Published On:Wednesday, December 31, 2014
Posted by Unknown

सीडीयो कार्यालयमै पीडितले भने-नागरिकता लिन पनि घुस दिनुपर्‍यो हजुर


nagarikta
१७ पुस, सिन्धुपाल्चोक - दुई दिन सदरमुकाम बसेपछि सिन्धुकोटका सन्तबहादुर र सुनिता मिजारको हातमा नेपाली नागरिकताको प्रमाणपत्र हात पर्‍यो । दुई दिन चौतारा बसेर छोरा बुहारीलाई नागरिकता दिलाउँदा सिन्धुकोट-४ का ७३ वर्षका सेते मिजारले ठूलै काम फत्ते गरेको महसुस गरे । मानौं उनीले ठूलै युद्व जितेका छन् । चाउरी परेको उनको मुहारमा यही भाव झल्किन्थ्यो ।
नयाँ नागरिकता बनाउन र प्रतिलिपि लिनका लागि सेते मिजारसहित सिन्धुकोटबाट एउटा टोली नै आइतबार चौतारा आए । आइतबार दिनभर उनीहरु लाइनमा बसे तर नागरिकता लिन सकेनन् । दिनभर लाइनमा बसेका उनीहरु प्रशासनका कर्मचारीले समय सकियो भनेर उर्दी गरेपछि रित्तो हात फर्किए अनि बेलुका होटलमै बसे उनीहरु । सोमबार दसै बजे जिल्ला प्रशासन कार्यालयमा पुगेका उनीहरुले दिउँसो तीन बजेसम्म नागरिकता पाएनन् । ‘चार बजेपछि बल्लबल्ल नागरिकता पाइयो’, थकित मुद्रामा भेटिएका सेते भन्दैथिए, ‘व्यवस्था त पहिलेकै राम्रो थियो हजुर ।’
उनले चौतारा टेकेको यो पाँचौ पटक हो । लोकतन्त्र आएपछि भने पहिलो पटक सदरमुकाम आएका हुन् उनी । यसअघि जग्गा पास गर्न चौतारा आएको उनले सुनाए । ‘जग्गा पास गर्न आउँदा एकैदिनमा काम सकिएको थियो’, मिजारले भने, ‘अहिले त एउटा नागरिकता लिन दुई दिन लाग्यो, त्यो पनि बल्लबल्ल पाइयो ।’ छोरा सन्तबहादुर मिजार र बुहारी सुनिता मिजारको नागरिकता बनाउन सेते सदरमुकाम आएका थिए ।
दुइ दिन बसेर पनि सिन्धुकोटका मिजार टोलीले सहजै नागरिकता पाउन नसकेको गुनासो गरे । नागरिकता लिन दुई दिन चौतारा बस्नु मात्र परेन, उनीहरुले पैसा समेत तिर्नुपर्‍यो जिल्ला प्रशासन कार्यालयमा । नागरिकता बिगि्रएर प्रतिलिपि लिन चौतारा आएकी सिन्धुकोटकी ठुलीकान्छी मिजारले दुई दिनपछि बल्ल नागरिकता पाइन् । उनकै शब्दमा भन्दा नागरिकताको प्रतिलिपि पनि ‘किन्नुपर्‍यो’ उनीलाई । ढड्डामा नाम खोज्न भनेर प्रशासन कार्यालयका कर्मचारीले उनीसँग तीन सय रुपैयाँ मागे । पछि नागरिकता लिन पाँच सय रुपैयाँ लाग्छ भन्दै मागे । ‘नागरिकता किन्नु पर्ने रहेछ भन्ने लाग्यो’, ठुलीकान्छीले सिन्धुप्रवाहसँग भनिन्, ‘पैसा नदिए नागरिकता बन्दैन जस्तो लाग्यो ।’ उनका श्रीमान् डल्ले मिजारले नागरिकता लिने बेलामा आठ सय रुपैयाँ तिरेको उनले सुनाइन् । सोमबार अबेर काम सकिएपछि उनीहरुको ६ जनाको टोली हिँडेरै फर्किएको राजधानीमा खबर छ । अनलाइन खबरबाट

0 comments for "सीडीयो कार्यालयमै पीडितले भने-नागरिकता लिन पनि घुस दिनुपर्‍यो हजुर"

Leave a reply

    Popular Posts

    Blog Archive