Published On:Sunday, December 21, 2014
Posted by Unknown
किर्ते गरी चिलिमेको लाखौं सेयर बिक्री
काठमाडौं,पुस ७ – रसुवाका सोझा सर्वसाधारणको सेयर बिक्री गरी पैसा खाएको आरोपमा ज्योती विकास बैंकका पाँच कर्मचारी पक्राउ परेका छन् । किर्ते कागजपत्रका आधारमा खाता खोलेर लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले शुक्रबार बैंकका पाँच कर्मचारीसहित सात जनालाई पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले किर्ते गरी करिब सात हजार कित्ता सेयर बिक्री गरेको खुलेको छ । रसुवाको चिलिमे हाइड्रोपावरको महँगो सेयर किर्ते गरी बैंकका तत्कालीन कर्मचारी दावा छिरिङ तामाङले बिक्री गरेका हुन् । उनै तामाङले किर्तेका आधारमा बैंकमा खाता खोलेका थिए । त्यसरी खाता खोल्न ज्योती विकास बैंकका कर्मचारीले सहयोग गरेका थिए । बैंकको कमलादी शाखाकी कर्मचारी सुमित्रा लम्साल,अनिता महर्जन,निधि दाहाल,विनिता उप्रेती र बबिता खतिवडाले खाता खोल्ने क्रममा चरम लापरबाही गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । यसैबीच,करिब ५० लाख मूल्यको जग्गाधनीलाई थाहै नदिई बिक्री गरेको आरोपमा मालपोतका दुई कर्मचारी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले नायब सुब्बा भुवन थापा र खरिदार रमेश ज्ञवालीलाई पक्राउ गरेको हो । उनीहरु चाबहिल मालपोत कार्यालयमा रहँदा मानबहादुर थापाको महाँकालस्थित चार आना जग्गा उनलाई थाहै नदिई बिक्री गरेका थिए ।