(नारायण ढुङ्गाना)
रत्ननगर (चितवन), १३ जेठ ।
त्यतिराम्रो घन्टाघर बन्ने हो कि होइन
त्यति राम्रो धरहरा अब देखिँदैन.......
धरहरा.. तीन टुक्रा भै गयो
राजारानी रुँदैमा दिन गयो ........
नब्बे सालको भूकम्पपछि बनेको सवाई काभ्रेकी ९८ वर्षीया वृद्धा झम्ककुमारी खनाललाई खररै आउँछ । विसं २०७२ वैशाख १२ को भुइँचालोमा पनि उहाँले उक्त सवाई सम्झिनुभयो ।
त्यस बेला तीनटुक्रा भई ढलेको धरहरा बिउँतियो । भत्केको घन्टाघर बज्न थाल्यो । तर ८२ वर्षपछि वैशाख १२ गते फेरि विनाशकारी भूकम्प आयो ।
उठेको धरहरा उस्तै गरी टुक्राटुक्रा भएर भुइँमै बिलायो । मानिसको ज्यानसमेत गयो । झम्ककुमारीका सवाईका सत्य फेरि उस्तै बने । उतिबेला जनताका प्यारा राजारानी रोए । अहिले पूरै देशका जनता रोए । आँखा अझै ओभाएका छैनन् ।
राजधानी काठमाडौँबाट ५० किलोमिटर माथि, काभ्रे सदरमुकामबाट २० किलोमिटर माथि अरनिको राजमार्गको बीचमा पाँचखाल उपत्यका छ । पाँचखालदेखि थोरै उकालो कच्ची सडक हिँडेपछि पुगिन्छ काभ्रेको टाँके गाउँ । त्यही गाउँमा बस्नुहुन्छ झम्ककुमारी । उहाँ फेरि ९० सालको भूकम्पको सवाई सम्झँदै गुनगुनाउँनु हुन्छ .....
घटिए सपना एकदुईले पाए
जल्दा–जल्दी रिसल्ला खबर दिन आए
माघका २ गते सोमबारे औँसीका दिन
आइगयो भुइँचालो सबैको सातो लिन
नब्बे सालको भूकम्पमा कलकलाउँदो युवती २०७२ को भुइँचालोमा आइपुग्दा एउटा आँखाले देख्न सक्दैन, अर्काे आँखा धमिला भइसके । कपाल सेतै फुलेका छन् । कान राम्ररी सुन्नुहुन्छ । लठ्ठी उहाँको सहारा र साथी बनेका छन् । भएको घर भत्किएपछि बुढेसकालमा टिन र पालको छानोको ओत लगाउनुपरेको छ । “मर्ने बेलामा फेरि भूकम्प बल्झिँदा दुईपटककै कालले लगेन,” उहाँले भन्नुभयो, “लेखेको भएको पो मर्नु !”
टाँकेको ठाडो गाउँका ६९ घरमा ६० घर ढलेका छन् । बचेका घर पनि चर्किएका छन् । नब्बे सालको भुइँचालो जाँदा काठमाडौँसहित आसपासका जिल्ला अहिले जसरी नै त्राहि त्राहि थिए । पहाडका धर्ती फाटेकै थियो । ढुङ्गा र माटो पहरा छाडेर धर्ती खोज्दै भौतारिएकै थियो । धर्तीको त्यो कम्पनले कतिको ज्यान अकालमै चुँडेर लग्यो पनि । कतिलाई टुहुरा बनाए । कतिको काख रित्तो बनायो ।
एक महिनाअघि वैशाख १२ गतेको विनाशकारी भूकम्पले पनि न साना बालबालिका भनेर छाड्यो, न त बूढाबूढी नै भनेर छाड्यो । मरेका त मरिगए । बाँचेकामा पनि अब फेरि धर्तीको कम्पन छुट्ने हो कि वा कता के हुने हो भन्ने पिरलो मै छन् ।
नब्बे सालताका पनि यस्तै कोकोहोलोले घरघरलाई पिरोलेको थियो । उतिबेला १६ वर्षकी थिइन् झम्ककुमारी खनाल । कलकलाउँदो उमेर । के खाउँ के लाउँको जवानी । काभ्रेको अनेकोट– ५ नम्बर गाउँको घरमा परिवारसँगै हुनुहुन्थ्यो । गाउँकै तरुनी तन्नेरीसँग कहिले लेक त कहिले बेँसी गर्दै दिन बित्थ्यो उहाँको ।
विसं १९९० माघ २ गते । दिउँसोको २ बजेको समय । खनालका सबै परिवार खाना खाई सुस्ताउँदै थिए । चिसो दिन आँगनको आँपको बोटमुनि झम्ककुमारी घामको न्यानो लिँदै हुनुहुन्थ्यो ।
“गडडड धर्ती काँप्यो, आँखै अगाडि घर झरप्प बन्यो,” उहाँले सम्झनुभयो – “बसेको जमिन चिराचिरा भए । उ बेलाका साना घर । खरको छानो । काठको पालि । राता माटाका भित्ता । धर्तीको माटोमै मिल्यो ।” केही सेकेन्डले आफू बाँचेको सम्झना छ उहाँलाई ।
“खानेकुरा कसैले ल्याइदिएनन् गाउँलेलाई । धान जम्मै माटामा पुरिए, गहुँ उस्तै गरी माटामै मिले,” खनालले भूकम्पपछिको भोकमरीको स्मरण गर्नुभयो – “धान खोस्रेर रातभरि निफनियो । बिहानभरि ढिकीमा कुट्यो र खायो ।”
