Published On:Tuesday, December 30, 2014
Posted by Unknown

मैले भेटेका यौनकर्मी

मेनुका थापा

यौनकर्मलाई नेपाली कानुनले निषेध गरेको छ । त्यसैले यौनकर्मीको सजिलै पहिचान हुन गाह्रो छ, यहाँ । मैले बाध्यतावश यौनकर्म र यौनजन्य गतिविधिमा लागेका महिलासँग काम गर्ने निधो गरेँ । सकेसम्म उनीहरुलाई यौनजन्य जोखिमबाट मुक्त गरेर वैकल्पिक पेसामा उभ्याउने उद्देश्यका साथ मैले यस्तो निधो गरेकी हुँ । त्यसैले यौनकर्मी महिलासँग भेटघाट गर्नु, उनीहरुको कुरा सुन्नु र आवश्यक सरसल्लाह दिनु मेरो कर्तव्यभित्र पर्छ । यसैक्रममा र्मैले प्रशस्तै यौनकर्मीसँग भेटेको छु । उनीहरुको अनुभव सुन्ने र बुझ्ने अवसर पाएको छु । तीमध्य यस्ता छन् मैले फेला पारेको अनौठा यौनकर्मी :

पहिलोपटक भेटेको यौनकर्मी
मैले पहिलोपटक भेटेको यौनकर्मी महिला १८ वर्षकी थिइन् । उनी द्वन्द्वमा आफ्ना आमाबाबु गुमाएपछि आफ्नो गाउँ (सिन्धुपाल्चोक) मा बस्न नसकी काठमाडौं आएकी रहिछन् ।सहरी परिवेशसँग बिल्कुलै अनभिज्ञ थिइन् उनी । उनलाई एकजना ट्याक्सी ड्राइभरले सहरको कुनै एउटा गेष्ट हाउसमा भाँडा माझ्ने काममा लगाइदिएछन् । दुईचार दिन गेष्टहाउसको भाँडा माझेरै वित्यो । एक रात विदेशबाट आएको एकजना व्यक्ति त्यो गेष्ट हाउसमा पुगेछन्, बास बस्न । अन्दाजी ४० वर्षका ती ग्राहकले उनीसित यौनसम्पर्क गर्ने इच्छा पोखे गेष्टहाउसका मालिकसँग । मोटो रकम पाएपछि मालिकलाई पुगिहाल्यो । त्यस रातपछि बाध्यताले ती महिलाको जीवन जिउने बाटो बनेको रहेछ यौनकर्म ।

पहिलोपटक भेटेको पुरुष यौनकर्मी

ती पुरुष यौनकर्मी २८ वर्ष जतिका थिए । यौनकर्मी महिला साथीहरुको सहयोगमा ती पुरुष यौनकर्मीसँग भेटघाट गर्ने अवसर पाएँ । उनी वैदेशिक रोजगारमा गएका रहेछन् । तर, भनेअनुसारका काम र कमाइ नभएपछि तीन महिनामै उनी स्वदेश फर्केका रहेका छन् । स्वदेश फर्के पनि विदेश जाँदा लिएको ऋण तिर्ने अवस्था नभएपछि काठमाडौंमै बस्न बाध्य भएका रहेछन् । काम खोज्दै जाँदा काठमाडौंमै भौतारिरहेका बेला एउटा साथीको सहयोगमा पैसा तिरेर यौनप्यास मेट्ने महिलाहरुको सम्पर्कमा पुगेछन्, ती पुरुष । उनको रोजीरोटीको बाटो बनेको छ यौनकर्म ।

