Published On:Monday, April 6, 2015
Posted by Unknown

६६ वर्षमा कक्षा ८ मा

२४ चैत्र, स्याङ्जा, न त उनीसँग पर्याप्त धन छ, न त पारिवारिक सहयोग नै। तै पनि दिनभरको मेलो साँझ बिहान सकेर पढ्न कस्सिएका छन् फेदीखोलाका ६६ वर्षीय दुर्गे कामी। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ।

ढल्कँदो उमेरसँगै शिक्षा लिने चाहना बोकेका कामी गत वर्ष कालभैरव उच्च माध्यमिक विद्यालयमा ७ कक्षामा भर्ना भएका हुन्। अहिले उनी सोही विद्यालयका कक्षा ८ का नियमित छात्र छन्।

'दृढ इच्छाशक्ति भए कुनै पनि कुरा असम्भव हुँदैन' भन्ने प्रमाणित गरिरहेका छन् कामी। फेदीखोला - ३ देउरालीमा बस्दै आएका उनी नयाँ प्रविधि र शिक्षा लिने उद्देश्यले विद्यालय भर्ना भएको बताउँछन्।

सेताम्मे दाह्रीकपाल। टाई, बेल्ट र विद्यालय पोसाक लगाएर नातिनातिना उमेरका सहकर्मीसँगै बसेर उनी अध्ययन गर्ने गरेको अंग्रेजी विषयका शिक्षक डिल्लीराम कोइराला बताउँछन्। कामीले चैत १४ गतेदेखि सुरु भएको जिल्लास्तरीय परीक्षा सोमबार सकेका छन्। ढुक्क हुँदै उनी भन्छन्,'मेहनत गरेर पढेको छु, अवश्य उत्तीर्ण हुन्छु।'

१० वर्षअघि पत्नी गुमाएपछि एक्लै बस्दै आएका कामीको पेसा ज्यालादारी हो। बिहे गरेका छोरीहरू ज्वाईंको घरमा छन् भने तीन छोरा आआफ्ना व्यवसायका लागि घरबाहिरै बस्छन्।

0 comments for "६६ वर्षमा कक्षा ८ मा"

Leave a reply

    Popular Posts

    Blog Archive