Published On:Monday, April 13, 2015
Posted by Unknown

नयाँ वर्ष मनाइँदै, ७१ भन्दा ७२ साल राम्रो


०१ वैसाख, काठमाण्डौ,  विसं २०७१ लाई बिदाइ गर्दै मङ्लबार देशमा नयाँ वर्ष मनाइँदै छ । विक्रम संवत्लाई आधार मानी प्रत्येक वर्षको वैशाख १ गतेलाई नेपालमा नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो, जुन प्राचीन हिन्दू परम्परा र वैदिक समय अङ्कनमा आधारित छ ।


विसं अङ्ग्रेजी पात्रोभन्दा करिब ५६ वर्ष ८ महिना १५ दिन अगाडि रहेको र यो अङ्गे्जी पात्रोको अप्रिल महिनाको १५ तारिकतिर पर्छ । सूर्यसँग सम्बन्धित भएकाले यसमा ग्रह नक्षत्रका नाम पनि महिनासँग सम्बन्धित छन् ।

पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले विसं शास्त्रसम्मत संवत्सर रहेको जानकारी गराउँदै यसैका आधारमा वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा लिने गरिएको बताए ।   विसंलाई विक्रमादित्य राजाले चलाएको संवत् भन्ने किंवदन्ती छ ।

ज्योतीषीय दृष्टिबाट २०७१ सालभन्दा २०७२ साल देशका लागि राम्रो हुने देखिएको गौतमको भनाइ छ । वर्षको शुभाशुभमा ग्रहको प्रभाव प्रत्यक्ष पर्ने र २०७१ सालमा चन्द्रमा राजा र मन्त्री दुवैको भूमिकामा रहेका कारण देश अस्थिरतामा रुमल्लिएको उनले बताए ।

“ विसं २०७२मा शनि ग्रह राजाको भूमिकामा र मङ्गल ग्रह मन्त्रीको भूमिकामा रहेका कारण अघिल्लो वर्षभन्दा नयाँ वर्ष राम्रो हुने देखिन्छ, अन्य ग्रहको प्रभाव हेर्दा यस वर्ष गत वर्षभन्दा खाद्यान्नको राम्रो उब्जाउ, वर्षात हुने आदिको राम्रो सम्भावना देखिन्छ”– उनले भने ।


नयाँ वर्षमा विभिन्न नयाँ काम सुरु गर्ने, एकापसमा शुभकामना आदान गर्ने, वर्ष शुभ रहोस् भनी विभिन्न शक्तिपीठमा दर्शन गर्न जाने प्रचलन छ । रासस

0 comments for "नयाँ वर्ष मनाइँदै, ७१ भन्दा ७२ साल राम्रो"

Leave a reply

    Popular Posts

    Blog Archive