कैयौँ दिन अनेक गरेर गाउँलेले छाक टारे । भत्केका घर पनि आफँै उचाले । दुःखको आँसु पनि आफैँ पुछे । घाइते भएकाले पनि मलमपट्टि आफैँ गरे ।
अहिले झम्ककुमारी ९८ वर्षको हुनुभएको छ । बेँसी झरेर काभ्रे पाँचखाल– १४ को टाँके गाउँमा बस्दै हुनुहुन्छ । उतिबेला जस्तो जीउमा तागत छैन । ठूलै आकांक्षा पनि केही छैन । “कान राम्रो सुन्दिन, आँखा देख्दिन,” उहाँले ठट्यौलीमै भन्नुभयो – “आफू बुढो भइयो तर यो भुइँचालो अझै जवान नै रैछ ।”
“आफ्नो जीवन यही छोराछोरी र परिवारलाई सुम्पिएँ,” उहाँ लर्बराउँदै बुढ्यौली भाकामा बोल्नुहुन्छ, “अब यिनको राम्रो देख्न पाए पुग्यो ।”
उतिबेला जवानीमा आएको भुइँचालो फेरि बुढ्यौलीमा फर्कदा उहाँ वैशाख १२ गते चोटामै सुतिरहनुभएको थियो । ‘उ बेलामा पनि मरियो भनेको बाँचिएछ, अहिले पनि चोटामा सुतेको मेरो वरिपरिका भित्ताहरु सबै लडेछ । वैशाख १२ को विनाशकारी भूकम्प स्मरण गर्दै उहाँले भन्नुभयो – “दिउँसो सुतेको चोटो मात्रै बाँकी थियो, । भगवान्ले बचाए झैँ लाग्छ ।” नब्बे साल र अहिलेको भुइँचालोको झट्का उहाँलार्ई उस्तै उस्तै लाग्छ । दुईपटक मरेर पनि बाँच्न पाएकामा आफू भाग्यमानी रहेछु भन्ने उहाँलाई लाग्छ । उहाँले भन्नुभयो, “उतिबेला भाग्न सक्ने थिएँ यो बेला सक्दिनँ ।” अहिलेको भूकम्प लामो भएको उहाँको अनुभव छ ।
त्यो बेलाका घर साना थिए, तर अहिले ठूलाठूला घर भएको उहाँको भनाइ छ । अहिले घरहरु गाउँमै पनि पहिलाभन्दा ठूला भएकाले पनि धेरै भत्केको दाबी उहाँको छ । तल्लो तलाका परिवारका सदस्य निस्केर भागे तर आमा चोटामा हुनुहुन्थ्यो । “घर चोइटा चोइटा भए पनि हजुरआमा त जीउँदै भेटिनुभयो,” नाति प्रमोद खनालले खुसी थप्नुभयो ।
माया मारेको छोरा गोविन्दले ‘लौ आमा त ज्यूदै रहिछन्,’ भनेको सुनेको झम्ककुमारीले बताउनुभयो । उहाँ भन्नु हुन्छ – “सम्पत्ति त जीउ रहे कमाउला नि ! ज्यान नजोगाए त कसरी कमाउनु ?” अहिले उनको परिवार तरकारीखेतीका लागि बनाएको टनेल र सहयोगीले दिएको त्रिपालमा बस्छन् । सहयोगीले दिएकै अन्न बाँडीचुडी खान्छन् । तर गाउँ छिमेकीका घरमा शोक परेको देख्दा मन भने कुँडिएकै छ उहाँहरुको ।
उही गाउँमै नब्बे सालको भुइँचालो जाँदा सात वर्षकी रहेकी छलीकुमारी रम्तेल अहिले ८९ वर्षकी हुनुभयो । उत्तिखेर बालकै हुनुहुन्थ्यो । बाबुले आफूलाई पिठ्यूँमा हालेर भागेको याद छ उहाँलाई ।
“बहिनी सान्नानी खेलाउँदै थिएँ, भुइँचालो आयो भनेर आमा बुबाले बोक्न थाले, हामीलाई उठाएको केही सिकेन (सेकेन्ड) मा घर ढल्लो र बाँचेँ,” छलीले भन्नुभयो – “अहिले चाहिँ आफैँ भाग्दाभाग्दै पनि भेटिहाल्यो, तै पनि मर्न भने लेखेको रैनछ ।”
त्यतिखेर केही नभए पनि यसपालाको भुइँचालोले उहाँको हात ठनक्कै भाँचिदियो । टाउकोमा चोट छ । “घरमा लसुन केलाउँदै थिएँ, गड्गड गर्दै भुइँ हल्लियो, भाग्न खोज्दाखोज्दै घर लडेर लाग्यो र भाँचियो,” हातमा बाँधेको घरेलु जडीबुटीको काम्रो देखाउँदै छलीले भन्नुुभयो ।
“यस्तो विपत्तिमा कहाँ डाक्टर कहाँ अस्पताल !,” उहाँ विरक्तिदै भन्नुहुन्छ – “हात नजोडिएर के भो र ! अब मर्ने बेला पनि भइहाल्यो ।” उतिबेलाको भुइँचालोले पनि उहाँको घर भत्काएको थियो । यसपटक पापी भुइँचालोले हात पनि भाँचिदियो । “यो पालिको त अजम्मरी भुइँचालो रहेछ, आजसम्म पनि आएकै छ,” आश्चर्य प्रकट गर्दै भन्नुहुन्छ उहाँ । रासस