Published On:Tuesday, June 2, 2015
Posted by dadad

जनताको सेवामा कन्जुस्याईं नगर्नुस्–महासचिव महरा

१९ जेठ, काठमाडौँ । एकीकृत नेकपा(माओवादी)का महासचिव कृष्णबहादुर महराले आज काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा जारी राष्ट्रिय श्रम अभियानको अनुगमन गर्नुभएको छ ।
एमाओवादी निकट अखिल नेपाल टे«ड युनियन महासङ्घका ४०० भन्दा बढी नेता तथा कार्यकर्ता बौद्ध, तीनचुलीलगायत क्षेत्रमा क्रियाशील छन् । महासचिव महराले भूकम्पबाट क्षतिग्रस्त घर तथा संरचना हटाउने कामलाई तीव्रता दिन र जनताको सेवा गर्न आग्रह गर्नुभयो ।
महासचिव महरा नेतृत्वको टोलीले आज काठमाडौँ महानगरपालिका–६ बौद्ध तीनचुलीमा नवराज पुडासैनीको भत्किएको घर तथा संरचना हटाउने काममा सङ्लग्न हुनुभयो । महासचिव महरा एमाओवादीले सञ्चालन गरेको राष्ट्रिय श्रम अभियान २०७२ को काठमाडौँ संयोजकसमेत हुनुहुन्छ ।
एमाओवादीका नेता तथा कार्यकर्ताले सो क्षेत्रमा ३०० भन्दा बढी अस्थायी घर तथा आवासस्थल बनाउने बताएका छन् । सो क्षेत्रमा एमाओवादीका केन्द्रीय सदस्य तथा महासङ्घका अध्यक्ष शालिकराम जमरकट्टेलको नेतृत्वमा टोली परिचालित भएको छ ।
यस्तै महासङ्घको झापा जिल्ला समितिले काठमाडौँ महानगरपालिका–६ मा रहेको जनकल्याण उच्च माविलाई अस्थायी कक्षाकोठा निर्माण गर्न एक हजार थान बाँस उपलब्ध गराएको छ । यस्तै सोही विद्यालयका लागि एमाओवादीले ३० बण्डल जस्तापाता उपलब्ध गराएको छ ।
जस्तापाता र बास उपलब्ध भएकाले तीन दिनभित्र अस्थायी संरचना तयार पारिने महासङ्घका महासचिव गणेश रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार इलाम, पाँचथरबाट उपलब्ध भएको बास पनि आउने क्रममा छ ।
यस्तै एमाओवादी काठमाडौँ जिल्ला समितिले आज नन्दी रात्रि माविको भग्नावशेष हटाउने र अस्थायी संरचना निर्माण गर्ने कामलाई तीव्रता दिएको छ । एमाओवादी काठमाडौँ अध्यक्ष हिमाल शर्माका अनुसार हालसम्म एक हजार अस्थायी आवास निर्माण गरिएको छ ।
यस्तै विश्व निकेतन उच्च मावि त्रिपुरेश्वर, धर्मस्थली उच्च मावि, दरबार हाइस्कुल, मानसिंह धर्म उच्च माविलगायत १० विद्यालयको अस्थायी संरचना तयार पारेको उहाँले जानकारी दिनुभयो । रासस

0 comments for "जनताको सेवामा कन्जुस्याईं नगर्नुस्–महासचिव महरा"

Leave a reply

    Popular Posts

    Blog Archive