Published On:Friday, April 10, 2015
Posted by Unknown
सरकार नै मिसाउँछ बागमतीमा ढल
२८ चैत, काठमाडौं । बागमती सफाइ महाअभियानको सय साता पुगेको अवसरमा उपत्यकामा भव्य कार्यक्रम आयोजना भइरहेका बेला ललितपुरको नख्खु खोलामा भने सरकारकै एक जिम्मेवार निकायले सीधै ढल मिसाइरहेको छ। स्थायी सरकारका नेता मुख्य सचिव लीलामणि पौडेलको अगुवाइमा लाखौं सर्वसाधारण बागमती सफाइमा जुटिरहे पनि गृह मन्त्रालयअन्तर्गत कारागार कार्यालय नख्खु ९ललितपुर० ले न खु खोलामा ढल र सेफ्टी ट्यांकको फोहोर मिसाएको छ।
यसले बागमती सफाइ अभियानलाई नै चुनौती दिइरहेको छ। नख्खु खोला सफाइ अभियान पनि शनिबार १२ औं सातामा प्रवेश गर्दैछ। नख्खु खोला चोभारनजिक पुगेर बागमतीमा मिसिने गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।
नख्खु पुलदेखि दक्षिणपट्टि कारागारले झाडीभित्रबाट लुकाएर खोलामा ढल मिसाएको छ। ढलले खोलाको किनारवरपर हिलाम्मे छ। खोलामा कारागारबाट निस्किएको ढल र सेफ्टी ट्यांकीको फोहोर पानीमात्रै छ।
करिब सात वर्षअघिदेखि कारागारले नियमित रूपमा खोलामा ढल मिसाइरहेको छ। कारागार परिसरमा भएका विभिन्न कार्यालयमध्ये सशस्त्र प्रहरीका दुईवटा कार्यालयको ढलसहितको फोहोर सीधै खोलामा मिसाइएको छ। कार्यालयभित्र रहेका अन्य सेफ्टी ट्यांकीहरूसमेत भरिने अवस्थामा पुगेको कारागारका अधिकारीले बताएका छन्।


