भक्तपुर, २ जेठ ।

मुख्य सचिव लीलामणि पौडेलको नेतृत्वमा आज भूकम्पबाट क्षतिग्रस्त यहाँका विभिन्न स्थानको सरसफाइ गरिएको छ । भूकम्पपछि वाग्मती सरसफाइ रोकेर मुख्य सचिव पौडेलको निर्देशनमा भूकम्प प्रभावित क्षेत्रमा भत्किएका संरचना हटाउने र सरसफाइ गर्ने अभियानअन्तर्गत आज दोस्रो हप्ता पनि सरसफाइ गरिएको हो । गत शनिबारभन्दा आजको शनिबार सरसफाइमा सहभागी हुनेहरू कम भएपछि आगामी शनिबार यसलाई व्यापक बनाइने र सरसफाइलाई प्रभावकारी बनाइने उहाँले बताउनुभयो । आज भक्तपुर नगरक्षेत्रका छ नाकाबाटै बिहान ७ देखि १० बजेसम्म एकैसाथ सुरु भएको सरसफाइबाट भक्तपुर नगरक्षेत्रमा भत्किएका सरंचनालाई व्यवस्थित गर्ने तथा भत्किएर थुप्रिएका संरचना हटाउने कार्य भएको छ । सरसफाइ अभियानमा सरकारी निकायका कर्मचारी, सुरक्षाकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसमेतको सहभागिता थियो । वाग्मती सफाइ अभियान १०२ हप्ता पुग्दा आएको विनाशकारी भूकम्पले वाग्मती सफाइ अभियान भत्किएका संरचना हटाउने अभियानमा परिणत भएको छ । “यतिबेला पीडितलाई आडभरोसा चाहिएको छ, त्यसका लागि सबैले स्वयम्सेवी भावनाले सहयोग पु¥याउनु जरुरी छ” मुख्य सचिवले भन्नुभयो ।