Published On:Monday, June 1, 2015
Posted by dadad

एमाले महासचिव दोलखामा, ‘विपत् व्यवस्थापन प्रभावकारी गराउन राष्ट्रिय सहमतिको सरकार’

काठमाडौँ, १८ जेठ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले विपद् व्यवस्थापन प्रभावकारी गराउन र संविधान निर्माणको कार्यभार पूरा गराउन राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिइएको बताउनुभएको छ ।

दोलखा जिल्लाका भूकम्पपीडितलाई दिइएको राहत र पुनःस्थापनाको अवस्था बुझ्न तथा पार्टीले सञ्चालन गरेको राष्ट्रिय स्वयंसेवक अभियानको अनुगमनमा रहनुभएका महासचिव पोखरेलले रासससँग टेलिफोनमा कुरा गर्दै सहमतिको सरकारको नेतृत्व कसैको आत्मकेन्द्रित विषय नभई जसको नेतृत्वमा सहमति हुन्छ, त्यसमै अघि बढिने जनाउनुभयो ।

महासचिव पोखरेलले संविधान निर्माणको नयाँ कार्यतालिका र विपत् व्यवस्थापनको प्रभावकारी कार्ययोजनासहित सहमतिको सरकार गठन हुनुपर्ने बताउनुभयो । उहाँले आजै प्रेस चौतारी नेपाल, दोलखाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा आफूले वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन्छ भन्ने प्रकारको कुनै अभिव्यक्ति नदिएको तर केही सञ्चारमाध्यमले त्यस्तो आशयका समाचार सम्प्रेषण गरेकामा खण्डन गर्नुभयो ।

महासचिव पोखरेलले आज दोलखाका राहत पुनःस्थापनाका सम्बन्धमा भएका कामबारे प्रजिअ प्रेमलाल लामिछाने र सरोकार भएकाहरुसँग छलफल गर्नुभएको थियो । उहाँ आजै पार्टीका स्वयंसेवकले बनाउँदै गरेको लापिलाङ उमाविको भवनको अनुगमन गर्नाका साथै पहिरो प्रभावित सिङ्गटी बजार पुग्नुभएको थियो । उहाँ सोमबार जिरी क्षेत्रमा जाने कार्यक्रम छ ।

पोखरेलका साथ सभासद् पशुपति चौलागाईँ, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङ, केन्द्रीय लेखा आयोग सदस्य शिवप्रसाद भण्डारी तथा पार्टीका जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल, चौतारीका केन्द्रीय सल्लाहकार गणेश बस्नेतलगायत हुनुहुन्छ । रासस

0 comments for "एमाले महासचिव दोलखामा, ‘विपत् व्यवस्थापन प्रभावकारी गराउन राष्ट्रिय सहमतिको सरकार’"

Leave a reply

    Popular Posts

    Blog Archive