Published On:Monday, June 1, 2015
Posted by Tekman Shakya
राँची लानुपर्छ भनिएको मान्छेलाई कसरी प्रधानमन्त्री बनाउने ?
- राष्ट्रिय सरकारको विपक्षमा उभियो ३० दल
१८ जेठ, काठमाडौं । राष्ट्रिय सरकार गठनबारे छलफल गर्न बसेको ३० दलीय मोर्चाको बैठकमा बोल्ने अधिकांश नेताहरुले पहिचानसहितको संविधान बनाएर मात्रै सरकारमा जान सकिने बताएका छन् । सोमबार बसेको मोर्चाको बैठकमा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले एमाओवादी अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै प्रश्न गरे, ‘पहिले हाम्रै मोर्चाले केपी ओलीको दिमाग ठीक छैन, उनलाई राँची लानुपर्छ भनेर निर्णय गर्यो, आज उनैलाई प्रधानमन्त्री के आधारमा बनाउने ?’
प्रचण्डको अध्यक्षतामा बसेको मोर्चाको बैठकमा बोल्ने अधिकांश नेताहरुले पहिचानसहितको संविधानलाई भन्दा सरकारलाई प्राथमिकतामा राख्न नहुने बताए । बैठकमा फोरमका अध्यक्ष उपेन्द्र यादव, सदभावनाका उपाध्यक्ष लक्ष्मणलाल कर्ण र तमलोपाका हृदयेश त्रिपाठीले बोलेका थिए । त्यसैगरी जनजाति नेता पासाङ शेर्पा, खगेन्द्र माखिम, अटलमान राई र पर्शुराम तामाङले पनि बैठकमा धारणा राखेका थिए । साना कम्युनिष्ट घटकका नेताले पनि आफ्नो धारणा राखेका थिए ।
मधेसवादी र जनजाति दुबै खेमाका नेताहरुले संविधान निर्माणलाई कम महत्व दिन नहुने भन्दै मोर्चाले भन्दै आएको पहिचानसहितको संघीयता सुनिश्चित नभएसम्म सरकारमा जान नसकिने बताएका थिए ।
बैठकमा बोल्ने नेताहरुले राष्ट्रिय सरकार, संविधान र पुनर्निर्माणका तीन विषयमा धारणा राखेका थिए । संविधान निर्माण र पुनर्निर्माणलाई सँगै अघि बढाउनुपर्ने मधेसवादी र जनजाति नेताहरुको जोड थियो ।
प्रचण्डको अध्यक्षतामा मोर्चाको बैठक बस्नुपूर्व जनजाति पार्टी सम्मिलत सात दलीय मोर्चाको बेग्लै बैठक बसेको थियो । जनजाति घटकको बैठकले पहिचानसहितको संघीयता सुनिश्चित नहुँदासम्म सरकारमा जान नहुने प्रस्ताव एक मतले पारित गरेको संघीय लिम्बुवान पार्टी नेपालका उपाध्यक्ष खगेन्द्र माखिमले अनलाइनखबरलाई बताए ।
प्रचण्डको स्पष्टीकरण
एमाओवादी अध्यक्ष प्रचण्डले सरकारमा जान हतारो गरेको भन्दै जनजाति र मधेसी नेताहरुले प्रहार केन्दि्रत गरेपछि एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग त्यस्तो कुनै सम्झौता नभएको बैठकमा स्पष्टीकरण दिए । ‘हामीले कुनै पनि सहमति गरिसकेका छैनौं, बैठकमा प्रचण्डले भने, ‘हामीले पनि सरकारभन्दा संविधान नै पहिलो हो भनेका छौं ।’
मोर्चामा आवद्ध दलका नेताहरुले बोल्ने क्रम नसकिएकाले मंगलबार दिउँसो पुनः बैठक बस्ने नेताहरुले जानकारी दिएका छन् । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने बालुवाटारमा अनौपचारिक सहमति गरेर त्यसलाई अनुमोदन गर्न लागेका एमाओवादी नेताहरुलाई मधेसवादी र जनजातिको अडानले सकसमा पारेको छ ।
बालुवाटारमा सोमबार बिहान बसेको चार नेताको बैठकले आ-आफ्नो मोर्चा र पार्टीमा छलफल गरेर राष्ट्रिय सरकारमा सहमति खोज्ने भनेको थियो । तर, प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले पहिचानसहितको संविधान नबसेसम्म राष्ट्रिय सरकारमा सामेल नहुने संकेत सोमबारको बैठकले दिएको छ । @ONLINEKHABAR