Published On:Monday, June 1, 2015
Posted by Tekman Shakya
संविधानको कुरा एकातिर, सहमतिको कुरा कत्तातिर ?
टेकमान शाक्य काठमाडौं, जेठ १८ । नेपाल लोकतान्त्रिक गणतन्त्रात्मक देश घोषणा भएको करीब ८ वर्ष भैसक्यो । गणतन्त्र दिवस मनाउन थालिएको ७ वर्ष पुरा भयो । संविधानसभाको जन्म भएको पनि त्यति नै वर्ष भयो । तर, यो अवधिमा संविधानसभाबाट नै संविधान जारी गर्ने जनताको सपना भने पुरा हुन सकेन । राज्यको पुनर्संरचनाको विषयमा कुरा मिल्न नसक्दा पहिलो संविधानसभाले जनतालाई संविधान दिलाउन सकेन । अन्ततः सर्वोच्चको आदेशमा त्यो भंग भयो । दलीय आह्वानमै १ वर्षभित्रै जनतालाई संघियता सहितको संविधान थमाउने प्रतिवद्धता सहित दोस्रो संविधानसभा बिउँझाईयो । तर, एक वर्ष अर्थात माघ ८ गएको ४ महिना बितिसक्दा पनि देशले नयाँ संघिय संविधान पाउन सकिरहेको छैन ।
पहिलो संविधानसभामा पनि राज्यको पुनर्संरचनाकै विषयमा दलीय मतभेद देखियो, त्यसको निरन्तरता दोस्रो संविधानसभाले पनि पाईनैरहेको छ । सहमतिका लागि भन्दै सयौँ चरणमा कोठे छलफलहरु भए, तर उपलब्धी हातमा लाग्यो शून्य । वैशाख १२ गतेको विनाशाकरी भूकम्प भन्दा अघिल्लो दिन ११ गतेसम्म दलहरु झगडाकै दैनिकीमा तल्लिन थिए । कसोकसोरी उनीहरु भूकम्प पछिको समयमा एक ठाउँमा जम्मा भए । अब त्यो एकता धेरै दिन नटिक्ने फेरी निश्चित बन्दै छ । भूकम्पले भौतिक संरचनालाई क्षतविक्षत पार्यो । जनतामा सन्त्रास छायो । हाहाकार मच्चियो । सबैको मानविय परिवर्तन गरायो । तर, यो भूकम्पले दलीय झगडालाई यथावत नै राख्यो । यति ठूलो विनाशकारी भूकम्पले पनि बखेडाको बाटोलाई भत्काउन सकेन ।
अडानको दैनिकी
दलहरु अब मिल्यो भन्दै एकताको यो अवस्थालाई संस्थागत गरेर अघि बढे विनाशकारी भूकम्प अवसरमा परिणत हुने प्रायको विश्वास थियो । देखिएको दलीय एकताकै दाउ छोपेर राष्ट्रिय सरकार गठनको किचलोतिर पनि लागियो । सहमतिय राष्ट्रिय सरकारले मात्रै दिर्घकालिन विपद् व्यवस्थापन र संविधान निर्माण गर्न सकिने सबैको ठम्याई थियो । तर, त्यो विषय बखेडाको अर्को ठूलो बाटो बनेर आईदियो ।
अर्को कुरा, संविधानका विवादित विषयमा सहमति जुटाउने भन्दै प्रमुख ४ राजनीतिक दलहरुले सोमबार पनि छलफललाई निरन्तरता दिएका थिए । कुरा मिल्न नसकेपछि मंगलबार फेरी अर्को बैठक बस्ने भन्दै बैठक स्थगित गरियो । लामो समयदेखि ‘संघीयता’ मा कुरा मिलाउन नसकेपछि दलहरुले आफ्नो गृहकार्यलाई अघि बढाएको हो । दलहरुले अहिले देखाईरहेको मेरो गोरुको बाह्ै टक्काले भने १ महिना भित्रै सजिलै सहमति बन्ला र नयाँ संविधान सँगै दिगो विपद् व्यवस्थापन होला भन्न सक्ने ठाउँमा भने हामी अझै पुग्न सकिरहेका छैनौँ ।
आन्तरिक गृहकार्य कहिलेसम्म ?
