Published On:Wednesday, April 8, 2015
Posted by dadad

आमहडतालको कार्यक्रम फिर्ता लिनु सहमतिको सङ्केत–दलका नेता

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले पूर्वघोषित नेपाल बन्द लगायत आम हडतालका सम्पूर्ण कार्यक्रम फिर्ता लिनुलाई सहमतिको सङ्केतको रूपमा लिएका छन् । 

रिपोर्टर्स क्लबले राजधानीमा बुधबार गरेको साक्षात्कारका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले तीस दलले आन्दोलनका कार्यक्रम फिर्ता लिनुले सहमतिका लागि बाटो त खुला गरेको छ, तर यही ३० गतेभित्रमा सहमति नभएको खण्डमा संविधानसभा नियमावलीअनुरूप प्रक्रियामा जानुको विकल्प नभएको बताए ।
सहमतिका आधारमा संविधान जारी गर्न दबाब दिने उद्देश्यले मोर्चाले यही चैत २४, २५ र २६ गते नेपाल बन्दलगायत आमहड्तालको कार्यक्रम सार्वजनिक गरेको थियो । 

मङ्लबार बेलुका बसेको मोर्चाको बैठकले सत्तारुढ दलले संविधानसभाको बैठक यही चैत ३० गतेका लागि तय गरेकाले नयाँ राजनीतिक परिस्थिति देखापरेको तथा नागरिक समाज र उद्योगी व्यवसायीका तर्फबाट पनि बन्द फिर्ता लिन आग्रह गरेको भन्दै तत्कालका लागि फिर्ता लिने निणर्य गरेको थियो । 

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राजनीतिक रूपमा कसैले जित्ने र हार्नेभन्दा पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जतिसक्दो चाँडो संविधान जारी गर्न दल र दलका नेताहरू व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर निर्णय गर्नुपर्नेमा जोड दिए ।

एकीकृत नेकपा माओवादीका सचिव टोपबहादुर रायमाझीले सहमतिका लागि अझै पनि समय रहेको हुँदा संविधानसभाको बैठक स्थगित गरेर छलफलमा जुट्न दलका नेतालाई आग्रह गरे ।

नेकपा–माओवादीका सचिव देव गुरुङले वर्तमान संविधानसभाले जनताको संविधान दिन नसक्ने भन्दै त्यसलाई विघटन गरी सर्वपक्षीय राजनीतिक सम्मेलन गुर्नपर्ने माग गरे ।

0 comments for "आमहडतालको कार्यक्रम फिर्ता लिनु सहमतिको सङ्केत–दलका नेता "

Leave a reply

    Popular Posts

    Blog Archive