एउटी अचम्मकी यौनकर्मी

एउटी अचम्मको यौनकर्मी भेटेँ मैले । उनी पैसाकमा लागि होइन, केवल यौनप्यास मेट्न पार्टनर खोज्दी रहिछन् । मैले भेट्दा उनी ३८ वर्षकी जस्ती देखिन्थिइन् । सहरको सम्भ्रान्त परिवारकी सदस्य हुन् उनी । उनले आफू यौनकर्ममा लाग्नुको कारण यसरी बताइन् :
‘जब म मदिरा सेवन गर्छु, त्यसपछि सेक्स नगरी सुत्नै सक्दिनँ । मेरो अनौठो बानी के छ भने मलाई पानीमा रुझ्दै भिज्दै पार्टनरसँग सेक्स गर्नुपर्छ । मेरो श्रीमान्लाई भने अचेल सेक्समा पटक्कै रुचि छैन । यो समस्या समाधान गर्न म र मेरो श्रीमान् यौन विशेषज्ञकहाँ परामर्शका लागि पनि गयौँ तर समस्या समाधान हुन सकेन । मदिरा सेवन नगरौं भने पनि अचेल बिहे, व्रतबन्ध, पास्नी, पिकनिक सबैमा हलका ड्रिंक्स चलिहाल्छ । जब म मदिरा सेवन गर्छु, त्यसपछि ममा अत्याधिक यौन उत्तेजना हुन्छ । त्यसैले भिज्दै वा पानीमा डुबुल्की मार्दै मलाई यौन तृष्णा मेट्नुपर्छ । यो मेरो सोख नै भइसकेको छ । मेरो श्रीमान्को सहमतिमा मैले एक जनालाई पार्टनर बनाएको छु । मलाई दुई छाक खान समस्या छैन तर चाहेको बेला यौन तृष्णा कसरी मेट्ने भन्नेचाहिँ चिन्ता लाग्छ ।’
यो सहरमा मैले जीवनमै भुल्न नसक्ने यस्ती यौनकर्मी पनि भेटेँ ।


यौनकर्ममा प्लस टु पुस्ता

मैले हजारौंमा केही प्लस टु पढ्दै गरेका यौनकर्मी पनि भेटेँ । जसोतसो अभिभावकले एसएलसीसम्म सहयोग गरेकाले पढेका र त्यसपछि पढाई पूरा गर्न यौनकर्ममा लागेको भेटिए उनीहरु । कतिपय स्कुटर नभएको भनी हेप्ने साथीहरुलाई स्कुटर चढेर देखाउने इच्छा अभिभावकले पूरा नगरिदिएपछि त्यसलाई पूरा गर्न आफू यौनकर्ममा लागेका उनीहरुले बताए मलाई । यस्तो सुन्दा लाग्यो, कक्ष ११ मा पढ्ने छोरीको केही कमाई छैन तर उसले कहाँबाट र कसरी स्कुटर किनी भनेर उनीहरुको आमाबाबुले खुल्दुली आउँछ होला ।

यौनकर्ममा करोडपतिकी पत्नी

२०६७ सालको साउन २५ गते महानगरीय प्रहरीले काठमाडौंमा अव्यवस्थित रुपमा खोलिएका केही क्याबिन रेस्टुराँ, मसाज र डान्सबारबाट यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा ४० जना महिलालाई पक्राउ गरेको रहेछ । तीमध्य ३५ जना विभिन्न उमेरसमूहका महिलालाई हनुमानढोका प्रहरीले पुनस्र्थापनाका लागि रक्षा नेपालमा पठाएको थियो । उनीहरुलाई बुझी संस्थाको सेल्टरमा ल्याउन म आफैं गएकी थिएँ । उनीहरुलाई ल्याएपछि एक÷एकजनासँग गोप्य कुराकानी भयो मेरो । तीमध्ये अधिकांसको आआफ्नै दुःख थियो, दर्द थियो । सबै चिन्तित अनुहारमा थिए । उनीहरु भन्दै थिए, ‘वैकल्पिक बाटो भइदिए हामी तुरुन्त यो पेसा परिवर्तन गर्न तयार छौं ।’
तर, एउटी अन्दाजी ४० देखि ४५ वर्षकी लाग्ने महिलाको कुराकानी, उनको हाउभाउ र बोल्ने शैली बेग्लै थियो । कुरा गर्ने पालो आएदेखि नै उनी मुख खुम्च्याउँदै बोल्दै थिइन । उनको भित्री कुरा सुन्दा म पनि छक्क परेँ । उनले मलाई यसो भनिन् ः
‘तपाईं पत्याउनुहोला, म मारवाडी परिवारको सदस्य हुँ । मेरो श्रीमान् कहिले भारत, कहिले चीन र कहिले थाइल्याण्ड पुगिरहन्छन् । उनी प्रायः घरबाहिर भइरहन्छन् । कहिलेकाहीँ घर आए पनि ल्यापटप, कि फोन, कि त मोबाइलमा बिजनेस डिल गर्नमै व्यस्त हुन्छन् । कतिसम्म भने मेरो श्रीमान्लाई आफ्ना छोराछोरी कति कक्षामा पढिरहेका छन्, त्यो पनि थाहा हुँदैन । छोराछोरी र श्रीमतीले जति मागे पनि पैसा दिन्छन् तर त्यो पैसा केमा खर्च भयो, केही मतलब छैन ।
मेरो घरमा नपुग्दो केही छैन । नोकर, चाकर, हीरामोती, सुनचाँदी, गाडी, बैंक ब्यालेन्स सबै छ । तर, ती सबै कुराले मात्रै नहुँदो रहेछ । ती भएर पनि मेरो शरीरिक आवश्यकता पूरा भएन । पैसाका लागि होइन, शारीरिक आवश्यकता पूरा गर्न मजाज पार्लर खोलेकी हुँ मैले । त्यहाँ आउने ग्राहक चित्तबुझ्दो छन् भने म आफैं यौनसम्बन्धका लागि तयार हुन्छु । म यसैमा खुसी छु । म सँग बैकमा प्रशस्तै ब्यालेन्स छ । बरु तपाईंको संस्थालाई कति पैसा डोनेस दिऊँ ? तपाईंलाई म खालि चेक दिन तयार छु तर तपाईंले दिएको सेल्टरमा बस्न सक्दिनँ । मलाई यहाँबाट जान दिनोस् ।  

