको सरकार गठनलगायतका विषयमा भइरहेका वार्ताको समीक्षा गर्दै आगामी कार्यदिशा सम्बन्धमा समेत छलफल भएको थियो । 

बैठकमा निर्वाचन प्रणालीका बारेमा प्रत्यक्षतर्फ ७० प्रतिशत र समानुपातिक तर्फ ३० प्रतिशत हुनुपर्नेमा पनि छलफल भएको बताइएको छ । 

संविधानका विवादित विषयमा विभिन्न विकल्पमाथि छलफल भएको काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । संविधानका विवादित विषयमा विभिन्न विकल्पका बारेमा छलफल केन्द्रित रहेको उहाँले बताउनुभयो । 

पछिल्लो समयमा प्रमुुख दलहरुबीच भूकम्पपछिको विपद् व्यवस्थापनसँगै संविधान जारी गर्नका लागि संविधानका विवादित विषय राज्यको पुनःसंरचना, निर्वाचन प्रणाली तथा न्याय प्रणाली र शासकीय स्वरुपका विभिन्न विकल्पबारेमा दुई पक्षीय तथा बहुुपक्षीय रुपमा छलफल हँुदै आएको छ । रासस 

0 comments for "काँग्रेस पदाधिकारी बैठकमा छ प्रदेशको खाकामाथि छलफल"

Leave a reply

    Popular Posts

    Blog Archive