Published On:Sunday, April 5, 2015
Posted by Tekman Shakya
आर्थिक समृद्धिका लागि मानसिकतामै परिवर्तन आवश्यक - अर्थमन्त्री डा महत
अस्ट्रेलिया । अर्थमन्त्री रामशरण महतले आर्थिक एजेण्डाले प्राथमिकता पाएमा नेपालले चाँडै नै छिमेकी मुलुक भारत र चीनको जस्तो उच्च आर्थिक बृद्धि हासिल गर्ने बिचार व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस जनसम्पर्क समिति अस्ट्रेलियाले गरेको कार्यक्रममा अर्थमन्त्री डा महतले सो बिचार व्यक्त गर्नुभएको हो ।
भारत र चीन मात्र होइन, पूर्वी एसियाली मुलुकहरुको तीब्र आर्थिक बृद्धि हुनुको प्रमुख कारण काम गर्ने संस्कृति, सिर्जनशिलता र मेहनत भएको चर्चा गर्दै उहाँले भन्नुभयो, नेपालमा हरेक क्षेत्रमा राजनीतिकरण हुने गरेको छ ।
अव पहिलो, दोस्रो र तेस्रो तीनवटै प्राथमिकता आर्थिक गतिविधि विस्तार हुनुपर्छ । साधन र स्रोत भएर पनि नेपाल पछि परेको उल्लेख गर्दै उहाँले साधन र स्रोतको सदुपयोगका लागि पनि सिर्जनशिलता र मेहनत आवश्यक भएको बताउनुभयो ।
उहाँको भनाई थियो, इन्टरनेट, गुगल, सूचना प्रविधि तथा सफटवेयरमा आधारित जति पनि ठूला ठूला परिवर्तनहरु भएका छन, सिर्जनशिलता र नयाँ नयाँ खोजी तथा आविस्कारका कारण सम्भव भएको हो ।
भौतिकरुपमा तिनीहरुको आकार ठूलो नभएपनि संसार आज यिनै विकासमा केन्द्रित छ ।
खर्बौं डलरको पुँजी निर्माण यसैबाट भएको छ । नयाँ सरकार आएपछि आर्थिक विकासलाई जोड दिएका कारण अहिले ठूलो मात्रामा लगानी आइरहेको बताउँदै अर्थमन्त्री डा महतले भन्नुभयो, जलविद्युत, एयरलाइन्स, होटेल सिमेन्ट जस्ता क्षेत्रमा ठूलो लगानी आइरहेको छ ।
जलविद्युतमा मात्र करिब १२ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आइसेकेको छ । अव छिटै नेपालले आर्थिक विकासमा ठूलो फड्को मार्नेछ । आर्थिक विकासमा ठूलो प्रगति हासिल गर्न ठूलो मेहनत र कटिवद्धता आवश्यक भएको बताउँदै उहाँले भन्नुभयो, मानसिकतामा पनि ठूलो परिवर्तन ल्याउनु आवश्यक छ ।
हामी नकारात्मक सोचले ग्रसित छौं । यसबाट मुक्त नभएसम्म सम्पन्नता र समृद्धि हासिल हुन सक्दैन । धनी भएर मात्र सम्पन्न हुन सकिदैन, समृद्धि हासिल हुन सक्दैन । यसै सन्दर्भमा उहाँले सिंगापुरमा विगत साढे चार दशकदेखि हडताल नभएको र समृद्धि हासिल भएको उदाहरण दिनुभयो ।
नेपालमा पनि आर्थिक विकासको मजबूत जग बसालिएको छ । अर्थमन्त्री डा महतले भन्नुभयो, विगत १२ बर्षको हिंसात्मक द्वन्द्व र राजनीतिक संक्रमणकालका वावजूद आर्थिक सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको छ ।
खानेपानीमा पहुँच बढेको छ, औषत आयु बढेको छ, प्राय सबै जिल्लामा सडक विस्तार भएको छ, अर्थतन्त्रको आकार विगत दुई अढाई दशकको तुलनामा १६ गुणाभन्दा बढीले बढेको छ । केही नभएको भन्ने होइन । तर यतिमै सन्तुष्ट भएर बस्नु हुँदैन ।
प्रवासमा बसेका नेपालीहरु एक भएर प्रतिष्ठापूर्ण काम गर्नुपर्नेमा जोड दिदै उहाँले भन्नुभयो, तपाईहरु शिक्षित जमात हो । तपाईहरुले नेपालमा लगानी ल्याउन पनि ठूलो मद्दत गर्न सक्नुहुन्छ । अर्थमन्त्री डा महतले प्रवासका नेपालीका समस्या, चिन्ता तथा चासोहरुलाई सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो ।
अस्ट्रेलिया नेपाल बिजनेस काउन्सिल तथा गैर आवासीय नेपाली संघले साझ आयोजना गरेको अर्को एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा महतले प्रवासी नेपालीहरुले आफ्ना धारणाहरुलाई चित्तबुझ्दो ढंगले आधिकारिकरुपमा ल्याएमा सरकारले समाधान गर्ने आश्वासन दिनुभयो ।
अस्ट्रेलियाबाट नेपाल पठाउने आफ्नो आम्दानीलाई औपचारिक च्यानलबाट मात्र पठाउन पनि प्रवासी नेपालीहरुलाई आग्रह गर्नुभयो । सो कार्यक्रममा गैर आवासीय नेपाली संघका प्रवक्ता मन केसी तथा अन्य वक्ताहरुले समेत बोलेका थिए ।


