Published On:Wednesday, December 24, 2014
Posted by Unknown

दाइजो माग्नु त यस्तो पो, बेहुलाका बारीमा अढाइ सय रुख

बिहेमा थुप्रै दाइजो नल्याएको निहुँमा महिलाहरुलाई आफ्नो लोग्नेको घरमा लोग्ने र परिवारका अन्य सदस्यले विभिन्न खाले हिंसा गर्ने गरेका तथा कहिलेकाहीँ जिउँदै समेत जलाएका समाचार आउने गर्छन् । दाइजो प्रथा विरोधी कानून बनेपनि दाइजो माग्ने-दिने परम्पराले निकै गहिरो गरि जरा गाडेको छ । हाम्रो देशमा मात्र होइन भारतमा दाइजो प्रथाको विकृति झनै गाँजिएको पाइन्छ । दाइजोमा केटा पक्षले केटी पक्षसँग रुपैयाँ पैसा तथा महंगा सरसामान माग्ने प्रचलन छ । तर एकजना भारतीय युवाले अनौठो दाइजो मागेर सबैलाई अचम्ममा पारिदिएका छन् । भारतको विहारस्थित शेखपुरा जिल्लाको एक गाउँका युवाले बिहेमा केटीपक्षसँग २ सय ५० वटा रुख दाइजो मागेका छन् । कतै रुख दाइजो माग्नुको कारण काठ बेचेर पैसा कमाउन त होइन ? भन्ने शंका लाग्ला । तर होइन । ती युवकले रुखको काठ होइन की २ सय ५० वटा विरुवा रोप्ने शर्तलाई दाइजोको रुपमा मागेका हुन् । अर्थात् केटीपक्षले बिहेको बेला २ सय ५० वटा वृक्षरोपण गर्नुपर्नेछ । शेखरापूरा जिल्लाको सदर प्रखण्डस्थित बादशाहपुर गाउँका बासिन्दा डाक्टर निशिथ कुमारले विवाहमा दाइजोको रुपमा वृक्षारोपण गर्ने शर्त तेर्साएर नौलो काम मात्र गरेका छैनन् वातावरण सुरक्षाका लागि गर्विलो सन्देश दिने काम पनि गरेका छन् । विवाहको लागि केटीपक्षसँग कुरा छिन्ने बेलामा २ सय ५० वटा रुखको शर्त अघि सार्दा सुरुमा त केटीपक्ष अचम्ममा परे । कतै केटो खुस्किएको पो रहेछ की भन्ने शंका गरे । तर वातावरण सुरक्षाका विषयमा निशिथ जागरुक रहेको भन्ने कुरा थाहा पाएपछि भने आफ्नो हुनेवाला ज्वाइँको मागले उनीहरुलाई गौरवान्वित बनायो । तत्कालै केटीपक्षले रुख रोप्ने शर्त स्विकार गर्यो । निशिथले बिहे गर्ने भनेकी केटी ज्याकलिन पनि डाक्टर नै हुन् । दुबैको मन मिल्यो र १५ डिसेम्बरमा बिहे भयो । शर्त मुताविक केटी पक्षले गएको शुक्रबार बादशाहपूर गाउँ गएर गाउँलेको सहयोगमा बेहुला निशिथको जमिनमा आँप, कागती लगायतका जातका अढाइ सय विरुवा रोपेका छन् । दाइजोको रुपमा वृक्षारोपण गर्ने यो नयाँ संस्कारको सुरुवात भएकोमा गाउँलेहरु सबै मख्ख छन् । भविष्यमा यसले दाइजोको विकृति कम गर्न र महिलामाथि हुने हिंसा रोक्न सहयोग पुग्ने विश्वास उनीहरुको छ । स्मरण रहोस्, विहारको भागलपुल जिल्लास्थि धरहरा गाउँमा छोरी जन्मिएपछि १० वटा विरुवा रोप्ने चलन नै छ । बिहारका पूर्व मुख्यमन्त्री नितिश कुमार समेत आफ्नो कार्यकालमा उक्त गाउँ पुगेर गाउँलेहरुको प्रसंसा गरेका थिए । 

0 comments for "दाइजो माग्नु त यस्तो पो, बेहुलाका बारीमा अढाइ सय रुख "

Leave a reply

    Popular Posts

    Blog Archive