सोमबारको बैठक सकारात्मक भएको भन्दै दलहरुले थप आन्तरिक गृहकार्य गरेर मंगलबार बैठक फेरी बस्ने भनेको छ । आन्तरिक छलफल कहिलेसम्म ? ८ वर्षसम्म पनि आन्तरिक कुरा मिलाउन नसक्ने दलहरुले यत्रो देशलाई कसरी मिलाउन सक्ला ? संघीयतामा सहमति जुटाउन आन्तरिक रुपमै गृहकार्य गर्न फेरी छलफल गर्नुपर्ने भएपछि ठोस निष्कर्ष ननिकालिएको दलका शिर्ष नेताहरुको तर्क छ ।
प्रमुख ४ दलका चार शीर्ष नेताले आ–आफ्नो दलमा छलफल गरेपछि मंगलबार पुनः छलफल गर्ने सहमतिका साथ बालुवाटार बैठक टुंगिएको बताइएको छ । अर्को मिति तय गर्ने विषयमा भने सहमति जुटाउने दलहरुले आन्तरिक र दलीय सहमतिको बाटो पहिल्याउन भने अझै सकिरहेको देखिँदैन । यसले उनीहरुको असक्षमता झल्काईरहेको छ । आन्तरिक गृहकार्य गरेर फेरी बैठक बसिएपनि त्यसको सार्थक निष्कर्ष आउने सम्भावना भने अझै देखिँदैन ।
सभामुखको अर्को बटमलाईन
संविधानसभाको बैठक यहि जेठ २१ गते बस्तै छ । जेठ २१ गतेभन्दा अघि नै संविधान लेखनका लागि पूर्ण सहमति जुटाउन संविधानसभा अध्यक्ष सुभासचन्द्र नेम्वाङले दलहरुलाई भनेका छन् । संविधानका अन्तर बस्तुमा देखिएका विवादलाई टुङयाउने काम गरे भूकम्पले आहात भएका जनतालाई केही हदसम्म भएपनि मलमपट्टीको काम गर्ने सभामुखको धारणा छ । संविधानको विषय र प्रक्रियामा सहमति भए असारभित्रै संविधान जारी गर्न सकिने उनले बताएका छन् ।
तर, दलीय व्यवहारले आषढभित्र नै संविधान जारी गराउने लक्षण दलहरुले देखाईरहेका छैनन् । विगतमा पनि धेरै पटक बटमलाईन दिईसकेका सभामुखलाई यो पटक पनि दलहरुले फेरी फकाउने जुक्ति ननिकाल्लान् भन्न सकिन्न । मिति सार्ने विषयमा भने दलहरु अहिलेसम्म एकतावद्ध हुन छाडेका छैनन् ।
संघियतामा सहमति कहिले ?
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख ४ दलको बैठकमा संघियताका विषयमा निक्कै ठूलो बिबाद भयो । बैठकमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको ३० दलीय मोर्चाले १० प्रदेश भन्दै आएको तर, यसमा केही लचिलो हुन सकिने बताए । एमाले काँग्रेसले त्यसलाई अस्वीकार गरे । २ ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले ६ प्रदेश वा सात प्रदेश मात्रै बनाउनुपर्ने अडार राखेको स्रोतले बतायो ।
संघीयताको संख्यामा कुरा नमिलेपछि चार शीर्षनेताले आ–आफ्नो दलमा छलफल गरेपछि मंगलबार पुनः छलफल गर्ने सहमतिका साथ बालुवाटार बैठक टुंगिएको बताइएको छ । मंगलबारको बैठकले दलीय निष्कर्ष के निकाल्ला त्यो त पर्खनु नै पर्छ । तर बास्तविकता यहि दलिय व्यवहारले देशको निकास र बिकासको सम्भावना भने अत्यन्तै न्यून छ ।@KHABARBANI