सत्तरी वर्षीया यौनकर्मी

यौनकर्मी दिदिबहिनीसँग घुलमिल बढ्दा दुई वर्षअघि एउटी महिलासँग भेट भयो । उनको अनुुहार हेर्दा लाग्यो, उनी ७० वर्षकी हुन् । तर उनले आफ्नो उमेर ५८ वर्ष भनिन् । मलाई चाहिँ ढाँटेजस्तो लाग्यो । आफ्नी हजुरआमा उमेरसमूहकी ती महिलालाई दिदी भनी सम्बोधन गर्न अलि अप्ठ्योरो लाग्यो । तर, उनले मलाई पो उल्टै ‘दिदी’ भनेर सम्बोधन गरिन् । उनले मलाई दिदी भन्नुमा दुईवटा कारण छन् जस्तो लाग्यो । तीमध्ये एउटा कारण हुन सक्छ, उनी मलाई सम्मानपूर्वक सम्बोधन गर्न चाहन्छिन् र अर्काे कारण उनी पाको उमेरमा पनि जवानझैं यौनसम्पर्कका लागि सक्षम छिन् ।
ती पाको यौनकर्मी महिलाको कथा दर्दनाक छ । उनलाई सडकमा जन्माउने को हो, उनी कहिलेदेखि सडकमा छिन्, आफू कति वर्षदेखि सडकमा यौनकर्मी भएको हो, त्यो केही थाहा छैन । उनी सडकमै जन्मिन्, सडकमै हुर्किन् । कति वर्षकी हुँदा उनलाई सडकमै को कसले अस्मिता लुट्यो त्यो पन थाहा छैन । उनी कहिले जवानी भइन्, तरुनी भइन् अनुभूति नै गर्न पाइनन् । उनले जाने देखेको काम नै सडकमा भेटेको मान्छेले भनेको ठाउँमा उनीहरुसँग सुत्न जाने हे, जे दिन्छन्, त्यही खाने हो ।

यौनकर्मबाटै सम्भ्रान्त

मैले आजसम्म भेटेकामध्ये सबैभन्दा धनी यौनकर्मी एकजना छिन् । सहरमा उनको एउटा सानदार घर छ । दुईवटा माइक्रोबस भाडामा दिएकी छिन् । गाउँमा पाँच रोपनीजति जग्गा जोडेकी छिन्, भविश्यका लागि । आफ्ना छोराछोरीलाई महँगो स्कूलमा बोर्डस् गरिदिएकी छन् । यी सबै सम्पत्ति उनले यौनकर्मबाटै जोडेकी हुन् ।बच्चा पेटमै हुँदा उनलाई श्रीमान्ले छाडेका रहेछन् । छोराछोरी हुर्काउँदा, पढाउँदा यौनकर्मी बन्नु परेको रहेछ उनले । त्यो समयमा जुन पेसाले आफूलाई जीविका चलाउन सहज बनायो, त्यो पेसा अहिले छाड्ने मनस्थितिमा छैनन् उनी । उनले भनिन्, ‘जुन पेसाबाट धनसम्पत्ति जोडेँ, धनसम्पत्ति जोडेपछि इज्जत पनि कमाएँ, मेरो सान पनि बढेको छ भने त्यो पेसा म किन छाडूँ ?’
– अन्नपूर्ण पोस्ट्को फुर्सदबाट
 

0 comments for "मैले भेटेका यौनकर्मी"

Leave a reply

    Popular Posts

    Blog Archive